नेपालगन्ज उपमहानगरपालिका भित्रका २० वटा माध्यमिक विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम सञ्चालनमा आएको छ । विद्यालयलाई क्रमशः फोहोरमुक्त बनाउने उद्देश्यले सुरु गरिएको कार्यक्रम बास नेपालले ‘ग्रीन नेपालगन्ज ः सामुदायिक फोहोर रूपान्तरण परियोजना’ अन्तर्गत कार्यान्वयन गरिरहेको हो ।परियोजनाअन्तर्गत २० विद्यालयमा १० जना सहजकर्ताले कक्षा सञ्चालन गरिरहेका छन् । कक्षा सुरु गर्नुअघि उनीहरूलाई प्रशिक्षक प्रशिक्षण प्रदान गरिएको थियो। प्रत्येक कक्षामा करिब ४० विद्यार्थी सहभागी छन् ।सहजकर्ता माधव कार्कीका अनुसार फोहोर व्यवस्थापनसम्बन्धी सात विषयमा कक्षा सञ्चालन भइरहेको छ। फोहोरको आधारभूत परिचय र व्यवहारिक अभ्यास, फोहोर वर्गीकरण, तीन ‘आर’ विधि, फोहोरबाट कम्पोस्ट उत्पादन, फोहोर जलाउँदा हुने असर, विद्युतीय फोहोर व्यवस्थापन तथा फोहोर र जलवायु परिवर्तनबीचको सम्बन्धबारे अध्ययन गराइँदै आएको छ ।कक्षामा न्युजप्रिन्ट, मेटाकार्ड र प्रोजेक्टरको प्रयोग गरी अन्तरक्रियात्मक ढंगले सहजीकरण गरिँदै आएको छ। विद्यार्थीहरू उत्साहका साथ सहभागिता जनाइरहेका छन् भने समूहगत अभ्यासले उनीहरूमा व्यवहारिक सिकाइ बढाएको शिक्षकहरूको भनाइ छ ।विद्यालयस्तरमै फोहोर व्यवस्थापनसम्बन्धी सचेतना अभिवृद्धि गरिएपछि विद्यार्थीमार्फत घरपरिवार र समुदायमा सरसफाइ तथा दिगो जीवनशैली प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।बासका अनुसार, कार्यक्रममा द कोकाकोला फाउण्डेसनको आर्थिक सहयोग तथा स्वच्छ सफा नेपालको प्राविधिक सहयोग रहेको छ । उपमहानगरपालिकाको शिक्षा शाखाको समन्वयमा विद्यालय छनोट गरी अभियान अगाडि बढाइएको परियोजना संयोजक मन भण्डारीले जानकारी दिए ।परियोजनाअन्तर्गत देउतादिन मावि, ज्ञानसागर मावि, महेन्द्र मावि, अनाथलय गौसिया मावि, आदर्श मावि, युद्ध संस्कृति मावि, नारायण मावि, महाराजा मावि, आएसा मदरसा मावि, जगतज्योति मावि, मंगलप्रसाद नमुना मावि, मावि महेन्द्रनगर, जय जनता मावि, धम्बोजी मावि, फुलटेक्रा मावि, नेपालगन्ज कन्या मावि, सरस्वती मावि, नेपाल राष्ट्रिय मावि, दारुल उलुम बर्सतिया मावि र जय बागेश्वरी माविमा कार्यक्रम सञ्चालन भइरहेको परियोजना अधिकृत रबिन्द्र बोहराले बताए ।‘बिद्यार्थीहरुले उत्साहका साथ कक्षा लिईरहेका र समुहकार्यले बिद्यार्थीहरु निकै उत्साहित भएको पाइएको छ,’ परियोजना अधिकृत बोहराले दैनिक नेपालगन्जसँग भने, ‘बिद्यालय स्तरबाटै बालबालिकाहरुले फोहार ब्यवस्थापनको विषयमा शिक्षा लिई घरपरिवार र समुदायमा सरसफाई गर्न मद्धत पुग्ने विश्वास छ ।’






























