लायन्सको नेतृत्वमा धितालको ‘इन्ट्री’

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ ‘एन’ नेपालको आगामी नेतृत्वका लागि बाँकेका लायन्स लिडर चिन्तामणि धितालले ‘इन्ट्री’ गरेका छन् । उनले निर्वाचनका लागि नेपालगन्जमा आइतबार मनोनयन दर्ता गर्दै नेतृत्व प्रक्रियामा प्रवेश गरेका हुन् ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ ‘एन’ नेपालको नयाँ नेतृत्व चयनका लागि बैशाख ५ गते तय गरिएको निर्वाचनमा ‘डिष्ट्रिक गर्भनर’ पदमा टिकाराम चपाई, ‘फस्ट भाइस डिष्ट्रिक गर्भनर’ मा डा. नेत्रराज चटौत र ‘सेकेन्ड भाइस डिष्ट्रिक गर्भनर’ मा चिन्तामणि धितालले मनोनयन दर्ता गराएका छन् ।

‘पास्ट डिष्ट्रिक गर्भनर’ सेम शाक्यको अध्यक्षता तथा अन्तर्गत डिष्ट्रिक ३२५ ‘एन’ नेपालका गर्भनर ज्ञानेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उम्मेदवारहरूले आफूलाई मतदान गरी नेतृत्व चयन गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा विशेषगरी चिन्तामणि धितालले नेतृत्वदायी भूमिकामा रहेर लायन्स अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले संस्थालाई अझ प्रभावकारी, उत्तरदायी र सेवा उन्मुख बनाउँदै लैजाने योजना प्रस्तुत गर्दै नेतृत्वको लाइनमा आफूलाई अघि बढाएको स्पष्ट पारे ।

लायन्स लिडर उमा थापामगरका अनुसार, निर्वाचनलाई लक्षित गर्दै गरिएको मनोनयन दर्ता कार्यक्रममार्फत तीनै उम्मेदवारलाई सर्वसम्मत रूपमा अघि बढाउने वातावरण निर्माण गर्ने प्रयास गरिएको हो । डिष्ट्रिक ३२५ ‘एन’ यस क्षेत्रका लायन्सकर्मीहरू आबद्ध रहेको ठूलो सामाजिक सञ्जाल हो, जसले शिक्षा, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा निरन्तर सामाजिक सेवा गर्दै आएको छ ।

Exit mobile version