उम्मेदवार राईको आव्हान, ‘अन्तरपुस्ता द्वन्द्व रोकौं’

बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले सोमवार आफ्नो प्रतिबद्धता पत्र–२०८२ सार्वजनिक गर्दै विकास, एकता र राष्ट्रियताका पक्षमा मतदातासँग समर्थन माग गरेका छन् ।

नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका राईले समुदायगत विविधता क्षेत्रको प्रमुख पहिचान भएको उल्लेख गर्दै विविधताभित्रको एकता र खुसहाल जीवनको चाह नै क्षेत्रवासीलाई बाँध्ने आधार भएको बताएका छन् ।

जिल्लाका दुई दर्जनबढी सञ्चारसंस्थाका प्रतिनिधि पत्रकारहरुबीच नेता राईले नीतिगत सुधारसहित नेपालगन्ज र डुडुवामा विकास निर्माणको कामलाई तीव्रता दिनु आफ्नो प्राथमिकता रहेको स्पष्ट पारे ।

सशक्त राजनीति र प्रभावशाली नेतृत्वले मात्रै समृद्धिको यात्रा सहज हुने उल्लेख गर्दै एमाले उम्मेदवार राईले सामाजिक–आर्थिक रूपान्तरण, पूर्वाधार विकास, कानुन तथा नीति–नियम निर्माण र कार्यान्वयनमा निरन्तर प्रतिबद्ध रहने दाबी गरे ।

‘केन्द्रीय राजनीति र सत्तामा क्षेत्रको पहुँच हुँदा प्राप्त उपलब्धिहरूलाई शिक्षा रूपमा लिँदै आगामी फागुन २१ गते हुने निर्वाचनमा विवेकपूर्ण निर्णय लिन’ राईले पत्रकारमार्फत मतदातालाई आह्वान पनि गरे ।सानै उमेरमा पार्टी नेता, सांसद हुँदै मन्त्रीसम्मको जिम्मेवारी सम्हालिसकेका राईले सद्भाव र सहिष्णुता क्षेत्रको पहिचान भएको उल्लेख गर्दै फरक सम्प्रदायबीच फाटो ल्याउने तथा अन्तरपुस्ता द्वन्द्व बढाउने गतिविधि सक्रिय हुन खोजिरहेको दाबी गरे ।

‘सद्भाव र सहिष्णुता हाम्रा पहिचान हुन्, फरक पुस्ताबीच स्नेह र सम्मान हाम्रा संस्कार हुन्, राईले मतदातालाई लिखित सन्देश सम्प्रेषण गर्दै भनेका छन्, ‘तर, यतिबेला फरक सम्प्रदायका बीचमा फाटो ल्याउने र अन्तरपुस्ता द्वन्द्व बढाउने षड्यन्त्रमुलक गतिविधिहरू हावी हुन खोजिरहेको अवस्था छ ।’विद्यमान शासन व्यवस्थाका विरोधी र राष्ट्रिय स्वाधीनता कमजोर पार्न उद्धत समूहहरू यस्ता गतिविधिमा संलग्न रहेको उनको आरोप छ । उनका अनुसार, आसन्न निर्वाचन साम्प्रदायिक द्वन्द्व मच्चाउन चाहने र राष्ट्रियता तथा विकासको प्रवद्र्धन चाहने शक्तिबीचको प्रतिस्पर्धा पनि हो ।धर्मिक अल्पसंख्यक मुस्लिम समुदायबाट राजनीतिक नेतृत्वमा पुगेका उनले विगतमा विकास र सद्भाव विथोल्ने प्रयासहरूलाई नाकाम पार्दै बाँके निर्वाचन क्षेत्र नम्बर २ ले उदाहरणीय इतिहास रचेको उल्लेख गरे । सोही इतिहासलाई आगामी निर्वाचनमार्फत पुनः स्थापित गर्नुपर्ने बताउँदै समावेशी विकासको अवधारणा अनुसार बाँके क्षेत्र नम्बर २ लाई समृद्ध र खुसहाल बनाउने प्रतिबद्धता दोहो¥याए ।राईले आफ्नो प्रतिबद्धता पत्रमार्फत विकास, एकता र सद्भावलाई मूल मन्त्रका रूपमा अघि बढाउने अडान व्यक्त गरेका छन् । ‘यो महत्वपूर्ण घडिमा तपाइँहरूले अन्तरआत्माको आवाज सुनेर उपयुक्त निर्णय लिनुहुनेमा हामी निश्चिन्त छौं, उनले भनेका छन् ।

‘समृद्ध नेपालगन्ज–डुडुवा’ को नारामा नेपालगन्जसँग डुडुवा जोड्ने एमाले उम्मेदवार मो. इस्तियाक राईको प्रतिबद्धता

