२०४६ साल फागुन ७ गते चाक्सीबारीमा नेपालको शासन फाल्ने घोषणा हुँदैगर्दा चन्द्रशेखरलाई नेपालको हितैषी सम्झेर गणेशमानलाई भौमान मानेर म जस्ता थुप्रै बिस बाइसे उमेरका युवाहरू अन्धभक्त भएर आन्दोलनको लागि तयार भएका थियौं । आफ्नो अध्ययन छोडेर सडकमा उफ्रिने कुँद्ने त्यो उमेर समुहका हामीहरू तत्कालीन समयमा परिवर्तनका वाहक, आन्दोलनका रापताप र देश बनाउन हिँडेका र राजनीतिक चेतना पनि थोर बहुत भएका युवाहरू थियौं । हामीमा कम्तिमा पनि देश र शासन जोसुकैले चलाएको भएपनि देशमा बनेका पूर्वाधार, देशको सार्वजनिक सम्पत्ति र सम्पदाको निर्माण र जर्गेना त्यो शासकको व्यक्तिगत सम्पत्तिबाट भएको होइन यसमा मेरो पनि हिस्सेदारी छ भन्ने हेक्का थियो । यसैले यस्ता कुराहरूमा आगो लगाएर ‘हिपहिप हुर्रे, वाहु क्या गज्जब’ भन्ने दुस्साहस कम्तिमा पनि हाम्रो पुस्ताले गरेन । यो मानेमा हाम्रो पुस्ता गर्व गर्न लायक पुस्ता हो । हामीमा पनि जोश थियो । हामीलाई पनि तत्कालिन शासकप्रति रोश थियो । खुन हाम्रो पनि उम्लेको थियो । हामी पनि त्यो बेलाका नायकहरूका लागि मर्न तयार थियौं । आखाँ भएका अन्धा भक्त थियौं । तर हामी विवेक गुमाउने हदसम्मको पागलपन भएका भने पक्कै थिएनौं ।
भर्खर शहिद सप्ताह र शहिद दिवस सक्किएको छ । राणा शासनका बिरुद्ध लागेका शहिदहरूको सम्झना गर्दै गर्दा २०४६ साल यता शहिदको परिभाषा फेरिएको र २०६४ पछि शहिद भनेको भीरबाट लडेर मर्ने, तमाशा हेर्न गएर मर्ने, राज्यको सम्पत्तिमा आगो लगाउन जाने, नीजि सार्वजनिक प्रतिष्ठानमा चोरी गर्न जाँदा मर्ने, रमिते देखि कुखुरा चोर सम्म शहिद बनेको देखेर पनि ‘हो हो’ भन्ने हामी आज अर्काथरी अन्धा भएका छौं ।
देशमा बहुदलीय शासनले प्वाँख पनि हाल्न पाएको थिएन । बहुदलको चुनावबाट बहुमतको सरकार बनेको तीन बर्ष मात्रै के पुगेको थियो । दलभित्र नै कैंचीकाट खेल भयो । सत्ताको मझेरीमा मैजारो पार्ने होडबाजीले बहुमतको सरकार छियाछिया पारियो र यहि बिन्दुबाट बहुदलीय व्यवस्था र संसदीय प्रणालीको कुरूपताको खेल शुरु भयो । जिम्मेवारहिन सत्ताको मात्रै खेलले देशलाई आजको अवस्थामा ल्यायो । त्यो सब खेलमा लाग्नेहरूका नयाँ नयाँ अन्धभक्त बन्ने हामी मध्येबाटै धेरै थियौं । ‘हो हो र हा हा’ गर्दै ताली बजाएर दौडिने पनि हामी मध्ये नै थियौं । आफ्नो नेतालाई प्रश्न गर्न नचाहने नरुचाउने यो अन्धभक्ति नै थियो ।
जुन थितिको आशा थियो त्यो भत्कियो । बिस्तारै निराशाको छायाँ बढ्दै जाँदा त्यहि निराशालाई खुड्किलो बनाएर अर्को नयाँ नायक बन्ने र नयाँ पटकथा लेख्ने काम शुरु भयो । त्यो कथा हामी जस्तै त्यो बेला उम्लेको खुन भएकाहरूलाई मन पर्यो र अन्धभक्तहरूको लाम लाग्यो । त्यो लामभित्र देश देखिएन । धर्म सँस्कृति भाषा सभ्यता देखिएन । देशको सम्पत्तिमा बम हान्दा गर्व गर्ने अन्धभक्ति मात्रै देखियो । आफ्नै नेपाली दाजुभाइलाई मारेर भतेर गर्ने विवेकशुन्यता देखियो । आफ्नो करबाट बनेको आफ्नो देशको सार्वजनिक सम्पत्तिलाई दुश्मनको किल्ला भन्ने र उचाल्नेहरू विदेशीको कोठरीलाई भने आफ्नो देख्नेहरूलाई नायक देखियो । आफ्नालाई शत्रु देख्ने र सफाया गर्ने नियत र नियति भएका विवेकशुन्य आँखा भएको अन्धो पुस्ता देखियो । उ बेला त देख्नेहरूले पनि नदेखेको जस्तो नाटक पनि गरे । अन्धभक्ताहरूको लाम नै लाग्यो । देश भत्काउने, धर्म सँस्कृति भाषा सभ्यता पोल्नेलाई नायक मानियो । देश त अब यसै बन्ने त्यसै बन्ने भनेर भित्ता भित्तामा राष्ट्रपति बनाएर तिमी नै मुक्तिदाता हौ भनेर अलाप माथि अलाप गर्न थालियो ।
