बाँके क्षेत्र नम्बर २ का एमालेका नेता तथा कार्यकर्ता यतिबेला खुशी देखिन्छन् ।
एमालेले कहिल्यै जित्न नसकेको यो क्षेत्रमा झव्यक्तिगत रुपमै बलियो’ रहेका मोहम्मद इस्तियाक राई एमालेमा आएर उम्मेदवार बनेपछि एमालेका नेता तथा कार्यकर्ता उत्साहित भएका हुन् ।
पश्चिम नेपालको चर्चित नेपालगन्ज शहर र डुडुवा गाउँपालिका समेटिएको क्षेत्र नम्बर २ मा राईको उपस्थितिले एमालेमात्रै बलियो भएको छैन, यसपालीको चुनाव स्पष्ट रुपमा जित्ने आधार बनेको छ ।
एमालेका नेता तथा कार्यकर्ताहरु क्षेत्र नम्बर २ ले पहिलो पटक एमालेले सांसद पाउन थालेको प्रतिक्रिया दिन थालेका छन् ।
एमाले बाँके अध्यक्ष निरक गुरुङ भन्नुहुन्छ, ‘यसपाली हामी इतिहास रच्ने गरी उच्च मनोबलका साथ लागिपरेका छौं।’ अध्यक्ष गुरुङ नेपालगन्ज निवासी हुनुहुन्छ । उहाँले लामो समय डुडुवा क्षेत्रमा पार्टी काम गर्नु भएको छ । ’दुबै क्षेत्रमा काम गरेको अनुभवका आधारमा म के ढुक्क छु भने यसपटक हामी यहाँ जित्छौं, गुरुङले थप्नुभयो, ’बाँके–२ मा हामीले यसपटक जित्नैपर्छ भन्ने मनोबिज्ञानका साथ काम गरिरहेका छौं ।’
एमाले नेपालगन्ज नगर समितिका अध्यक्ष मोहित शाह एमालेको सांगठानिक पकड र राईको स्थिर मतलाई जित्ने आधार देख्नु हुन्छ । उहाँले भन्नुभयो, ’बिगतमा पनि अनेक चुनौती थिए । तर पनि पार्टीको पक्षमा स्थिर मत खस्दै आएको छ । त्यो सहित उम्मेदवारको ब्यक्तित्व र उहाँले गर्नु भएको कामलाई मन पराउने मतदाताको संख्या उल्लेख्य रहेकाले हामी प्लसमा छौं ।’
निरन्तर घरदैलोमा पुगिरहेका शाहले एमालेको मत कुनै भावनामा बगेर अन्त जाने सम्भावना नरहेको बताउनुभयो । शाहले थप्नुभयो, ’त्यो लहडले हामीलाई छोएको छैन । त्यो कुरा फागुण २१ मा प्रमाणित हुन्छ ।’
नेपालगन्ज –१२ का हेमराज गौतमले टोलटोलमा जादा एमाले र हाम्रो उम्मेदवार राईप्रति सकारात्मक प्रतिक्रिया दिइरहेको बताउनुभयो । मतदाताको प्रतिक्रियाले एमाले नेता तथा कार्यकर्ता हौसिएको बताउनुभयो ।
२०७९ सालको चुनावमा गठबन्धन गरेर राप्रपाका धवलशमशेर राणालाई जिताउँदा एमालेको समानुपातिकमा ९ हजार ३ सय ४५ मत थियो । त्यतिबेला पराजित भएका राईले २३ हजार ५ सय २० मत ल्याउनु भएको थियो । राईले २०७४ मा जित्दा २१ हजार ५ सय ७५ ल्याउनु भएको थियो । जित्दाखेरी भन्दा हार्दा राईले धेरै मत ल्याउनु भएको थियो । गएको चुनावमा राईलाई पराजित गर्न सबै पार्टी एकातिर थिए भन्दा हुन्छ । अहिले त्यस्तो छैन । दलहरु एकल प्रतिस्पर्धामा छन् । एकल प्रतिस्पर्धा हुने भएकाले बिगतको भन्दा राईलाई सहज देखिन्छ । ‘चुनावमा चुनौती नै हुँदैन भन्ने छैन । तर बिगतमा जसरी गठबन्धन हुन्थ्यो त्यो अहिले छैन,’ एमाले नगर कमिटी अध्यक्ष शाहले भन्नुभयो, ‘बिगतको मत, सांगठनिक अवस्थाका कारण हामी जित्छौं ।’
यो क्षेत्रका निर्वाचन परिचालन समितिका संयोजक भाष्कर काफ्ले ’यसपटक बाँके–२ बाट सांसद जिताउनैपर्ने नेता कार्यकर्ताको मनोबिज्ञान’ सबैभन्दा महत्त्वपूर्ण लागेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,’बिगतको भन्दा यसपटक परिस्थिति फरक छ । आम नेता कार्यकर्तामा बाँके–२ बाट एमालेले सांसद जिताएर संसदमा पठाउनुपर्छ भन्ने मान्यता बोकेर हिडेका छन् ।’
मन्त्री हुँदा राईले गरेको कामले पनि मतदाता आकर्षित छन् ।
यो क्षेत्रमा नेपाली काँग्रेसबाट सुधांशु कोइराला, रास्वपाबाट विवेक श्रेष्ठ, राप्रपाबाट ऋषिराज देवकोटा, नेपाली कम्युनिस्ट पार्टीबाट दिपेन्द्र विष्टलयागत २० जना उम्मेदवार छन् । काँग्रेस सुशील कोइराला र राप्रपा धवलशमशेरको बिरासत फर्काउन र जोगाउन लागि पर्दा रास्वपा र नेकपा पनि ईतिहास रच्न लागि परेको छ ।





























