रिपोर्टरको सम्झनामा माघ १९ को ‘सत्ता कू’

१९ माघ २०६१ । बिहानी सिफ्टको कक्षा सकिने बेला हुँदैथियो । आरआर कलेजमा एउटा खबर भुसको आगो झैं फैलियो– ‘राजा ज्ञानेन्द्रको विशेष सम्बोधन आउन लाग्यो ।’

अहिले जस्तो सोसल प्लेटफर्म थिएनन् । अनलाइन मिडियाको पहुँच सहज र बाक्लो थिएन । खबर मौखिक रूपमा फैलिंदै कलेजभरि हल्लीखल्ली भयो । हल्लीखल्ली यसरी भइरहेको थियो कि केही डरलाग्दो संकट सन्निकट छ ।

पत्रकारिताको काम र पढाइ सँगसँगै थियो । पत्रकारिता तथा आमसञ्चार विषयमा एमए पहिलो वर्षको विद्यार्थी थिएँ । पढाइ बिहानी सिफ्टमा हुन्थ्यो । कक्षा सकेर डेरा फर्किने बेला भएको थियो । बिहान १० बजे शाही घोषणा नेपाल टेलिभिजनबाट हुने थाहा भयो । रेडियोहरूका लागि ‘कायाकैरन’ लगायत समाचार र कार्यक्रम उत्पादन गर्ने संस्था कम्युनिकेशन कर्नरमा काम गर्थें । मेरो ड्युटी त्यस दिन ‘इभिनिङ सिफ्ट’मा थियो ।

घट्टेकुलोमा डेरामा एन्टेनाबाट चल्ने १४ इन्चको सादा टिभी थियो । आफ्ना दाइसँगै बस्ने सहपाठी अनिलकोमा चाहिं (अनिल थापा, पत्रकार, हाल क्यानडा) अलि ठूलो २१ इन्चको रंगीन टिभी थियो । केवुल लाइन पनि जोडिएको थियो । स्पष्ट हेर्न सहज होला भनेर हामी मैतीदेवी नजिकको उनको कोठातर्फ लाग्यौं । त्यसबेला म, अनिल र घनेन्द्र (घनेन्द्र ओझा, पत्रकार हाल त्रिवि उप–प्राध्यापक) सँगै थियौं । घनेन्द्रको डेरा पनि नजिकै थियो ।

खसीचोक पुग्दा बाटोमा नेपाल आर्मीका जवान देखिए । उनीहरूले रुखो भाषामा हकारे । तीन जना सँगै किन हिंडेको भन्दै एउटाले सोध्यो, ‘कता ? रत्नपार्क हो ? जुलुस गर्न ? खुट्टासुट्टा भाँचिएला’– उसले विनाकारण हकार्‍यो । हामी चुपचाप बाटो लाग्यौं । हालको माइतीघर जस्तै त्यसबेला आन्दोलनको अखडा रत्नपार्क थियो ।

नेपाल टेलिभिजनले रेकर्ड गरेको राजाको सम्बोधन देखाउन शुरु गर्‍यो । रावणका टाउका जस्तो पछाडिको पृष्ठभूमिमा राजा ज्ञानेन्द्र बोलिरहेका थिए । उनले सम्बोधनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार अपदस्त गरे । संकटकाल लागू गरे अनि आफूलाई मन्त्रिपरिषद्को अध्यक्ष घोषित गर्दै शासनसत्ता आफ्नो हातमा लिए । नागरिक अधिकारहरू निलम्बन गरे । संविधानका कतिपय मौलिक हक निलम्बन गरिए ।

राजा ज्ञानेन्द्रले सम्बोधनमा भने– ‘देशमा शान्तिसुरक्षाको पुन:स्थापना तथा प्रजातान्त्रिक व्यवस्थालाई शीघ्र क्रियाशील तुल्याउने जनताको चाहना पूरा गर्न हामीबाट वर्तमान मन्त्रिपरिषद् आजैबाट विघटन गरिबक्सेका छौं । अब गठन हुने मन्त्रिपरिषद् हाम्रै अध्यक्षतामा हुनेछ । आगामी तीन वर्षभित्र देशमा शान्ति–सुव्यवस्था मिलाई प्रभावकारी सुधारहरू गरेर बहुदलीय प्रजातन्त्रलाई पुन: सक्रिय तुल्याउन अब गठित मन्त्रिपरिषद् प्राथमिकताका साथ लाग्नेछ ।’