बैमानीको धरातलमा उभिएको त्यस्तो अन्धभक्तिको बादल छाँटिन खासै समय लागेन । पात्रहरू नेपाल सापेक्ष थिएनन । उनीहरूले नेपालको चिन्ता चिन्तनमा समय खर्चेका पनि थिएनन् । एउटाको रिसले तिनीहरूलाई देखाइदिन र आफुले पनि हिस्सा लिन हिँडेकाहरूको कथाले न मुक्ति दियो न नेपाली जनताले चाहेको ‘छुमन्तर कि बाचा’ जस्तो जादुइ परिवर्तन र विकास दियो । नैतिकताबिहिन समाज बनाउनुलाई परिवर्तन देख्ने अन्धाहरू मात्रै जन्मिए ।
देशमा नायक बन्ने बनाउने यसैका पछाडि लागेर देश बन्छ भन्ने सपना आजको होइन । आफ्नै देशका नायक जसले यो भूमि एकिकरण गरेर दिए । जसले यो भूमि वास्तविक दुश्मनबाट बचाएर अक्षुण राखे । जसले नेपालीको शासन नेपालीबाटै गर्ने गराउने आँट गरे त्यस्ता नायकहरूलाई नायक मान्न छोडेर विदेशी वादका नायक र हावाका नायकहरू खोज्दै जाने कामको पछिल्लो कडि थियो त्यो ।
नेपाली जनताको आशा भत्किहालेको थिएन । २०७२ सालको संविधान बनेपछि भएको निर्वाचनमा जनताले पुराना नायकहरूलाई शायद अन्तिम मौका दिएका थिए । विकल्प बनाउन खोजेलाई पत्याएनन् र तत्कालै अन्धो हुन तयार भएनन् । एक मौका दिउँ भनेर दिएको मौकालाई आफ्ना आफन्त, आसेपासे ढोके चौके, ठेकेदार र माफियाहरूको हित रक्षामा लगाएपछि नेपाली जनताले नयाँ नायकको खोजि गरे ।
२०७९ को निर्वाचन आउँदै गर्दा नयाँ नायक उभ्याएर भक्तिभाव देखाउन थालेका जनताले अब पुराना नायकहरूलाई खलनायक बनाउन थालिसकेका थिए । यसमा पुस्ता फरक थियो । यो हिजोको जस्तो व्यवस्थित आन्दोलनबाट जिम्मेवार राजनीतिबाट जन्मेको पुस्ता थिएन । २०५२ पछि अराजकतामा शान देख्ने, पैसा, उपभोक्तावाद, विदेशी धर्म भाषा सँस्कृति र भूगोलमा गर्व गर्ने चरित्र बोकेको पुस्ताले आधुनिकताको दासत्वलाई सजिलै स्वीकार गर्न सक्छ भन्ने कसैले हेक्का राख्न पाएनन् । पुरानो सत्ताले बुझ्न नपाउँदै नयाँ पुस्ता आधुनिकतावादमा आफ्नै जरो उम्टाएर अन्धो भैसकेको थियो । नयाँ नायकको खोजिमा भौंतारिएको पुस्तालाई नयाँ चटके नायक मिल्यो र यसैलाई आर्दश मानेर आज दौडिरहेको छ ।
विवेक शुन्यतामा पसेको पुस्ताले आफ्नै राष्ट्र चलाएर ‘वाह हु, क्या गज्जब काम भयो, क्रान्ति नै भयो’ भन्दै हिँड्ने सम्म आइ पुगेको छ । देशको अभिलेख। इतिहास। सभ्यता र अस्तित्वलाई मात्रै एउटा भवन मान्ने यो पुस्ता र अहिलेको नेपाली समाज नै भनौं यतिसम्म अन्धो बनेको छ कि, अस्तित्व रक्षाको भीख मागेर पल्टेको देशको चित्कारलाई भिडियो बनाएर भाइरल हुनमा आफ्नो महारथ सम्झेको छ ।
