टुर दि ठाकुुरद्वारा : रुट तय

आगामी फागुन ७, ८ र ९ हुने नेपालगन्जमा आयोजना हुने ‘साइकल उत्सव’ का क्रममा हुने टुर दि ठाकुरद्वाराको रुट तय गरिएको छ ।

आयोजक नेपालगन्ज साइक्लिङ्ग क्लबका अध्यक्ष कविराम बुढाथोकीका अनुसार, सुरक्षा व्यवस्थापन, आन्तरिक पर्यटन प्रवद्र्धन र सहभागी साइकल यात्रीहरूको सुविधासँगै मनोरञ्जनात्मक राइडिङ्गलाई मध्यनजर रुट तय गरिएको हो । त्यसका लागि नेपालगन्ज स्थित प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरबाट सुरु हुने टुर दि ठाकुरद्वाराको मनोरम साइकल यात्रा सदरलाइन, त्रिभुवनचोक चारवाहिनी हुँदै गणेशमान चोक पुगेर सुर्खेतरोडको बाटो कारकाँदो चोक बाइपास हुँदै कान्ति ताल, कम्दि मिलन चोकको कम्दी लायन्स पार्क पुग्नेछ ।

‘त्यहाँबाट डुडुवा किनारको प्राकृतिक दृश्यावलोकन गर्दै साइकल यात्रीहरू पिपिरी चोक निस्केर कोहलपुर गोलपार्क चप्परगौढी हुँदै खर्कवार पिकनिक पार्क पुगेर नेपाली सेनाको आतिथ्यतामा भोजन गर्नेछन्’, अध्यक्ष बुढाथोकीले दैनिक नेपालगन्जसँग भने । उनका अनुसार, बाँके राष्ट्रिय निकुञ्जको सँगको सहकार्यमा साइकल यात्रीहरूलाई हात्तीले स्कटिङ्ग गर्दै निकुञ्ज भित्रबाट सुतैयाताल मिनी गाभरमा रात्रीबास व्यवस्थापन मिलाइएको छ ।

‘रात्रीबासमा विविध मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुतिहरूको भव्य आयोजना गरिएको छ’, नेपालगन्ज साइकिल फेष्टिबलका संयोजक क्लबका निवर्तमान अध्यक्ष प्रदिप सापकोटा भन्छन्, ‘यसपटक टुर दि ठाकुरद्वाराले बाँकेको आन्तरिक पर्यटन र राष्ट्रिय निकुञ्जलाई भरपुर उजागर गर्दैछ ।’ भोलिपल्ट विहान गाभरबाट च्यामा चोक डिगिया हुँदै सम्झना चोक बाँसगढीको पूर्व–पश्चिम राजमार्ग हुँदै भुरेगाउँ पुगेर ठाकुरद्वारा मन्दिर दर्शन गर्ने कार्यक्रम तय भएको कार्यक्रम संयोजक सापकोटाले जानकारी दिए ।

त्यसका लागि आवश्यक तयारीमा आयोजक जुटिरहेको जानकारी दिंदै क्लब सदस्य अजय केसी भन्छन्, ‘सबै ठाउँमा समन्वय गरेर साइकल यात्रुहरूलाई अभूतपूर्व मनोरञ्जन र साहसको अनुभूति दिलाउने गरी तयारी अगाडि बढेको छ ।’

Exit mobile version