६० को दशकमा पश्चिम तराईका हिंसात्मक घटनामा संलग्न मानिएका बाँके हिरमिनियाका अर्जुन सिंह शिख (भगत सिंह) को ६० बर्षको उमेरमा निधन भएको छ । गत भदौ २३–२४ गते जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार नख्खु जेलबाट कैदीबन्दीहरू भाग्ने क्रममा निस्किएका भगत सिंहको आइतबार उपचार क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
पछिल्लो पाँच बर्षदेखि मृर्गौलाका रोगी भई थलिएका उनी एक्कासी गम्भीर भएपछि भारतको बहराईच स्थित बद्रीप्रसाद शुक्ला मेमोरियल अस्पतालमा उपचार गर्न लागिएको र त्यसक्रममा मृत्यु भएको उनका छोराले जानकारी दिए ।
ठूला छोरा महेश सिंहका अनुसार, पाँच बर्षदेखि मृर्गौलाले काम गर्न छाडेका कारण डायलोसिस गराउँदै आएका अर्जुन सिंहको उपचारकै निधन भएको हो । ‘आइतबार नै बुबाको जन्मस्थान डुडुवा गाउँपालिका वडा नं. ५ सिख्खनपूर्वामा दाहसंस्कार गरिएको छ’, छोरा महेशले दैनिक नेपालगन्जसँग भने । तराई मधेसमा सशस्त्र गतिविधि गरिरहँदा सरकारसँगको वार्तामा हतियार बुझाएका सिंहलाई प्रहरीले पक्राउ गरी लामो समयदेखि विभिन्न मुद्दा लगाएको थियो । उनी २०६७ चैत्र १९ गते कर्तव्य ज्यान मुद्दामा कानुनी फन्दामा परेपछि २०७८ कार्तिक १४ गते ज्यान मार्ने उद्योगसम्म निरन्तर कानुनी निशानामा पर्दै आएका थिए । त्यसबीच २०६८ माघ ४ गते कर्तव्य ज्यान र २०७० पुस ४ गते विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा आरोपी थिए । सरकारले हतियार विसाएर शान्ति प्रक्रियामा आउन गरेको आग्रह सुनुवाई गरी कार्यकर्ताहरू सहित आत्मसमर्पण प्रक्रियामा रहेका भगत सिंहलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।
त्यसपछि कारागारबाटै पटकपटक न्यायको गुहार लगाएका सिंहको सुनुवाई नसकिंदै इहलिला समाप्त भएको छ ।
