‘सानो जाँच : ठुलो सुरक्षा’
नेपालगन्जमा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर आयोजना हुने भएको छ । भोलि बुधवार विश्व क्यान्सर दिवसको अवसर पारेर सचेतनासँगै उपचारका लागि शिविर सञ्चालन गर्न लागिएको हो ।
त्यसका लागि नेपालगन्जस्थित एचसीआरसी हस्पिटलसँग सहकार्य गरेको श्री जैन श्वेताम्बर तेरापंथ महिला मण्डलले बुधवार शिविर आयोजन ागर्न लागेको कार्यक्रम संयोजक निशा सेठियाले जानकारी दिइन् ।
श्री जैन श्वेताम्बर तेरापंथ महिला मण्डल र एचसीआरसी हस्पिटलसंगको संयुक्त आयोजनामा आगामी ‘विश्व क्यान्सर दिवस’ को अवसर पारी एक दिवसीय निःशुल्क सर्भाईकल क्यान्सर (पाठेघरको मुखको क्यान्सर) जाँच शिविर सञ्चालन गरिने संयोजक सेठियाले बताइन् ।
‘सानो जाँच ः ठुलो सुरक्षा’ भन्ने नाराका साथ आयोजना हुन लागेको यस शिविरमा महिलाहरूको पाठेघरमा हुनसक्ने असामान्य परिवर्तन र क्यान्सरको पूर्व–अवस्था पत्ता लगाउन ’प्याप स्मियर’ परीक्षण गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार, २१ देखि ६५ वर्ष उमेर समूहका विवाहित महिलाहरूले यस शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिन सक्नेछन् । ‘क्यान्सरको जोखिमलाई समयमै पहिचान गरी रोकथाम गर्नका लागि प्रत्येक ३ देखि ५ वर्षमा नियमित जाँच गराउनु आवश्यक मानिन्छ,’ चिकित्सक भन्छन् ।
श्री जैन श्वेताम्बर तेरापंथ महिला मण्डलले महिला स्वास्थ्य र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस विशेष शिविरमा सहभागी हुन सबै महिलाहरूमा अनुरोध गरेको संयोजक निशा सेठियाले बताइन् ।






























