योगिनी कपमा राईजिङ स्टार र सीतापुर युनाइटेड विजयी

बाँकेको खजुरा गाउँपालिका–२ स्थित योगिनी माविको खेल मैदानमा जारी दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलहरूमा राईजिङ स्टार क्लब र सीतापुर युनाइटेड बर्दियाले विजय हासिल गरेका छन् ।

सोमबार भएको पहिलो खेलमा राईजिङ स्टार क्लबले २७ स्टार क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोड्यो । प्रतिस्पर्धात्मक बनेको खेलमा निर्णायक गोल २७ स्टार क्लबकै तर्फबाट आत्मघाती रूपमा भयो । खेलको २६औँ मिनेटमा निशान्त मगरले आफ्नै पोस्टमा गोल गरेपछि राईजिङ स्टारले अग्रता लिएको थियो, जुन अन्तिमसम्म कायम रह्यो । उत्कृष्ट प्रदर्शन गरेका राईजिङ स्टारका क्षितिज राना ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनलाई ज्येष्ठ नागरिक सोकबहादुर खत्री र स्थानीय समाजसेवी तुलसी पुनले ट्रफी प्रदान गरे ।

त्यसैगरी, दोस्रो खेलमा सीतापुर युनाइटेडले मोडर्न एफसीलाई २–० गोलअन्तरले हराउँदै सहज जित दर्ता गर्यो । सीतापुरका लागि सुजन शाही ठकुरीले खेलको २५औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने दोस्रो गोल अरुण चलाउनेले ५७औँ मिनेटमा थपे । उत्कृष्ट प्रदर्शन गरेका संगम सारु मगर ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनलाई आयोजक योगिनी युवा क्लबका संस्थापक उपाध्यक्ष नरेन्द्र भारती र सीतापुर सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष प्रेम थापाले ट्रफी प्रदान गरे ।

प्रतियोगिताअन्तर्गत मंगलबार पहिलो खेल जय किसान स्पोर्टस क्लब सैनिक र मानवी स्पोर्टस क्लब नेपालगन्जबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल एक्स आर्मी लेजेन्ड र चन्द्र ज्योति युवा क्लबबीच हुने प्रतियोगिता संयोजक गणेश राईले जानकारी दिए ।

योगिनी युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा बाँके र बर्दियाका १३ टिमहरूको सहभागिता रहेको छ । प्रतियोगिता चैत २९ गतेसम्म सञ्चालन हुनेछ । सहभागी टिमहरूमा मोडर्न एफसी क्लब, सीतापुर युनाइटेड, जय किसान स्पोर्टस क्लब, मानवी स्पोर्टस क्लब, २७ स्टार क्लब, राईजिङ स्टार, एक्स आर्मी लेजेन्ड, चन्द्र ज्योति युवा क्लब, केवाईसी, योगिनी युवा क्लब ‘ए’ र एक्टिभ युवा क्लब रहेका छन् ।

प्रतियोगिताको विजेताले ५१ हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष कमल पुनले जानकारी दिए । साथै, प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्ट्राइकर विधामा समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

Exit mobile version