सन विम स्कुलले मनायो २३औं बार्षिकोत्सव

नेपालगन्ज उपमहागनरपालिका वडा नं. १ वाटरपार्कमा रहेको सन विम इङ्गलिस मिडियम स्कुलले शुक्रबार आफ्नो २३औं बार्षिकोत्सव भव्य कार्यक्रम बीच मनाएको छ । विद्यालयका अभिभावक, संस्थापक, कर्मचारी, शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रममा विद्यालयमा आबद्ध वक्ताहरूले सबैको अथक मेहनत, प्रयास र विश्वासले विद्यालय २३औं बर्षसम्म आइपुगेको धारणा राखेका थिए ।

विद्यालयका अध्यक्ष इश्वर प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि, शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख धनसुदन चौलागाईले पाठ्यक्रम बाहेक पनि विद्यार्थीहरूको क्षमता विकासका लागि अतिरिक्त क्रियाकलापमा सहभागी गराउन आवश्यक रहेको बताएका थिए । उनले विद्यार्थीहरूलाई सानै उमेरदेखि खेल्दै सिक्दै वातावरणका लागि भौतिक कापि, किताब भन्दा भौतिक सामाग्रीको प्रयोग गर्न आवश्यक रहेको बताएका थिए । ‘स–साना बालबालिकाले सानो कक्षाबाट नै सिकिसकेपछि के सिके भन्ने थाहा पाउने वातावरण विद्यालयमा हुनुपर्छ’, उनले भने, ‘यसले विद्यार्थीहरूको विद्यालय प्रति आकर्षण बढ्छ र पछि आफुले सिकिसकेको कुरा पाठ्यक्रममा रहेको थाहा पाउन सक्छन् ।’

प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख चौलागाईले निजी विद्यालयले आफ्नै लगानीमा शिक्षामा योगदान पुर्याइरहेकोमा प्रशंसा गरेका थिए । उनले सबैले गुणस्तरीय भनिरहँदा अब त्यसको मापदण्ड के भन्ने निर्धारण हुनुपर्ने बताए । ‘कस्तो जनशक्ति उत्पादन हुँदा गुणस्तरीय शिक्षा भन्ने सोच्नुपर्छ ?’, अबको समयमा सर्टिफिकेट सँगै अन्य क्रियाकलाप पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले भने, ‘गुणस्तरीय शिक्षाको मापदण्ड वैज्ञानिक हुनुपर्छ ।’ उनले अभिभावकको इच्छा आफ्ना बालबालिकाको अध्ययन पूरा गर्दा रोजगारी र भविष्य सुनिश्चित हुनुपर्छ भन्ने रहेको हुने बताउँदै गुणस्तीय शिक्षा सन्तुष्ट अभिभावक हुनसक्ने उल्लेख गरे ।
प्रमुख अतिथि चौलागाईले आफ्ना बालबालिकाले पनि सुरुवाती अवस्थामा सन बिममा अध्ययन गरेको उल्लेख गर्दै विद्यालयले कन्टेन्टसँगै अध्यापनमा प्रविधि तथा व्यवहारिक अभ्यास विद्यार्थीहरूलाई गराइराखेको विश्वास व्यक्त गरे ।

विद्यालयका प्राचार्य सन्त बहादुर मल्लले विद्यालयमा भयरहित रूपमा विद्यार्थीले सुरक्षित महसुस गरी प्रश्न सोध्ने वातावरण बनाइएको बताए । त्यसका लागि विद्यालयको सम्पूर्ण टिम खटिएको जानकारी दिंदै प्राचार्य मल्लले अभिभावक, विद्यार्थीको विश्वास विद्यालयप्रति रहेको बताए । ‘हामी परीक्षामूखि शिक्षामा मात्रै विश्वास गर्र्दैनौं’, उनले भने, ‘जीवनउपयोगी शिक्षाका लागि विद्यार्थीको क्षमता अभिवृद्धिका लागि अतिरिक्त क्रियाकलापमा पनि जोड दिन्छौं ।’

‘विद्यार्थीलाई मानसिक रूपमा बलियो बनाउन उद्देश्यले उनीहरूको भविष्य निर्माणमा लागिरहेका छौं’, उनले भने, ‘त्यो उद्देश्य प्राप्तिका लागि सबै पक्ष एकठाउँमा हुँदा उपलब्धी हुन्छ ।’ उनले विद्यालय व्यवस्थापन, शिक्षक, अभिभावक र विद्यार्थीको प्रयासले मात्रै उपलब्धी प्राप्त हुने बताएका थिए ।

प्राचार्य मल्लले विद्यार्थीका लागि अवसर उपलब्ध गराउने र वातावरण तयार विद्यालयले गर्ने बताउँदै विद्यार्थीहरूले मेहनत गर्नुपर्ने बताएका थिए । ‘समान अवसर र वातावरणमा पनि विद्यार्थीहरू बीच प्राप्त परिणाम फरक हुने गरेको छ, त्यसैले विद्यार्थीले मेहनत गर्नुपर्छ, अभिभावकले विद्यार्थीको निगरानी गर्नुपर्छ, विद्यालयलाई सुझाव दिनुपर्छ’, उनले भने ।

विद्यालयका विभिन्न कक्षाका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति राखेको कार्यक्रममा बोल्दै विद्यालयका लेखा समिति सदस्य महेश्वर जोशीले विद्यालयको बार्षिकोत्सव विद्यालयका भएका गतिविधिको समिक्षा गर्ने, विद्यार्थीको प्रतिभा मूल्यांकन गर्ने दिन पनि भएको बताए । उनले जीवनउपयोगी शिक्षा आवश्यक रहेको भन्दै त्यस तर्फ विद्यालय अगाडि बढेको धारणा राखेका थिए ।

विद्यालयका विद्यार्थीहरूले आफैले तयार गरेको खानाका परिकारहरूको स्टल राखेको कार्यक्रममा बोल्दै नेपाल व्यापार उद्योग महासंघ लुम्बिनीका अध्यक्ष तारा रोकायले विद्यालय आजसम्म आइपुग्दा प्रशंसा गर्न लायक भएको बताएकी थिइन् ।

विद्यालयका संस्थापक सञ्जय थापाले आजको समयमा शिक्षा सबैभन्दा महत्वपूर्ण विषय भएको बताएका थिए । ‘समयसापेक्ष शिक्षा जरुरी छ’, उनले भने, ‘त्यसैले सानैबाट किताबी ज्ञान सँगै व्यवहारिक ज्ञान पनि सिकाउन आवश्यक छ ।’ उनले अभिभावकको निगरानी र सल्लाह विद्यालयलाई निरन्तर आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा विद्यालयका अभिभावक दिल बहादुर बुढाथोकी लगायतका विद्यालय सम्बद्ध विभिन्न व्यक्ति, अतिथि लगायतले आफ्ना धारणा राखेका थिए ।

बार्षिकोत्सव अवसरमा मनोरञ्जनात्मक खेल र लक्की ड्रको समेत आयोजना गरिएको थियो ।

Exit mobile version