रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका किसान अजयकुमार यादव परम्परागत तरिकाले गहुँखेती गर्दै आउनुभएको थियो । भारतीय सीमा क्षेत्रसँग नजिक भएकाले उहाँले भारतबाट गहुँको बीउ ल्याएर प्रयोग गर्दै आउनुभएको छ । आवश्यक प्राविधिक ज्ञानको अभावमा पर्याप्त उत्पादन लिन पनि सक्नुभएको थिएन । गहुँ उत्पादन राम्रो आम्दानी लिने सोचका साथ यादव राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले आयोजना गरेको उन्नत गहुँखेती प्रविधि तालिममा सहभागी हुनुभयो ।
तालिमका क्रममा उहाँले उन्नत जातको प्रमाणित बीउ छनोट गर्ने विधि, छर्ने तरिका, सन्तुलित मलखाद व्यवस्थापन, समयमै सिँचाइ, रोग तथा कीरा व्यवस्थापन र उत्पादन वृद्धि गर्ने आधुनिक अभ्यासबारे प्राविधिक ज्ञान हासिल गर्नुभयो । एकहप्ते तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्नेमात्र होइन, गाउँका अन्य किसान दाजुभाइलाई समेत सिकाउने प्रतिबद्धता यादवले व्यक्त गर्नुभएको छ ।
रुपन्देहीमा आयोजना गरिएको तालिममा २४ जिल्लामा २५ जना किसानको सहभागिता थियो । तालिममा किसानबाहेक १५ जना सम्बन्धित विषयका विद्यार्थीहरू पनि तालिममा सहभागी थिए । एक हप्तासम्म किसानलाई सैद्धान्तिक र प्रयोगात्मक विधिबाट उन्नत गहुँखेती प्रविधि तालिम सिकाइएको थियो । तालिममा सहभागी अधिकांश किसानलाई नयाँ विकास गरिएका गहुँका जातबारेसमेत थाहा थिएन । अधिकांशलाई कुन जातको गहुँको बीउ छरेको भन्ने पनि थाहा नभएको अनुभव सुनाए ।
तालिमा उपयुक्त जात छनोट कसरी गर्ने, बीउ उपचार, समयमै रोपाइँ, लाइनमा छर्ने विधि सिकाइएको थियो । माटो परीक्षण गरेर सन्तुलित मलखाद कसरी प्रयोग गर्ने, सिँचाइ व्यवस्थापन, रोग र कीरा व्यवस्थापन, झार नियन्त्रण, कटानी र भण्डारणजस्ता कुरा किसानलाई सिकाइएको भैरहवा राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमका संयोजक डा रोशन बस्नेतले बताउनुभयो ।
नेपाल कृषि अनुसन्धान परिषद् बाली तथा बागवानी अनुसन्धान निर्देशक डा टेकप्रसाद गोतामेलेका अनुसार राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले खाद्य सुरक्षासँगै पोषण सुरक्षालाई प्राथमिकतामा राख्दै पछिल्लो छ दशकमा ५४ वटा उन्नत गहुँका जात विकास गरेको छ । हाल थप चार जात सिफारिसको चरणमा रहेको र १३ वटा पुराना जात सिफारिस सूचीबाट हटाइएको छ ।
उहाँले अनुसन्धान कार्यक्रमले तराई क्षेत्रका लागि जिङ्क गहुँ–१, जिङ्क गहुँ–२ र बोर्लग–२०२० तथा पहाडी क्षेत्रका लागि खुमलशक्ति, भेरीगङ्गा र हिमगङ्गा जात विकास गरेको जानकारी दिनुभयो । यी जातमा जिङ्क र आइरनको मात्रा बढी पाइने तथा रोग, कीरा र जलवायु परिवर्तनको असर सहन सक्ने क्षमता उच्च रहेको दाबी गरिएको छ । नयाँ जातबाट प्रतिहेक्टर साढे पाँच टनसम्म उत्पादन लिन सकिने वैज्ञानिकहरूको दाबी छ । वैज्ञानिकहरूका अनुसार उन्नत जात प्रभावकारी रूपमा किसानसम्म पुर्याउन सके र मलखाद तथा सिँचाइको उचित व्यवस्थापन गर्न सके देश गहुँमा आत्मनिर्भरमात्र होइन, निर्यात गर्ने अवस्थासम्म पुग्न सक्छ ।
–––






