यी हुन् राईका प्रतिबद्धता

बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले ‘प्रतिबद्धता पत्र–२०८२’ सार्वजनिक गर्दै दिगो विकास, सुशासन, रोजगारी सृजना र सामाजिक न्याय केन्द्रित कार्यक्रममार्फत नेपालगन्ज–डुडुवाको सुरक्षित, समृद्ध र अवसरयुक्त भविष्य निर्माण गर्ने मार्गचित्र अघि सारेका छन् ।

सोमवार नेकपा एमाले निर्वाचन परिचालन समितिले आयोजना गरेको कार्यक्रममा उम्मेदवार राईले विकास निर्माणदेखि नीतिगत सुधारसम्मका विस्तृत योजना सार्वजनिक गर्दै मतदातासमक्ष आफ्नो एजेन्डा प्रस्तुत गरेका हुन् ।

राईले पूर्वाधार तथा सहरी विकासअन्तर्गत आधुनिक क्रिकेट स्टेडियम निर्माण गरी नेपालगन्जलाई क्रिकेटको केन्द्रका रूपमा पुनर्पहिचान दिलाउने, नेपालगन्ज रङ्गशालामा फुटबलसहित अन्य खेलका सुविधा विस्तार गर्ने तथा नेपालगन्ज–नयाँ दिल्ली सीधा हवाई उडान सञ्चालनका लागि संरचनागत विकास र कूटनीतिक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपालगन्ज चक्रपथ (रिङरोड) आयोजना कार्यान्वयन, शिलान्यास भइसकेका स्थानमा आकाशे पुल निर्माण, आधुनिक सुविधासम्पन्न पार्क स्थापना, राप्ती नदी तथा डुडुवा खोलामा तटबन्ध निर्माण, सिक्टा सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गरी क्षेत्र नं. २ सम्म सिँचाइ विस्तार, राप्ती नदीको पानी नेपालगन्जसम्म ल्याई शुद्ध खानेपानीको पहुँच सुनिश्चित गर्ने लगायत योजना उनले अघि सारेका छन् । यसैगरी, वेतहनी–होलिया–चौफेरी–नरैनापुर सडक तथा आवश्यक पुल निर्माण, प्रदेश र स्थानीय सरकारसँग समन्वयमा सडक विस्तार, विद्युत समस्याको दिगो समाधान, नेपालगन्ज–नरैनापुर–दाङ सडक निर्माणको पहल तथा योजनाबद्ध सहरी विकासलाई प्राथमिकतामा राखिएको छ ।

औद्योगिक, व्यापारिक र रोजगारी विकासतर्फ नौबस्ता औद्योगिक क्षेत्र पाँच वर्षभित्र पूर्ण सञ्चालनमा ल्याउने, कूटनीतिक पहलमार्फत एकीकृत भन्सार जाँच चौकी (आईसीपी) लाई सुख्खा बन्दरगाहका रूपमा विकास गर्ने, युवालाई स्थानीयस्तरमै रोजगारी सृजना गर्ने संरचना निर्माण, रिटर्नी युवालाई सीपअनुसार रोजगारी तथा सहुलियत ऋण उपलब्ध गराउने, कृषि उत्पादनका लागि व्यवस्थित बजार संरचना र विद्युत महसुलमा थप सहुलियत सुनिश्चित गर्ने योजना समेटिएका छन् ।

शिक्षा क्षेत्रअन्तर्गत नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका सामुदायिक विद्यालयमा सुविधासम्पन्न भवन तथा डिजिटल शिक्षण प्रणालीसहित स्तरोन्नति गर्ने, महेन्द्र बहुमुखी क्याम्पसको पूर्वाधार विकास र जमिनको सदुपयोग, क्याम्पसलाई क्षेत्रीय विश्वविद्यालयका रूपमा विकास गर्ने पहल, लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा प्राप्ति र आधुनिक संरचना निर्माण, सामुदायिक विद्यालयमा स्वास्थ्यकर्मी अनिवार्य राख्ने कानुनी व्यवस्था, शिक्षकहरूको वृत्ति विकास, सामाजिक सुरक्षा कोषमा समावेश, भेरी प्राविधिक शिक्षालय स्तरोन्नति तथा महेन्द्र पुस्तकालयको आधुनिकीकरणका योजना उल्लेख छन् ।

