‘निकासको ऐतिहासिक अवसर निर्वाचन’

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति तथा निर्वाचन परिचालन, प्रचार–प्रसार मूल समिति संयोजक गोपाल प्रसाद अधिकारीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई देशलाई निकास दिने ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।

दैनिक नेपालगन्जसँगको कुराकानीमा उनले विशेष परिस्थितिमा निर्वाचन हुन लागेको उल्लेख गर्दै देश अस्थिरता र संवैधानिक संकटबाट गुज्रिरहेको दाबी गरे । ‘राजनीति प्रदूषित भएको छ, त्यसलाई लिकमा ल्याउने माध्यम नै निर्वाचन हो,’ उनले भने, ‘आम मतदाताले यसलाई निकासको अवसरका रूपमा सदुपयोग गर्नुपर्छ ।’

कार्यवाहक सभापति र निर्वाचन परिचालन समितिका संयोजकको दोहोरो भूमिकामा रहेका अधिकारीले पार्टीका सबै तह र संरचनालाई सक्रिय बनाइएको जानकारी दिए । निर्वाचन आचारसंहिताको पालना गर्दै काँग्रेसका उम्मेदवारलाई जिताउन घरदैलो, भेटघाट र प्रचार कार्यक्रमलाई तीव्र पारिएको उनले बताए ।

केही दिनअघिमात्रै पार्टी सभापति गगन थापालाई नेपालगन्जमा बोलाएर भव्य चुनावी सभा गरिएको र जिल्लाभर काँग्रेसमय वातावरण सिर्जना गरिएको उनको दाबी छ । ‘जिल्लाको समग्र अवस्थाको अनुगमन गरी आवश्यक निर्देशन दिइरहेका छौं,’ उनले भने ।

बाँकेका तीन वटै क्षेत्रमा काँग्रेसका उम्मेदवार उत्साहपूर्वक मैदानमा रहेको अधिकारीले बताए । उनका अनुसार, उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त छन् र मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन् ।

क्षेत्र नम्बर १ मा पार्टी सभापति नारायण प्रसाद गौडेल, क्षेत्र नम्बर २ मा शुधान्सु कोइराला र क्षेत्र नम्बर ३ मा अमर सिंह पुन उम्मेदवार छन् । अधिकारीले तीनै जना योग्य, निष्कलंक र स्थानीय मुद्दामा स्पष्ट दृष्टिकोण भएका व्यक्तित्व भएको बताए ।

युवा पुस्ताको प्रतिनिधित्व गर्दै कोइरालाले स्वच्छ छवि बनाएको र पुन अनुभवी तथा अभिभावकीय भूमिकामा सक्षम रहेको उनको भनाइ छ ।

चुनौती र रणनीति

निर्वाचनमा नयाँ शक्तिका रूपमा उदाएका दल र सामाजिक सञ्जालमार्फत फैलाइने भ्रमपूर्ण सूचनालाई मुख्य चुनौतीका रूपमा उनले औंल्याए । ‘अरुलाई गाली नगरी आफ्ना एजेण्डा प्रस्तुत गर्ने बेला हो,’ उनले भने ।

काँग्रेसले पछिल्लो समय नीति र नेतृत्वमा परिवर्तन गर्दै ‘भिजन १०’सहित नयाँ एजेण्डा अघि सारेको उल्लेख गर्दै उनले भ्रष्टाचार अन्त्य, सुशासन स्थापना र स्थानीय विकासलाई प्राथमिकतामा राखिएको बताए ।

मुख्य एजेण्डा

काँग्रेसका उम्मेदवारहरूले राप्ती नदीको डुवान तथा कटान समस्या समाधान, नेपालगन्जमा रिङरोड निर्माण, बाँके निकुञ्ज आसपासका बस्ती व्यवस्थापन, नौवस्ता औद्योगिक क्षेत्र सञ्चालन र भौतिक पूर्वाधार विकासलाई प्राथमिक एजेण्डा बनाएका छन् । निजी क्षेत्रसँग सहकार्य गरी आर्थिक गतिविधि विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

एकताबद्ध पार्टी

पार्टीभित्र गुटबन्दीको असर नदेखिएको दाबी गर्दै अधिकारीले यसपटक काँग्रेस एक ढिक्का भएर चुनावमा होमिएको बताए । ‘विगतजस्तो अन्तरविरोध छैन, सबैको साझा लक्ष्य उम्मेदवारलाई विजयी गराउनु हो,’ उनले भने ।

यो निर्वाचन सामान्य नभएको उल्लेख गर्दै अधिकारीले लोकतन्त्र सुदृढीकरण, संविधान रक्षा र विकास निरन्तरताका लागि आफ्नो पार्टीका उम्मेदवारलाई मत दिन मतदातासँग अपिल गरे ।

‘संकटमा देशलाई जोगाउने क्षमता काँग्रेसमै छ,’ उनले भने, ‘संयमित र लोकतान्त्रिक शक्ति भएकाले काँग्रेसलाई नै विजयी गराउन आवश्यक छ ।’

Exit mobile version