नेपालगन्जमा सामाजिक सद्भाव र भाईचारा बिगार्न खाेज्ने ‘तत्व’लाई पहिचान गरि निरुत्साहित गर्न बाँके-२ का सांसद एवं पूर्वमन्त्री इस्तियाक राईले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष लिखित माग गर्नुभएको छ ।
साेमवार प्रधानमन्त्रीसंगकाे भेटघाटमा सांसद राईले समाजको परस्पर सम्बन्धमा दरार ल्याउने र विभाजनलाई बढावा दिने दृश्य/अदृश्य तत्वहरू नेपालगन्जसहित सिंगो बाँके जिल्लामा नै सक्रिय रहेको भन्दै प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराउनु भयाे ।
‘ याे समस्या हाम्रा सामु ठूलो चुनौतीका रूपमा देखा परेको छ’ राईले भन्नु भएको छ,-‘ जिल्लामा अवस्थित विविधतायुक्त समाज परस्परमा वर्षौंदेखि भाईचारा, सद्भाव र एकतापूर्ण व्यवहार कायम राख्दै यहाँसम्म आइपुगेको हो।’
तर समाजको परस्पर सम्बन्धमा दरार ल्याउने र विभाजनलाई बढावा दिने दृश्य/अदृश्य तत्वहरू नेपालगन्जसहित सिंगो बाँके जिल्लामा नै सक्रिय रहेको भनाइ छ ।
राईले भन्नुभएको छ, शिक्षा, प्रविधि र भौतिक निर्माणका क्षेत्रमा जतिसुकै उपलब्धी हासिल गरेता पनि समाजमा सहिष्णुता, सद्भाव, भाईचारा र एकता छैन भने कुनै पनि प्रकारको उपलब्धीलाई सार्थक ठहर्याउन सकिँदैन।
यहाँका हरेक धर्म/सम्प्रदायबीच संस्कारयुक्त जीवनशैली र परस्परमा सम्मानयुक्त व्यवहार कायम गर्दै समाजलाई पुन: एकताबद्ध गर्नू अत्यावश्यक भएकाे राईकाे भनाइ छ ।
‘अन्यथा हाम्रा समाज आवरणमा दुरुस्तै देखिएपनि भित्रभित्रै कमजोर हुँदै जाने निश्चित छ।’ राईले स्पष्ट शब्दमा भन्नुभएको छ,-‘ त्यसैले हरेक विषय/घटनाहरूलाई धार्मिक रंग दिई समाजमा फाटो ल्याउन उद्दत तत्वहरूको पहिचान तथा उनीहरूको निरूत्साहनतर्फ पहलकदमी लिनुभई सामाजिक एकताका निम्ति प्रबर्द्धनात्मक कार्यक्रमहरू अघि बढाउनुहुन हार्दिक अनुरोध गर्दछु।’
