‘प्रहरी कर्मचारीको पारिश्रमिक वृद्धि गराउन नीतिगत पहल गर्छु’
नेकपा एमालेबाट बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्देवार मोहम्मद इश्तियाक राईले आफ्नो निर्वाचन क्षेत्रका धार्मिक-सांस्कृतिक धरोहरहरूको संरक्षण र सम्बर्द्धनमा आफू प्रयत्नरत रहेको बताउनुभएको छ। आज नेपालगन्ज र डुडुवाका विभिन्न वडाहरूमा घरदैलो तथा समूहगत छलफलका क्रममा उम्मेदवार राईले फरक धर्म-संस्कृतिहरू बीच पारस्परिक सम्मान र सद्भाव अभिवृद्धि गर्दै निर्वाचन क्षेत्र नं २ को बेग्लै परिचय स्थापित गर्ने आफ्नो सोच सुनाउनुभयो।
सामाजिक समबन्धमा मधुरता र खुसहाल वातावरण बनाउन सकेमा नेपालगन्जमा धार्मिक-सांस्कृतिक पर्यटनले बढावा पाउने पनि वहाँको भनाई थियो। नेपालगन्ज र डुडुवालाई आफूले सधैं समान व्यवहार गर्ने गरेको जिकिर गर्दै राईले नेपालगन्ज र डुडुवाबीच पारस्परिकता अझैं बलियो बनाउन आफू प्रयत्नरत रहेको बताउनुभयो।
यसैबीच राईले आजै नेपाल पूर्व प्रहरी संगठनका सदस्यहरूसँग नेपालगन्जमा छलफल गर्नुभएको छ। वहाँले आफू निर्वाचित भएपछि प्रहरीहरूको सेवासुविधा समयानुकूल बनाउन नीतिगत पहल गर्ने आश्वासन दिनुभयो। प्रहरी कर्मचारी र उनीहरूका परिवारको सहज जीवनयापन हुनसक्ने गरी पारिश्रमिक बृद्धि अत्यावश्यक भइसकेको पनि राईको भनाई थियो। राईले आर्थिक अनियमितता रोक्न पनि प्रहरी कर्मचारीहरूको सुविधामा बढोत्तरी गर्नुपर्ने बताउनुभयो।






























