राप्तीसोनारीमा वृक्षारोपणले हरियाली फर्किँदै

उजाड जमिनबाट हरियालीतर्फ

पुजाकुमारी बैश्य

राप्तीसोनारीमा रहेको सामुदायिक वनको बाँझो र पथरीला भूभागलाई हरियालीले ढाकिएको वन क्षेत्रमा रूपान्तरण गरिरहेका छन्।

बाँकेको राप्तीसोनारी गाउँपालिका हरियालीतर्फ फर्किँदैछ। केही दशकअघिसम्म चारकोसे झाडीले ढाकिएको यो भेग पञ्चायतकालपछि क्रमशः उजाड बन्दै गयो। बहुदलीय व्यवस्थाअघि र त्यसपछिका वर्षहरूमा वन फँडानी, खुला चराइ, अवैध कटानी, आगलागी र अनियोजित बस्ती विस्तारले यहाँका घना वनहरू क्षतविक्षत भए। दशकौँ लामो सशस्त्र द्वन्द्वले समस्या थप जटिल बनायो। तर अहिले यही भूभागमा निजी जग्गामा गरिएको वृक्षारोपण, सामुदायिक वनको पुनरुत्पादन र स्थानीयको सामूहिक प्रयासले उजाड जमिनलाई फेरि हराभरा बनाउने आशा पलाएको छ। पहिले खुला र उजाड भएको जमिन अहिले पुन हरियो र घना वन जस्तै देखिन थालेको छ

राप्तीसोनारी–६ का ६० वर्षीय नरवीर खड्का भन्छन्, “हाम्रै आँखाअगाडि चारकोसे झाडी उजाड बन्यो। अहिले भने स्थानीय प्रयासले फेरि वन हरियाली हुन थालेको छ।” उनका शब्दमा, परिवर्तन आकस्मिक होइन—यो निरन्तर श्रम, धैर्य र सहकार्यको परिणाम हो।

प्राकृतिक वनश्रोतमा बढ्दो चाप घटाउने र स्थानीयलाई आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यसहित सुरु गरिएको निजी वन प्रवर्द्धन कार्यक्रमले राप्तीसोनारीमा उत्साह थपेको छ। स्थानीयले आफ्ना निजी जग्गामा काठजन्य, फलफूलजन्य र बहुमूल्य प्रजातिका रुख–बिरुवा रोपेका छन्। यसले आगामी दिनमा काठ, दाउरा, घाँसजस्ता वनश्रोतको आपूर्तिमा सहयोग पुर्याउने विश्वास गरिएको छ।

निजी जग्गामा हरियाली बढ्दै जाँदा सामुदायिक वनमाथिको दबाब कम हुने, कार्बन संचिती बढ्ने र जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ। यस अर्थमा राप्तीसोनारीको अभ्यास प्रकृतिमा आधारित समाधानको उदाहरणका रूपमा स्थापित हुँदैछ।

राप्तीसोनारी–७ को रामजानकी सामुदायिक वन कुनै समय उजाड थियो। आज भने त्यहाँ उत्पादनशील वनको स्वरूप देखिन्छ। वन उपभोक्ता सुकई धोबी भन्छन्, “अतिक्रमण रोक्न रुख–बिरुवा लगाएका थियौँ। अहिले वन हराभरा बनेको छ।” यहाँ विजय साल, सतिसालसँगै महुवा र अमलाको वृक्षारोपण गरिएको छ।

त्यसैगरी राप्तीसोनारी–६ को सदाबहार सामुदायिक वनले पाँच हेक्टर क्षेत्रमा जामुन रोपेको छ। सामुदायिक वनकी अध्यक्ष चमेली बाकवाल मगरका अनुसार, “वनमै आफैँ उम्रिने जामुनलाई व्यवस्थित गर्दै आम्दानीको स्रोत बनाउने उद्देश्यले रोपाइँ गरेका हौँ।” मिश्रित वनलाई विशेष वनका रूपमा विकास गर्ने प्रयाससँगै बाँकी उजाड क्षेत्रलाई पुनः वनमा रूपान्तरण गर्न बजेट माग गरिएको छ।

राप्ती पीडित सामुदायिक वनमा पनि पुनरुत्पादनका काम तीव्र छन्। सामुदायिक वन, स्थानीय श्रमदान र वन कार्यालयको प्राविधिक सहयोगले क्षतिग्रस्त वन क्षेत्रलाई पुनः उत्पादनशील बनाउने अभियान निरन्तर अघि बढिरहेको छ।

तथ्य र प्रयास
राप्तीसोनारी सब–डिभिजन वन कार्यालय प्रमुख राम गणेश शाहका अनुसार, बाँकेको रामजानकी, सदाबहार र राप्ती पीडित सामुदायिक वन क्षेत्र उजाड अवस्थामा पुगेका थिए। “पुनरुत्पादन र वृक्षारोपणमार्फत ती वनलाई हराभरा बनाइएको हो,” उनी भन्छन्।

