नेपाल सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको शान्ति–सुरक्षा अवस्था सुदृढ बन्दै गएको बताएका छन् । पश्चिम नेपालमा निर्वाचन पूर्व सरक्षाको जायजा लिन आएका उच्च सुरक्षा अधिकारीसहित आइतवार नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री अर्यालले देशभर निर्वाचनको सकारात्मक माहोल देखिएको बताएका हुन् ।
‘हामी पूर्वतिर पनि गयौं, सबैतिरको रिपोर्टिङ लिइरहेका छौं, मुलुकभर निर्वाचनको माहोल छ,’ बाँकेका सुरक्षा अधिकारीसँग सुरक्षा ‘ब्रिफिङ’ पछि गृहमन्त्री अर्यालले भने, ‘बाँके जिल्लाको अहिलेसम्मको काम–कारबाही सन्तोषजनक छ ।’
गृहमन्त्री अर्यालले जिल्ला सुरक्षा समितिले प्रभावकारी ढंगले जिम्मेवारी निर्वाह गरिरहेको जनाउ दिंदै निर्वाचन विरोधी गतिविधिलाई नियन्त्रणमा लिइएको दाबी गरे । यस पटक दण्डहीनता नहुने स्पष्ट पार्दै उनको भनाइ थियो, ‘आगामी निर्वाचनलाई लक्षित गरी बाँकेमा गरिएको सुरक्षा तयारी प्रभावकारी र व्यवस्थित पाइएको छ ।’
जिल्लाका सुरक्षा निकायका प्रमुखहरूसँगको छलफल तथा स्थलगत जानकारीपछि आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री अर्यालले समग्र शान्ति–सुरक्षा अवस्था, निर्वाचन केन्द्रित रणनीति तथा सम्भावित चुनौतीबारे प्रत्यक्ष जानकारी लिन आफू यहाँ आएको बताएका थिए ।
‘बाँके जिल्लाको आफ्नै विशेषता, यहाँ धार्मिक सहिष्णुताका राम्रा पक्षहरू पनि छन्,’ उच्च सुरक्षा अधिकारीसहित आएका गृमन्त्री अर्यालले भने, ‘कथंकदाचित कहिल्यै गलत तत्व प्रवेश गर्यो भनेपनि त्यसको बेलैमा रोकथाम गरेर पहिचान गर्ने र परिस्थिति नै भड्काउन खोज्यो भने चाहीँ नियन्त्रणमा लिने, कानुनी कारवाही गर्ने प्रक्रिया छ, बाँके जिल्लाले त्यो उदाहरण नै प्रस्तुत गरेको छ ।’ जिल्लास्थित सुरुक्षा अधिकारीबीच उनले भने, ‘त्यस्ता खालका गतिविधि हुन दिनुहुन्न, यहाँको नेतृत्वमा सबै कुराको अपडेट र त्यसको तयारी पनि छ ।’
‘राम्रा अभ्यास भएका छन्, केही चुनौती पनि देखिएका छन्, ती चुनौती समाधानका लागि सुरक्षा निकायले तयार पारेका योजना र रणनीति बुझ्न आएका हौँ,’ गृहमन्त्री अर्यालले भने । जिल्ला सुरक्षा समिति, प्रमुख जिल्ला अधिकारी तथा मुख्य निर्वाचन अधिकृतको कार्यसम्पादनको प्रशंसा गर्दै सम्भावित जोखिमलाई मध्यनजर गरी गरिएको पूर्वतयारी प्रभावकारी देखिएको उनको धारणा थियो ।
देशव्यापी रूपमा सुरक्षा अवस्था मजबुत बन्दै गएको र निर्वाचनको माहोल सकारात्मक रूपमा अघि बढिरहेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले निर्वाचन बिथोल्न खोज्ने समूहप्रति कडा चेतावनी दिए । ‘ती कुनै राजनीतिक दल होइनन्, छुट्टाछुट्टै समूह हुन् । कानुनविपरीत गतिविधि गरी मताधिकारजस्तो लोकतान्त्रिक प्रक्रियामा अवरोध पु¥याउने जोसुकैलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गरिन्छ,’ गृहमन्त्री अर्यालले स्पष्ट पारे ।
सुदूरपश्चिमका विभिन्न जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिन जाने क्रममा गृहमन्त्री अर्यालसमक्ष बाँकेको सुरक्षा अवस्थाबारे पनि ब्रीफिङ्ग गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।
गृहमन्त्रीको भ्रमण टोलीमा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
त्यसै क्रममा बाँकेको धार्मिक सहिष्णुताको प्रशंसा गर्दै उनले यहाँको नेतृत्वले सम्भावित असामाजिक तत्त्वलाई समयमै पहिचान गरी नियन्त्रण गर्न सफल भएको उल्लेख गरे । ‘जेनजी’ आन्दोलनका क्रममा भएका केही घटनाबारे विस्तृत अध्ययन भइरहेको र त्यसका लागि सरकारले समय थप गरेको समेत उनले जानकारी पनि दिए ।
बझाङको निर्वाचन अवस्थाबारे बुझ्न नेपालगन्ज हुँदै प्रस्थान गरेका गृहमन्त्रीले हिमाली जिल्लाहरूमा पनि निर्वाचन सञ्चालनमा कुनै समस्या नरहेको बताए । दार्चुलालगायत हिमाली क्षेत्रमा अस्थायी बसोवास गरिरहेका नागरिकका लागि समेत मतदान केन्द्रको व्यवस्थापन गरिएको जानकारी उनले दिए ।
‘कतिपय ठाउँमा मानिसहरू तल सर्नुभाको छ, त्यस्तो ठाउँमा तलनै मतदान केन्द्र हामीले स्थापित गरेका छौं,’ दार्चुलाको खलंगामामा अस्थायी बसाईसराई गरेको त्यति ठूलो संख्या नरहेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले भने, ‘बसाईसराई गरेको पनि माथिल्लो ठाउँमा मतदानका लागि फर्किरहनु भएको छ । र, त्यहाँ सबै ठाउँमा हामीले सामाग्री पठाइसकेका छौं, कुनै पनि समस्या छैन ।’
गृहमन्त्री अर्यालले समग्रमा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै सबै सरोकारवालालाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे ।
जिल्लाको निर्वाचन तयारी बारे ब्रिफिङ्ग
बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामांगले आइतबार नेपालगन्ज विमानस्थलमा गृहमन्त्री ओमप्रकाश अर्याललाई जिल्लाको समग्र सुरक्षा अवस्थाको बिफ्रिङ्ग गरेका छन् ।
सुरक्षा उच्च अधिकारीसहितको आकस्मिक सुरक्षा बैठकमा प्रजिअ तामाङले जिल्लामा भैरहेको निर्वाचन तयारीका कार्यहरूका साथै सुरक्षा व्यवस्था र चुनौति तथा सामना गर्न गरिएको पूर्व तयारीबारे जानकारी दिएका हुन् । विभिन्न जिल्लामा निर्वाचनको अवस्था बुझ्न र सुरक्षाकर्मीको मनोबल उच्च बनाउन जाने क्रममा नेपालगन्ज आइपुगेका गृहमन्त्री अर्यालले सुरक्षा अवस्था सुदृढ राख्न निर्देशन दिएको प्रजिअ तामांगले जानकारी दिएका छन् ।
