राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनको नतिजा अनुसार, बाँकेका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी अंक बाँकेको खजुरा गाउँपालिकाले प्राप्त गरेको छ ।
बाँकेको खजुरा गाउँपालिकाले ७१.९९ अंक प्राप्त गरेको हो । त्यस्तै, कोहलपुर नगरपालिकाले ६५.७६, नेपालगन्ज उपमहानगरपालिकाले ५६.४५, बैजनाथ गाउँपालिकाले ६४.०६, जानकी गाउँपालिकाले ५८.६७, राप्तीसोनारी गाउँपालिकाले ५४, नरैनापुर गाउँपालिकाले ५२.११ र डुडुवा गाउँपालिकाले ४९.९७ अंक प्राप्त गरेको छ ।
मूल्यांकन आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमा वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा लिइने आधारमध्ये एक आधारका रूपमा प्रयोग हुन्छ । धेरै अंक ल्याउन सरकारले बढी अनुदान पाउने गर्छन् ।
७ सय ५३ स्थानीय सरकारमध्ये कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको पाणिनि गाउँपालिका देशभरिकै सबैभन्दा अब्बल सावित भएको छ ।
पाणिनि गाउँपालिकाले कुल ८३.८४ अंक प्राप्त गरी पहिलो स्थानमा रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजामा उल्लेख छ । ८० अंक कटाउने देशभरि चार स्थानीय तह छन् । जसमा अर्घाखाँचीको एक, गुल्मीका २ र रुकुम पश्चिमको एक नगरपालिका छ ।
आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे÷नगरेको उल्लेख छ । यसैगरी आर्थिक वर्ष २०८१÷८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे÷नगरेको समेत मूल्यांकनको सूचक मानिएको छ ।
आगामी आवको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाए÷नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेकोलाई समेत सूचक मानिएको छ । यसबाहेक राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षाको नतिजा, खोप लगाएका बालबालिकाको अनुपात समेत आयोगले मूल्यांकनका आधार मान्ने गरेको छ ।