सत्ता चलाइरहेका दल र जंगलबाट युद्ध चलाइरहेका माओवादीले यति भयानक दरबारको तयारी बारे सुइँको नपाए पनि राजाले ‘कू’ गर्न लागेको छनक केही व्यक्तिहरूले केही साताअघि नै पाएको पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा ‘मेरो नौ दशक: सूर्यबहादुर थापा’मा उल्लेख छ । ‘कू’ गर्नु केही साताअघि नै सुन्दरीजल जेल लगायतका प्रमुखलाई जेलको सरसफाइ गर्न आदेश गएको थियो ।

आफ्ना निकटलाई बोलाएर ज्ञानेन्द्रले सरसल्लाह गरेका थिए । ‘माघ लाग्दा नलाग्दै सेनाले सुन्दरीजल लगायत ठाउँमा जेल सफा गरेको खबर आयो । दोस्रो सातामा पनि त्यस्तै हल्ला चल्न थाल्यो । केही त हुँदैछ भन्ने शंका लाग्यो’– पुस्तकमा भनिएको छ ।

राजाको भाषण सुनेर हतारिंदै कार्यालय पुगें । कुपण्डोलको कानदेउता थानको सामुन्ने थियो कम्युनिकेशन कर्नर । यसले उपत्यकामा नेपाल एफएम समेत देशभरका रेडियोका लागि कायाकैरन र नेपालदर्पण जस्ता चर्चित रेडियो कार्यक्रम उत्पादन गर्थ्यो । त्यसबेला रेडियो सर्वाधिक पहुँच भएको लोकप्रिय माध्यम थियो । शक्तिशाली मिडिया हाउसमध्ये कर्नर पनि थियो ।

म कार्यालय पुग्दा सेनाको टुकडी देखेर झस्किएँ । सबै सहकर्मी पनि आत्तिएका देखें । नियमित काम कसरी गर्ने भनेर सबै जना अत्यास र अलमलमा थिए । एकछिनपछि प्रबन्ध निर्देशक गोपाल गुरागाईं आइपुगे । काममा जाने सुरसार नदेखेपछि उनी कड्किए– ‘तपाईंहरू जाने कि म आफैं जाउँ रिपोर्टिङमा ?’ हाकिम कड्किएपछि बल्ल हामी सबै जना रिपोर्टिङमा निस्कियौं ।

समाचारकक्षमा सेना आएकाले के होला, कसो होला भन्ने डर थियो । यस्तो बेला राजाकै मन्त्रिमण्डलका बारेमा रिपोर्टिङ गर्न सुरक्षित र सहज हुने निष्कर्ष समाचारकक्षले निकाल्यो । मेरो ‘असाइनमेन्ट’ थियो– अहिलेको राष्ट्रपति निवासमा रहेको परराष्ट्र मन्त्रालय ।

राजा ज्ञानेन्द्रका नयाँ परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले पद सम्हालेको रिपोर्टिङ गर्न म निस्किएँ । रिपोर्टिङमा जाँदा माइकको लोगो र कम्युनिकेशन कर्नर लेखेको सानो झोलामा एमडी रेकर्डर बोकेर हिंड्थ्यौं । के हो, कसो हो भन्ने त्रासले बाटोभरि कम्युनिकेशन कर्नरको लोगो नदेखियोस् भनेर ब्याग उल्टो पारेर भिरें ।

