फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न देशैभर निर्वाचन सामग्रीसहित राष्ट्रसेवक कर्मचारीहरू मतदानस्थलतर्फ प्रस्थान गर्नेक्रम जारी रहेको छ । यसै सन्दर्भमा नेपाल निजामती कर्मचारी संगठन बाँकेले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।
संगठनका अध्यक्ष देवीलाल चौलागाईं र सचिव तेजेन्द्र रोकायाद्वारा हस्ताक्षरित विज्ञप्तिमा बाँके जिल्लामा फागुन १८ गतेदेखि मतदान सामग्री वितरण हुने तथा सोही दिनदेखि मतदान केन्द्र निर्माण, मतदाता परिचय–पत्र वितरण, सर्वपक्षीय बैठक आयोजना, मतदान प्रतिनिधि नियुक्ति, प्रचार–प्रसार निषेधसम्बन्धी सूचना टाँस गर्ने लगायतका कार्यक्रम सुरु हुने उल्लेख गरिएको छ । निर्वाचनमा खटिएका कर्मचारीहरूले मतदान केन्द्रमै रहेर मतदान अघिका सम्पूर्ण क्रियाकलाप सञ्चालन गर्ने र फागुन २१ गते मतदान हुने जनाइएको छ ।
यद्यपि, विद्रोहपछिको परिस्थितिमा हुन गइरहेको निर्वाचनमा विद्रोहको बाछिटा नपरोस् भन्ने संगठनको अपेक्षा रहेको उल्लेख गरिएको छ । निर्वाचनकै मुखमा बाँके जिल्लाका विभिन्न स्थानमा भेटिएका बम तथा विस्फोटक पदार्थ, निर्वाचन लक्षित झडप, घृणाजन्य अभिव्यक्ति र साम्प्रदायिक सद्भावमा आँच पु¥याउने गतिविधिले सुरक्षा संवेदनशीलता बढाएको विज्ञप्तिमा जनाइएको छ ।
निर्वाचनमा खटिएका कर्मचारी र मतदाताको सुरक्षामा सरकारले कुनै सम्झौता नगर्न संगठनले खबरदारी गर्दै भरपर्दो सुरक्षा वातावरण सुनिश्चित गर्न जोडदार माग गरेको छ । विज्ञप्तिमा निर्वाचनलाई लोकतन्त्रको प्राण र जनताको सर्वोच्च सार्वभौमिक अधिकारको अभ्यासका रूपमा व्याख्या गर्दै स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरिएको छ ।
अन्त्यमा, मतदान केन्द्रमा खटिएका राष्ट्रसेवक कर्मचारीहरूले उच्च मनोबलका साथ प्रचलित नियम, कानुन र कार्यविधिले दिएको अधिकार प्रयोग गर्दै कर्तव्य पालनामा दृढ रहनुपर्नेमा जोड दिइएको छ । साथै, विश्वसनीय र प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन नेपाल सरकार, निर्वाचन आयोग तथा सम्बद्ध निकायको पुनः गम्भीर ध्यानाकर्षण गराइएको छ ।
