भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाण्डौँबाट ल्याइएका उपकरण र आवश्यक जनशक्ति व्यवस्थापनपछि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले लामो समयदेखि गरिरहेको प्रयास सफल भएको छ, यसले यस क्षेत्रका बिरामीलाई ठूलो राहत मिल्नेछ ।” 

डा सुवेदीका अनुसार यहाँ चारवटा उपकरणसँगै दुई जना प्याथोलोजी चिकित्सकले सेवा दिइरहेका छन । केही दिनअघि मात्रै सुरु भएको सेवाबाट तीन व्यक्ति लाभान्वित भएको र सेवाका कारण क्यान्सर वा अन्य रोगको समयमै पहिचान गर्न सक्ने अवस्था बनेको छ ।

“सेवा सुरु भएपछि समयमै रोग पहिचान गरी तत्काल उपचार गर्ने अवस्था बनिरहेको छ । अब यस क्षेत्रमा क्यान्सरलगायत विभिन्न रोगको पहिचानका लागि नमूना बाहिर पठाउनुपर्ने र रिपोर्टका लागि लामो समय पर्खिनुपर्ने समस्या हट्ने छ”, मेडिकल सुपरिन्टेन्डेन्ट डा सुवेदीले भन्नुभयो ।

अस्पतालका प्याथोलोजी विभाग प्रमुख डा शर्मिला गुप्ताले हिस्टोप्याथोलोजी सेवा सुरु भएपछि क्यान्सर, क्षयरोग, अटो–इम्युन, मिर्गौला, पेट, कलेजोलगायत दीर्घरोग पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार हिस्टोप्याथोलोजीले शरीरबाट निकालिएका अङ्ग एपेन्डिक्स, पित्तथैली, प्रोस्टेट आदि रोगग्रस्त छन् कि छैनन् भन्ने पत्ता लगाउँछ ।

विभाग प्रमुख डा गुप्ताले यसबाट क्यान्सर जस्ता गम्भीर रोग पत्ता लगाउन, रोगको प्रकार र अवस्था बुझ्न, रोग कति फैलिएको छ भन्ने थाहा पाउन र उचित उपचार गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । 

अस्पतालका ‘कन्सल्टेन्ट’ प्याथोलोजिस्ट डा सुरेशमान श्रेष्ठले हाल हिस्टोप्याथोलोजीका आधारभूत सेवा सञ्चालन गरिएको र आगामी दिनमा स्तरीय स्टेनिङ र इम्युनोहिस्टोकेमिस्ट्री जस्ता सेवा थपिने बताउनुभयो ।  

अस्पतालमा केही दिनमै बोन म्यारो एस्पिरेसन (हड्डी भित्रको मासु निकालेर जाँच गर्ने प्रक्रिया) सेवा पनि सुरु गर्ने तयारी अगाडि बढाइएको जनाइएको छ ।
Exit mobile version