यस आर्थिक वर्षमा वृक्षारोपण तथा पुनरोपण गरी ३,८५६ हेक्टर क्षेत्रमा २३,८८८ बिरुवा रोपिएको छ। तीमध्ये करिब ८० प्रतिशत काठजन्य, १७ प्रतिशत फलफूलजन्य र बाँकी उच्च मूल्य तथा सौन्दर्यमूलक प्रजाति छन्। जिल्लाका सामुदायिक वनहरूमा डिभिजन वन कार्यालयमार्फत ५३,८०८ बिरुवा रोपिएका छन्। राप्तीसोनारी गाउँपालिकामा मात्रै ३२ हेक्टर क्षेत्रमा वृक्षारोपण र ७४।७५ हेक्टर क्षेत्रमा पुनरुत्पादन तथा प्रवर्द्धन गरी कुल १०६।७५ हेक्टर वन क्षेत्र विकास गरिएको छ।

नर्सरीमार्फत एकवर्षीय र बहुवर्षीय गरी ५,६०,९६३ बिरुवा उत्पादन गरिएको छ। ती बिरुवाहरू स्थानीय तहहरूमा वितरण गरिँदै छन् भने बाँकी मागअनुसार आगामी वर्ष गाउँ–गाउँमा पुर्याउने योजना छ।

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि राप्तीसोनारीमा ३,६६७ मिटर लामो र १।८ मिटर अग्लो तारबार निर्माण गरिएको छ।
राप्तीसोनारी–६ की फुलजहाँ नाउँले भन्छिन्, “पहिले यो जमिन हेर्दा मन दुख्थ्यो। धुलो, बालुवा र बन्जर जमीन थियो।” अहिले भने उनको आँखाअगाडि हरियाली फैलिएको छ, नयाँ बिरुवा, पातहरूको सुसाइ र आशाको संकेत।

सब–डिभिजन वन कार्यालयका वन रक्षक परमेश्वर शाहीका अनुसार, तराई–मधेसको भौगोलिक बनावटका कारण राप्तीसोनारी पहिले वनश्रोतमा धनी थियो। “पछिल्ला दुई दशकमा अनियन्त्रित प्रयोगले यो क्षेत्र उजाड बन्दै गयो,” उनी भन्छन्। उनका अनुसार अतिक्रमण पुरानो र बस्तीसमेत भएको हुँदा हटाउन जटिल छ, तर नयाँ अतिक्रमण रोक्न नियमित अनुगमन र कानुनको कडाइ आवश्यक छ।

बाँकेमा डिभिजन वन कार्यालय, कोहलपुर, बैजनाथ, खजुरा र राप्तीसोनारी गाउँपालिकासँग मिलेर अतिक्रमण हटाउने, वृक्षारोपण बढाउने र स्थानीयलाई आयआर्जन हुने साना वन उद्यम विकासमा सहयोग भइरहेको छ।

रेड कार्यान्वयन केन्द्रका परियोजना अधिकृत पशुपतिनाथ कोइरालाको भनाईमा सामुदायिक वनलाई व्यवस्थित गर्दै वृक्षरोपण बढाउन र वनबाट प्राप्त हुने फाइदाहरु वृद्धि गर्ने काम गरिरहेका छौ। स्थानीयको आर्थिक सहजता आयआर्जनको लागि “जंगल मात्रै हुनु पर्याप्त छैन , अहिले तिनलाई थप उत्पादनमूलक र दिको बनाउनलाई झाडी र बाँझो भुभाग हटाउँदै उच्च मूल्यका प्रजाति रोप्ने कार्यलाई निरन्तरता दिएको उनले बताए ।

वातावरणीय लाभ

बाँके जिल्ला डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुशील सुवेदी भन्छन्, “वन विस्तार र पुनरुत्पादनले हरितगृह ग्यास उत्सर्जन घटाउँछ।” उनका अनुसार रुखहरूले वातावरणमा रहेको कार्बन डाइअक्साइड सोस्छन्, जसले तापक्रम स्थिर राख्न र जलवायु परिवर्तनको जोखिम घटाउन मद्दत गर्छ।
“वन राम्रो हुँदा पानीका मुहान बढ्छन्, माटो कटान रोकिन्छ र जैविक विविधता फर्किन थाल्छ,” सुवेदी भन्छन्। घाँस–दाउरा व्यवस्था, जडीबुटी बिक्री र नर्सरी सञ्चालनले स्थानीय रोजगारी र आम्दानी पनि बढाएको छ।

भविष्यतर्फ
डिभिजन वन कार्यालयको वार्षिक प्रतिवेदनअनुसार, राप्तीसोनारीमा २८५।४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेका थिए, जहाँ २,६०२ घरधुरी बसेका छन्। यद्यपि, पुनरुत्पादन, वृक्षारोपण र सामुदायिक सहभागिताले स्थिति क्रमशः सुधार हुँदैछ।

आज राप्तीसोनारीमा निजी जग्गामा रोपिएका बिरुवाहरू मात्र होइन, आशा पनि हुर्किँदैछ। उजाड जमिनबाट पुनर्जन्मिएको जंगलले देखाएको छ । स्थानीय नेतृत्व, सहकार्य र दीर्घकालीन सोचले वन पुनर्स्थापना सम्भव छ। हरियालीसँगै कार्बन संचिती बढ्दैछ, वनमाथिको चाप घट्दैछ र समुदायको भविष्य सुरक्षित बन्दैछ।

Exit mobile version