टेलिफोन र मोबाइल लाइन काटिएको थियो । अहिले जस्तो इमेल व्यापक भइसकेको थिएन । फोन काटिएपछि कागजपत्र पठाउने फ्याक्स अवरुद्ध भयो । इन्टरनेट बन्द भयो । यति भएपछि आन्तरिक र बाँकी विश्वसँग सञ्चार सम्पर्क विच्छेद भयो । दलका कैयन् नेताहरू पक्राउ परे । विश्लेषकहरूले यसलाई रक्तपातविहीन ‘कू’ को संज्ञा दिए ।

शीतलनिवासमा मन्त्री पाण्डेले पदभार ग्रहण गरेको बाइट लिएर म फर्कंदा सडकमा सेनाको बाक्लो परेड देखेर मान्छे आत्तिएको देखिन्थे । गाडीमा मानिसहरू अब के होला ? राजनीति कता जाला ? राजाको कदम सही हो कि गलत हो ? जस्ता विषयमा विस्तारै कानेखुसी शैलीमा कुरा गरिरहेका थिए ।

माओवादी द्वन्द्वमा पनि रिपोर्टिङका लागि फिल्ड खुबै गइयो । बम र बन्दुकको लडाईं बीच मध्य, पूर्व र पश्चिम नेपाल चहारियो । तर, प्रजातान्त्रिक शासनसत्ता हत्याएका राजा ज्ञानेन्द्रले सत्ता लिएको पहिलो दिन अलि बढी डर र अन्योल महसुस भयो । भविष्य बारे अनिश्चय मडारियो । माओवादी युद्धको डरलाग्दो पृष्ठभूमिमा राजा ज्ञानेन्द्रको ‘कू’ ले देशै त्राहित्राहि भयो ।

राजाको ‘कू’ पछि सबैभन्दा पहिलो तारो मिडिया बन्यो । मौलिक हक सबै निलम्बन गरियो । मुख्य मुख्य मिडिया हाउसमा सेनाको पहरा शुरु भयो । सम्पादकले गर्ने गेटकिपिङ सेनाका अधिकृतले गर्न थाले । सेनाको स्वीकृति विना प्रकाशन वा प्रसारण गर्न निषेध लगाइयो । नेपालको इतिहासमा सेनाले मिडियाको कन्टेन्ट सेन्सर गरेको पहिलो घटना थियो ।

कर्नरमा खटिएको सेनाले भित्र समाचार कक्षमै बसेर पहरा दिन्थ्यो । यसले गर्दा काम गर्न साह्रै असजिलो भइरहेको थियो । तर, पछि अलि सहज भयो । कारण के थियो भने कर्नरको समेत संलग्नतामा खुलेको ‘नेपाल एफएम’ को उद्घाटन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । उनको सुरक्षामा खटिएका सेनाका एक जना अधिकारी संयोगले कर्नरमा खटिएका थिए । उनले चिनेको साइनो सम्झेर ‘ल मलाई अप्ठ्यारो पार्ने केही नगर्नुहोला, आनन्दसँग काम गर्नुस्’ भनेर ढोका बाहिरबाटै पहरा दिने व्यवस्था मिलाइदिए । त्यसपछि अलि सहज भयो ।

अभिव्यक्ति स्वतन्त्रता लगायत नागरिक अधिकारमा बन्देज लागेपछि देशमा ‘मूर्दा शान्ति’ जस्तो भयो । उकुसमुकुस बढ्यो । राजाको कदम विरुद्ध सारा नेपाल एक भए पनि संगठित विरोध कमजोर थियो । मिडिया, अधिकारवादी, राजनीतिक दल सबको बोली बन्द पारिएको थियो । छिटपुट विरोध मात्र भइरहेको थियो । बन्दुक बोकेको माओवादी र त्यसबेलाका ७ पार्टी संवादमा भए पनि जोडदार प्रतिरोध हुन सकेन ।

करिब तीन महिनापछि नेपाल पत्रकार महासंघले राजाको असंवैधानिक कदम र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको धावा विरुद्ध जुलुस प्रदर्शन राख्यो भृकुटीमण्डपमा । अपराह्नको तीन बजेतिर जुलुस शुरु भयो । गेटतर्फ अघि बढ्ने वित्तिकै प्रहरीले हस्तक्षेप गयो । अनि धकेलाधकेल गर्दै भटाभट जुलुसमा सामेल पत्रकारहरूलाई समाउँदै भ्यानमा कोच्न थाल्यो ।

