बाँकेमा खजुरा उत्कृष्ट, कसले कति पाए अंक

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनको नतिजा अनुसार, बाँकेका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी अंक बाँकेको खजुरा गाउँपालिकाले प्राप्त गरेको छ ।

बाँकेको खजुरा गाउँपालिकाले ७१.९९ अंक प्राप्त गरेको हो । त्यस्तै, कोहलपुर नगरपालिकाले ६५.७६, नेपालगन्ज उपमहानगरपालिकाले ५६.४५, बैजनाथ गाउँपालिकाले ६४.०६, जानकी गाउँपालिकाले ५८.६७, राप्तीसोनारी गाउँपालिकाले ५४, नरैनापुर गाउँपालिकाले ५२.११ र डुडुवा गाउँपालिकाले ४९.९७ अंक प्राप्त गरेको छ ।

मूल्यांकन आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमा वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा लिइने आधारमध्ये एक आधारका रूपमा प्रयोग हुन्छ । धेरै अंक ल्याउन सरकारले बढी अनुदान पाउने गर्छन् ।

७ सय ५३ स्थानीय सरकारमध्ये कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको पाणिनि गाउँपालिका देशभरिकै सबैभन्दा अब्बल सावित भएको छ ।

पाणिनि गाउँपालिकाले कुल ८३.८४ अंक प्राप्त गरी पहिलो स्थानमा रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजामा उल्लेख छ । ८० अंक कटाउने देशभरि चार स्थानीय तह छन् । जसमा अर्घाखाँचीको एक, गुल्मीका २ र रुकुम पश्चिमको एक नगरपालिका छ ।

आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे÷नगरेको उल्लेख छ । यसैगरी आर्थिक वर्ष २०८१÷८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे÷नगरेको समेत मूल्यांकनको सूचक मानिएको छ ।

आगामी आवको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाए÷नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेकोलाई समेत सूचक मानिएको छ । यसबाहेक राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षाको नतिजा, खोप लगाएका बालबालिकाको अनुपात समेत आयोगले मूल्यांकनका आधार मान्ने गरेको छ ।

Exit mobile version