आजको पुस्ता आधुनिक प्रविधि र उपभोक्तवादको दास बनेको छ । यसैमा अन्धो छ । यहि अन्धोपनलाई भजाएुर सत्ताको मझेरीमा राइँदायँ गर्ने र कसैका एजेण्डामा काम गर्न नायक बनेका पात्रले आफ्नो नायकत्व नेपाल सापेक्ष भएर निभाउँछ भन्नेमा शंका गर्ने ठाउँ प्रसस्त छ । यिनीहरू फेरि हिजोका नायकहरू कै मार्गको अर्को पात्र बन्नेछन् भन्ने त अहिल्यै निक्र्यौल गर्न गाह््रो छ तर ‘बिहानीले दिनको आभास दिन्छ’ भने झैं त्यो सुखद आभास दिन सकिरहेको छैन । आज मानेको नायकको मुख्य परीक्षा त हुन बाँकी नै छ ।
नेपाली समाजले मात्रै होइन संसारका हरेक देशले आफ्नो देशमा एउटा नायकको परिकल्पना गरेका हुन्छन् । तर पाँच बर्ष वा दुई बर्षमा नायक फेर्नेे गर्दैनन् । एक शताब्दी वा राष्ट्रको एक युगमा एउटा नायक अवश्य जन्मिनु पर्छ । नेपालमा पृथ्बीनारायण शाह यो देशका महानायक नै हुनुहुन्छ । त्यसपछि नेपालले २०१२ सालमा अर्का नायक पाएको थियो राजा महेन्द्रका रूपमा । त्यस यता भने नेपालको अस्तित्वको लागि अर्को नायक खासै जन्मेन । नेपाली समाज अर्को नायकको चमत्कारको खोजिमा रह्यो ।
२०७९ मा एउटा नायक जन्माउन खोजियो तर त्यसबाट मात्रै पार नपाउने देखेर अहिले अर्को नायक रोजिएको छ । त्यो नायक पनि २०७९ मा नै उदाएको थियो । तर उसको सीमा थोरै थियो । अब देशैभरि उक्त व्यक्तिलाई नायक बनाएर जयजयकार गर्दै म्याराथन दौड पुरा गरेका छौं । अब त्यो मूर्ति नायकले कसरी अभिनय गर्छ ? कस्तो चमत्कारको वाचा गर्छ ? त्यो पनि एकाध महिनामा देखिने छ । भित्ते राष्ट्रपति देखि भित्ते प्रधानमन्त्रीसम्मको नयाँ नायक छान्न आतुर नेपाली जनता बहुदल आएपछि तेस्रो पटक अन्धो भएको छ । यो अन्धभक्तिले नायकलाई अन्य कुरा समान रहेमा र सत्ताको मझेरीमा घर झगडा नभएमा सत्ताको निर्णायक बनाउने लक्षण देखिएको छ । नायकको बोलि फुट्दा र नायकको अभिनय शुरु हुँदा त्यो नायकको पनि हिजोका नायकहरूको जस्तो वा अझ त्यो भन्दा खत्तम अभिनय नहोस् भन्ने कामना गर्नु बाहेक नेपाली जनताको हातमा केहि छैन ।
साँढेको जुधाइमा बालीको नाश र नायकहरूको जुधाइमा देशको सत्यानाश नहोस् ।
नायकको म्याथनले देश तातेको छ । नयाँ नायक खोज्न आतुरहरू पनि तम्सेका छन् । आधुनिक नायकका पछि लागेका रतन्धो भएकाहरू त छँदै थिए आँखा देख्नेहरू पनि नयाँ नयाँ अन्धा भएका छन् । यसमा दोष कसैको छैन । नेपाली जनताको चरित्र नै नायक खोज्ने चरित्र हो । ‘छु मन्तर की बाचा चैट’ भनेर निकास खोज्ने चरित्र हो । पार्टी र भोजै पिच्छे कपडा फेनेर्, ठाउँ पिच्छे भोजन फेर्ने, नीति नैतिकता फेर्ने, देशै फेर्न आतुर हुने, छिनमै जीवन साथी पनि फेर्न पछि नपर्ने आजको पुस्ता र यसले निर्देशित गरेको जमातलाई देशको नायक र नीति राजनीति पनि यसरी नै फेर्नेु पर्छ भन्ने लाग्नू कुनै नौलो होइन । नयाँलाई चान्स दिनु ठिक हो तर त्यो नयाँको नीति र नैतिकता, देशको मुलधर्म र कुलधर्मको आधारमा टिकेको छ छैन ? उ नेपालको मूल जरोमा उभिएको छ छैन भन्ने कुरालाई चटक्कै बिर्सेर पुरानो च्यात्ने र पुरानो भनेको सबै गलतै मात्रै हो भन्ने अन्धो बन्नु भने देशको लागि घातक र आफ्नै लागि पछुतो पनि हुनसक्छ । हतारमा नयाँ नायक बनाउने अन्धोपनले फुर्सदमा पछुताउने काम नहोस् यसमा भने हेक्का राख्नैपर्छ ।































