पश्चिम नेपालमै ठूलो साइकल इभेन्टका रूपमा रहेको टुर दि ठाकुरद्वाराको आठौं संस्करण आज शुक्रबार प्रसिद्ध शक्तिपिठ नेपालगन्ज स्थित बागेश्वरी मन्दिरबाट शुभारम्भ हुँदैछ । २ सय ५० सहभागी सहित करिब ३ सय साइकल यात्री टुर दि ठाकुरद्वारामा सहभागी हुन नेपालगन्ज आइपुगेको आयोजक नेपालगन्ज साइक्लिङ क्लबका निवर्तमान अध्यक्ष समेत रहेका कार्यक्रम संयोजक प्रदिप सापकोटाले जानकारी दिए । ‘यसपटक रुट परिवर्तन भएकाले आयोजना विशेष छ’, सापकोटाले पर्यापर्यटनका लागि पर्यायजस्तै बनेको टुर दि ठाकुरद्वारा विश्वभर चिनाउने उद्देश्य साथ अगाडि बढेको दाबी गर्दै भने, ‘यस बर्षपनि भारतबाट खेलाडीहरूको उत्साहजनक सहभागिता छ ।’आयोजक क्लबका अध्यक्ष कविराम बुढाथोकीले नेपालगन्ज आइपुगेका खेलाडीहरूलाई स्वागत, सत्कार गर्ने काम भैरहेको बताए । ‘खेलाडीहरूको व्यवस्थापन र आयोजनाको तयारीलाई निकै उत्साहप्रद ढंगले अगाडि बढाइरहेका छौं’, प्रचार संयोजक विष्णु कंडेलले दैनिक नेपालगन्जसँग भने । उनका अनुसार, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र विश्व साइकल यात्री पुष्कर शाहले टुर दि ठाकुरद्वारा समुद्घाटनको कार्यक्रम तय गरिएको छ ।





