पङ्क्तिकार समेत ५१ जना पत्रकारहरूलाई गाडीमा कोचेर सामुन्नेको महेन्द्र पुलिस क्लब लगेर थुन्यो । भोलिपल्ट बेलुकासम्म भोकभोकै थुनेर कागज गरेर छोडियो ।

राजाको कदमको पहिलो नागरिक विरोध नै यही थियो । पत्रकारहरूलाई रातभरि क्लबको चिसो हलमा राखिएको थियो । चिसो भुईंमा न बस्न सकिने न कतै अडेस लाग्ने ठाउँ थियो । रातभर उभिएरै छर्लङ्ग भएको थियो ।

दुवै छाकको पेट भर्ने जोहो चाहिं उनैले गरिदिएका थिए ।

मेरो जीवनकै पहिलो जेल अनुभव रह्यो त्यो । प्रेस स्वतन्त्रताका लागि यसबीच सडकमा त कैयौंपल्ट गइयो तर, दुई दिन थुनिने गौरवपूर्ण अवसर पनि बन्यो त्यो ।

छुटेपछि मैले एउटा रेडियो रिपोर्ट बनाएँ । समाचार बन्द गरिदिएकाले प्रसारण चाहिं भएन । प्रहरी हिरासतमै पत्रकारहरूले विरोध कार्यक्रम गरेका थिए । प्रहरी दमन विरोधी दोहोरी गीत गाएका थिए । त्यसको ‘इफेक्ट’ सहित मैले करिब ४ मिनेटको रिपोर्ट तयार पारेको थिएँ, जुन अहिले पनि मेरो आर्काइभमा सुरक्षित छ ।

राजाको माघ १९ को शाही घोषणासँगै जारी संकटकालले संविधानको विचार र अभिव्यक्ति स्वतन्त्रता निलम्बन गरियो । एफएम रेडियोको समाचार प्रसारणमा बन्देज लगाइयो । राजदरबारको संवाद सचिवालयले सूचना मार्फत संकटकालमा एफएम रेडियो स्टेशनले विशुद्ध मनोरञ्जनात्मक कार्यक्रम बाहेक कुनै पनि प्रकारको सूचना, समाचार, लेख, विचार, अभिव्यक्ति लगायत कुनै कार्यक्रम प्रसारण नगर्न निर्देशन दिएको थियो ।

राजदरबारको संवाद सचिवालयको सूचनालाई सूचना तथा सञ्चार मन्त्रालयले विज्ञप्ति मार्फत एफएम रेडियोमा समाचार र समाचारमूलक प्रस्तुतिमा बन्देज लगाइएको उर्दी जारी गर्‍यो । एफएम रेडियोहरूलाई विशुद्ध मनोरञ्जनात्मक कार्यक्रम मात्र प्रसारण गर्न आदेश थियो । सेनाले तयार गरेका विद्रोही माओवादी विरुद्धका सामग्री प्रसारण गर्न भन्दै रेडियो स्टेशनलाई बाँडियो ।

माघ १९ सँगै सैनिकको कडा सेन्सरमा परेका अखबार र टेलिभिजनले चाहिं जसोतसो समाचार दिन पाएका थिए । हिमाल खबरपत्रिका लगायत कतिपय म्यागाजिनले सेनाले सेन्सर गरेको अंश जस्ताको तस्तै खाली राखेर छापे । एफएम रेडियोमा पठाइएका आठ–दश जनाको सैनिक डफ्फा केही दिनमा फर्के । तर, समाचार माथिको प्रसारण बन्देज कायमै रह्यो ।

२०४९ सालमा आएको राष्ट्रिय सञ्चार नीतिले नेपालमा निजी क्षेत्रबाट एफएम खोल्ने बाटो खोलिदिएपछि नेपालका स्वतन्त्र रेडियोहरू माथि सरकारको सबैभन्दा ठूलो डण्डा थियो यो । टेलिभिजन माध्यम पनि सम्पादकीय स्वतन्त्रतामा सम्झौता गर्न बाध्य भयो । छापा माध्यम त दशकौंदेखि लड्दैभिड्दै आएको हो ।

