गोरखा स्कुलको भव्य रजत महोत्सव : संस्थापक, शिक्षक–कर्मचारी र विद्यार्थी सम्मानित

प्रतिष्ठित शैक्षिक संस्था बाँके जिल्लाको कोहलपुरस्थित गोरखा युनाइटेड पब्लिक स्कुलले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको उपलक्ष्यमा आयोजना गरेको तीनदिने ‘रजत महोत्सव’ तथा वार्षिकोत्सव कार्यक्रम भव्य र उत्साहपूर्ण रूपमा आयोजना गरेको छ ।

१५ माघ २०८२ देखि सुरु भएको महोत्सव विभिन्न शैक्षिक, खेलकुद र सांस्कृतिक गतिविधिसहित शनिबार विशेष समारोहका बीच समापन गरिएको हो । विद्यालय परिवार, अभिभावक, पूर्व विद्यार्थी तथा शुभचिन्तकहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो ।

महोत्सवको पहिलो दिन खेलकुद उत्सव, दोस्रो दिन अभिभावक दिवस तथा रचनात्मक कार्यक्रमहरू, र अन्तिम दिन विशेष सम्मान तथा सांस्कृतिक समारोह आयोजना गरिएको थियो ।

विद्यालयका संस्थापक अध्यक्ष केशर बहादुर आले मगरको अध्यक्षता भएको विशेष समारोहमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले मूल समारोहमा पानसमा दीप प्रज्वलन र रजत जयन्ती स्तम्भ अनावरण गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गरे । विद्यालयका प्रशासन प्रवन्धक कर्णबहादुर बस्नेतका अनुसार, सो अवसरमा विद्यालयको स्मारिका ‘गोरखा स्मारिका’ पुस्तकको विमोचन समेत गरिएको थियो ।

कार्यक्रममा करिब ४ सय जना शिक्षक, कर्मचारी, संस्थापक, अभिभावक, पूर्व शिक्षक, पूर्व अभिभावक र पूर्व विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

विद्यालयको शैक्षिक यात्रामा महत्वपूर्ण योगदान पु¥याउने १५ वर्षभन्दा बढी सेवा गर्ने शिक्षक–कर्मचारी, चार संस्थापक सदस्य, सल्लाहकार प्रा. डा. गोविन्द प्रसाद ढकाल र दुर्गानाथ गौतम, साथै पूर्व विद्यार्थीहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

विशिष्ट अतिथिहरूमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेल, लुम्बिनी प्रदेशसभा सदस्य बसन्ती न्यौपाने अधिकारी, कोहलपुर नगर प्रमुख पूर्ण प्रसाद आचार्य, र बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको उपस्थिति रहेको थियो ।

समारोहमा बोल्दै विशेष समारोहका प्रमुख अतिथि प्रा. डा. अर्यालले विद्यालयले २५ वर्षमा हासिल गरेको शैक्षिक उचाइको प्रशंसा गर्दै ‘गुणस्तरीय शिक्षाले नै राष्ट्रको भविष्य निर्माण गर्छ, गोरखा युनाइटेड स्कुलले बाँके जिल्लाको शैक्षिक साख जोगाएको’ बताए ।

त्यस्तै, विद्यालयका अध्यक्ष आले मगरले विद्यालयको यात्रामा साथ दिने अभिभावक, विद्यार्थी र शुभचिन्तकप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा विद्यालयलाई प्रविधिमैत्री, आधुनिक र उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विशेष समारोहमा राष्ट्रिय लोकगायिका टिका पुनको सांगीतिक प्रस्तुति, विद्यार्थीहरूको आकर्षक नृत्य तथा सांस्कृतिक कार्यक्रमहरूले उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

रजत महोत्सवले विद्यालयको २५ वर्षे शैक्षिक यात्रा, सामाजिक योगदान र सफलताको स्मरण गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने अठोट पुनः दोहो¥याएको विद्यालयले जनाएको छ ।

Exit mobile version