इन्सेक नेपालका अध्यक्ष विजयराज गौतमले इन्सेकले प्रत्येक बर्ष मानवअधिकार उल्लंघनका घटनाको अभिलेखिकरण गरेर राज्यको जवाफदेहिता खोजिरहेको बताएका छन् ।
सोमबार नेपालगन्जमा आयोजित लुम्बिनी प्रदेशको मानवअधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले भाद्र २३ र २४ गते बर्ष कै सबैभन्दा बढी मानवअधिकार उल्लंघनका घटना भएको बताए ।
गत फागुन ७ गते इन्सेकले मानवअधिकार बर्ष पुस्तक सार्वजनिक गरेको उल्लेख गर्दै अध्यक्ष गौतमले बर्ष पुस्तक पीडितले न्यायका लागि उठाएको आवाजको दस्तावेज पनि भएको बताए । उनले इन्सेकको मानवअधिकार बर्ष पुस्तक विश्वसनीय रहेको उल्लेख गर्दै त्यसलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा पनि दस्तावेजका रूपमा स्वीकार गरिंदै आएको बताएका थिए ।
अध्यक्ष गौतमले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउनका लागि नागरिक समाज लाग्नु पर्ने धारणा राखेका थिए ।
इन्सेक नेपालका केन्द्रीय सदस्य अधिवक्ता विकास आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले अभिव्यक्ति स्वतन्त्रता कमजोर हुँदै गएको, मानवअधिकार उल्लंघनका घटना, महिला हिंसाका घटना वृद्धि हुँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए । वक्ताहरूले गत भाद्रमा नवयुवाको ज्यान गएको अवस्था पछि राज्यविहीनताको महसुस गर्नुपरेको उल्लेख गर्दै राज्य बलियो भएमात्रै मानवअधिकारका सवालहरू कार्यान्वयनमा आउन सक्ने बताएका थिए ।
कार्यक्रमका वक्ताहरूले मानवअधिकार उल्लंघनका प्रवृत्तिहरू बदलिंदै गएपनि मानवअधिकार उल्लंघनका घटना न्यूनीकरण हुने भन्दा बढिरहेको बताएका थिए ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जका प्रमुख भोला महतले लुम्बिनीमा मानवअधिकार बर्ष पुस्तकमा समेटिएको लुम्बिनीका मानवअधिकार उल्लंघनका घटनाको तथ्यांक प्रस्तुत गर्दै मानवअधिकारको संरक्षणमा थप प्रयास आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै वरिष्ठ मानवअधिकारकर्मी शोभाखर बुढाथोकीले संविधानले दिएका अधिकार संरक्षण होस् भन्ने चाहना सबैको भएपनि मानवअधिकार उल्लंघनका घटना वृद्धि भैरहेकोमा चिन्ता व्यक्त गरे ।
मानवअधिकार आयोग नेपालगन्ज प्रमुख द्वारिका अधिकारीले इन्सेकको मानवअधिकार बर्ष पुस्तकलाई आयोगले पनि सपोर्ट दस्तावेजका रूपमा लिने गरेको बताइन् ।
अधिकारकर्मी बसन्त गौतमले दण्डहीनताका बढेको भन्दै मानवअधिकार उल्लंघनका घटनामा कानुनी कारवाही हुनुपर्ने धारणा राखेका थिए । उनले मानवअधिकार उल्लंघनका घटनामा सशक्त आवाज उठाउन आवश्यक रहेको बताए ।
त्यस्तै, अधिकारकर्मी फेडो बाँकेका अध्यक्ष निर्मला सुनारले महिला अधिकार उल्लंघनका घटना बढेकोमा चिन्ता व्यक्त गर्दै न्यूनीकरणका लागि सबैको प्रयास आवश्यक रहेको बताइन् ।
अधिवक्ता प्रल्हाद बहादुर कार्कीले मानवअधिकारको अवस्था भयावह रहेको टिप्पणी गरे । तर, त्यसप्रति राज्य गम्भीर नभएको व्यवहारले देखाएको उल्लेख गर्दै मानवअधिकार संरक्षणका लागि धेरै काम गर्न बाँकी रहेको बताएका थिए ।
अधिवक्ता लोक बहादुर शाहले गत भाद्र २३, २४ गते नवयुवाको प्रदर्शनमा ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबेला सबैले राज्यविहीनताको अवस्था महसुस गरेको उल्लेख छ । ‘अब त्यस्तो अवस्था दोहोरिनु हुँदैन’, उनले भने । उनले राज्यबाटै मानवअधिकारका उल्लंघनका घटना हुनु लोकतन्त्रमा स्वीकार्य विषय नभएको बताए ।
नागरिक समाजका प्रकाश उपाध्यायले अभिव्यक्ति स्वतन्त्रमा कमी आएको धाराणा राखे । लोकतन्त्रमा बोल्न, लेख्न पाउने अधिकारमा अंकुश लाग्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
विभिन्न क्षेत्रका प्रतिनिधिमूलक व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक महतले सन् २०२५ मा लुम्बिनीमा मानवअधिकारका घटनामा १ हजार ९ सय १६ जना पीडित भएको उल्लेख गरे । उनले रुकुम पूर्वमा १५, रोल्पामा ३७, प्यूठान २०, गुल्मीमा ६८, अर्घाखाँचीमा ५७, पाल्पामा ५२, नवलपरासी पश्चिम ७७, रुपन्देहीमा ५ सय ९९, कपिलवस्तु मा ३ सय ९५, दाङमा १ सय ७६, बाँकेमा २ सय ५१ र बर्दियामा १ सय १६ जना पीडित भएको अभिलेखिकरण गरिएको जानकारी दिए ।