त्यसबेला लोकप्रियताको शिखरमा रहेको एफएम रेडियोमा काम गर्ने कैयौंको रोजगारी खोसिएको थियो । कम्युनिकेशन कर्नरमा पनि सिफ्ट एडिटरहरू लगायत न्युजरुमका धेरै साथीको जागिर गयो । अन्योलकै बीच हामीले काम चाहिं गरिरहेका थियौं । राजनीतिक र समसामयिक विषयमा सामग्री बनाउन बन्द थियो । अरू सामाजिक सवालमा रेडियो रिपोर्ट र कार्यक्रम उत्पादन गरिन्थ्यो ।

माघ १९ पछि झण्डै ६ महिना मैले कर्नरमा काम गरें । अनि साउन १ मा काठमाडौं छोडेर म नेपालगञ्ज गएँ; एउटा परियोजनामा कम्युनिकेशन अफिसर भएर । पत्रकारिताको अन्योलले परियोजनाको जागिरे बनायो । माघ १९ पछि पत्रकारिता बाहेक अरू काम पाइन्छ कि भनेर ‘भ्याकेन्सी’हरूमा आँखा डुलाउने काम थपिएको थियो ।

एसएलसीपछि बा-आमाले पढ्न भनेर नेपालगञ्ज पठाएको विषय पूरा नगरेर पत्रकारिता पढ्न र काम गर्न भन्दै म २०५४ सालमा काठमाडौं हानिएको थिएँ । झण्डै ५ वर्षको छापा पत्रकारिताको जग छाडेर रेडियो माध्यम रोजेको थिएँ । पत्रकारिताको पढाइले काठमाडौं तानेको थियो, माघ १९ को राजाको कदमले नेपालगन्जतिरै फर्कायो । पत्रकारिता कामको भविष्य अन्योलमा हुँदा मुखैमा आएको परियोजनाको काम किन छोड्नु भन्ने मनले जित्यो । पछि १३ जेठ, २०६२ मा ‘कम्युनिकेसन कर्नर’लाई बन्द गर्न भन्दै सञ्चार मन्त्रालयले एक निर्देशन पत्र नै पठायो ।

यस्तो अन्योल र अत्यासका बेला एउटा भ्रष्टाचार विरोधी परियोजनामा सञ्चार अधिकृतको जागिर खुल्यो । त्यसमा छानिएपछि म नेपालगन्ज हानिएको थिएँ । पत्रकारितामा कामको परीक्षा मात्रले चल्थ्यो । पहिलो पल्ट लिखित, अन्तर्वार्ता जस्ता औपचारिकताको परीक्षा पार गरेर नयाँ जागिर पाइएको थियो । अनि नेपालगञ्ज फर्किने बाटो तय भएको थियो ।

सहपाठी प्रकाश घिमिरेले मलाई एअरपोर्ट छोड्न जाँदा उनको वाइक पछाडि ठूलो झोला र त्यसपछाडि म थिएँ । हुनत म आमाबुवाकै काखमा जाँदै थिएँ । तर, घट्टेकुलोदेखि एअरपोर्ट पुग्दासम्म बरर्र आँशुले म नि:शब्द भएँ । कलिलो उमेरमा काठमाडौंमा करीब ८ वर्ष पत्रकारिता पढ्दै अनि सिक्दै काम गरिरहेको थिएँ ।

काम र पढाइका दौरान काठमाडौंका गल्लीगल्ली चहारेको थिएँ । भूगोल, काम, साथीभाइ धेरै कुराको स्नेहले भित्रैदेखि मन भक्कानियो । बाटोभरि काम गर्ने संस्था, सहकर्मी, सहपाठी, गुरु, साथीसँगी, डेराको याद रिल झैं घुमिरह्यो । (यो विचार अनलाइनखबरडटकमबाट साभार गरिएको हो ।)

Exit mobile version