नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति एवम् बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार अमर सिंह पुनले पश्चिम नेपालको गौरव अस्पताल सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको स्तरोन्नति आफनो मुख्य एजेन्डामा रहेको बताएका छन् । पुनले बाँके क्षेत्र नम्बर ३ को जनताले गर्व गर्ने अस्पतालको रुपमा क्यान्सर अस्पतालको व्यवस्थापनमा आफूले पहल गर्ने बताए ।
उनले भने,‘आम नागरिकलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै क्यान्सर अस्पतालको स्तर बढाउन मैले विशेष योजना बनाएर काम गर्नेछु । क्यान्सर अस्पताल बाँके क्षेत्र नम्बर ३ को मात्र नभएर पश्चिम नेपालका हजारौं बिरामीलाई सेवा दिइरहेको अस्पताल हो । यसको समय सापेक्ष भौतिक पूर्वाधार र जनशक्ति बृद्धि गर्न आवश्यक छ ।’
पुनले स्वास्थ्य क्षेत्रलाई आफ्नो मुख्य एजेन्डामा राखेर स्वास्थ्य क्षेत्रको सुदृढीकरणको लागि नीतिगत रुपमा काम गर्ने बताए । उनले दक्ष चिकित्सक, नर्स तथा प्राविधिक जनशक्तिको अभाव स्वास्थ्य सेवाको प्रमुख चुनौती भएको बताउँदै विशेषज्ञ सेवा उपलब्ध गराउन विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उम्मेदवार पुनले स्वास्थ्य क्षेत्रमा देखिने सुधार ल्याउन संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय गर्दै यस क्षेत्रको समग्र स्वास्थ्य क्षेत्रको विकासको लागि काम गर्ने बताए । शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा राज्यले आमजनतालाई सहज हुने सेवा सुविधा उपलब्ध गराउन आफू प्रतिवद्ध रहेको बताए ।