स्वास्थ्य क्षेत्रतर्फ भेरी अस्पतालमा चिकित्सक तथा प्राविधिक दरबन्दी थप, स्वास्थ्य बीमा प्रभावकारी बनाउने, पालिकास्तरका अस्पताल स्तरोन्नति, प्रसूति सेवा विस्तार, स्नातकोत्तर तहको चिकित्सा शिक्षा सञ्चालन, न्यूरो र मुटु रोग उपचारको विशेष व्यवस्था, ट्रमा सेन्टर सञ्चालन, रोकिएको पूर्वाधार विकास कार्य अघि बढाउने, अत्याधुनिक मर्चरी सेवा सुदृढीकरण तथा शुशील कोइराला क्यान्सर अस्पतालको स्तरोन्नतिलगायत कार्यक्रम समेटिएका छन् ।कृषि तथा अनुसन्धानअन्तर्गत खजुरास्थित कृषि अनुसन्धान केन्द्रलाई राष्ट्रिय कृषि अनुसन्धान प्रवद्र्धन एकेडेमीका रूपमा विकास गर्ने, मलखाद, बीउ, सिँचाइ, आधुनिक औजार र प्रविधिको व्यवस्था, व्यवसायिक कृषि र भण्डारण संरचना विकास गर्ने प्रतिबद्धता जनाइएको छ । सामाजिक सुरक्षाअन्तर्गत औपचारिक तथा अनौपचारिक क्षेत्रका मजदुरलाई सामाजिक सुरक्षा कोषमा समावेश, बीमा, पेन्सन, स्वास्थ्योपचार तथा सहुलियत ऋण सुविधा उपलब्ध गराउने तथा ज्येष्ठ नागरिकका लागि पुष्प वाटिका निर्माण गर्ने योजना राईको प्रतिबद्धतामा उल्लेख छ ।

धर्म–संस्कृति संरक्षणतर्फ बागेश्वरी, गोबर्धनधाम, सन्तानेश्वर, वर्फानी बाबा, कम्मरसा बाबालगायत धार्मिक आस्थाका केन्द्रको प्रवद्र्धन, धार्मिक पर्यटन विकास, सिधनिया घाटस्थित बैकुण्ठधाम निर्माणलाई पूर्णता, राष्ट्रिय विभूति शंखधर साख्वा बहुआयामिक पार्क निर्माण पहल समावेश छन् ।

पर्यटन विकासका लागि पूर्वाधार सुदृढीकरण, नाथम कलेज पुनः सञ्चालन, पर्यटन प्रहरी व्यवस्थापन, सीमावर्ती पर्यटकमैत्री सेवा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै हिल्सासम्म सडकमार्ग विस्तारको पहल उल्लेख गरिएको छ ।

सुशासन र प्रविधि विकासतर्फ ‘नो लाइन, अनलाइन’ सरकारी सेवा प्रणाली लागू गर्ने, भ्रष्टाचारमुक्त सेवा प्रवाह, मालपोत प्रक्रियामा कानुनी तथा प्रशासनिक सहयोगका लागि सरकारी डेस्क स्थापना गर्ने योजना अघि सारिएको छ । सामाजिक न्याय र समावेशी विकासअन्तर्गत महिला सशक्तीकरण कार्यक्रम, विधवा तथा एकल महिलालाई सीप र रोजगारीमा जोड्ने तथा विशेष सामाजिक सुरक्षा व्यवस्था गर्ने एमाले उम्मेदवार राईको प्रतिबद्धता छ ।

व्यवस्थित बसोबासतर्फ भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन, लालपुर्जा वितरण तथा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा जंगली जनावरबाट हुने क्षति रोक्न सुरक्षात्मक कार्यक्रम सञ्चालन गर्ने योजना राईको प्रतिबद्धतामा समेटिएको छ ।राईले नीतिगत सुधारअन्तर्गत गरिबी न्यूनीकरण, निःशुल्क गुणस्तरीय शिक्षा, पोषण र स्वास्थ्य सेवा, वयस्क साक्षरता अभियान, अन्तरधार्मिक संवाद, सहरी व्यवस्थापन सुधार, युवा उद्यमीलाई शून्य ब्याजदर ऋण, लागुऔषध नियन्त्रणका कडा नीति तथा पुनस्र्थापना कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘समृद्धितर्फको पाइला चालौं, दिगो विकासको जग बसालौं’ भन्ने नारासहित उनले राष्ट्रियता संवद्र्धन, समावेशी विकास र सामाजिक सद्भावका लागि नेकपा एमालेमा मतदान गर्न आह्वान पनि गरेका छन् ।एमाले निर्वाचन परिचालन क्षेत्रीय संयोजक भाष्कर काफ्लेको अध्यक्षतामा गरिएको कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष निरक गुरुङले राष्ट्र, राष्ट्रियताका हितमा आफ्नो पार्टीलाई समर्थन गर्न आग्रह गरे ।

Exit mobile version