नाट्टा बाँके च्याप्टरले आफ्ना सदस्य पर्यटन व्यवसायीहरू बीच बिहीबार ‘फ्यामिली फेलोसिप’ आयोजना गरेको छ । पर्यापर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन भैरहेको कोहलपुर खड्गवार स्थित पार्कमा आयोजना गरिएको वनभोजसँगैको फेलासिपमा जिल्लाका दुई दर्जन ट्राभल एजेन्सी कम्पनीको पारिवारिक जमघट गरिएको हो । ‘पारिवारिक रूपमा पेशाको अन्तरमन्थन र मनोरञ्जनलाई एकसाथ अगाडि बढाएर व्यवसायलाई सिर्जनात्मक ढंगले विकास गर्न खोजिएको हो’, आयोजक नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्ली राज रेग्मीले भने । नाट्टाका बाँके च्याप्टर संस्थापक अध्यक्ष श्रीराम सिग्देलले बाँकेका धेरै पर्यटकीय सम्भावनाको खोजी बाँकी नै रहेको औंल्याउँदै बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पनि पर्यापर्यटनका लागि उत्तिकै महत्वपूर्ण रहेको बताए । ‘पर्यटन व्यवसाय गर्न पारिवारिक रूपमा पहिले पर्यटन बुझ्न र बुझाउन जरुरी छ’, फ्यामिली फेलोसिपले त्यो आवश्यकतालाई परिपूर्ति गर्ने औंल्याउँदै सिग्देलले भने । नाट्टाका महासचिव भागिराम ओलीले सहजीकरण गरेको कार्यक्रममा सहभागीहरू बीच विभिन्न सिर्जनात्मक अभ्यास तथा मनोरञ्जनात्मक प्रतिस्पर्धा गरिएका थिए ।





























