यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेका प्रमुख राजनीतिक दलले शान्तिपूर्ण, निष्पक्ष र मर्यादित निर्वाचनका लागि संयुक्त प्रतिबद्धता जनाएका छन् ।
निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले बाँके क्षेत्र नं २ मा मतदानलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार तथा सरोकारवाला निकायले १० बुँदे निर्णय गर्दै प्रतिबद्धता जनाएका हुन् ।
निर्णयमा मतदान केन्द्रमा प्रवेश गर्दा मतदाताले नेपाली नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र वा सम्बन्धित निकायबाट प्राप्त आधिकारिक परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने उल्लेख छ । शारीरिक रूपमा अशक्त, वृद्धवृद्धा तथा दृष्टिविहीन मतदातालाई आवश्यक सहयोग उपलब्ध गराइने व्यवस्था मिलाइने पनि निर्णय गरिएको छ ।
यस्तै, प्रत्येक उम्मेदवारले मतदान प्रतिनिधि नियुक्त गर्न पाउने र सो प्रतिनिधिले आधिकारिक परिचयपत्र अनिवार्य रूपमा प्रदर्शन गर्नुपर्ने व्यवस्था गरिएको छ । मतदान केन्द्र परिसरमा कुनै पनि प्रकारका प्रचारप्रसारजन्य सामग्री, झण्डा, ब्यानर, नारालगायत सामग्री प्रयोग गर्न नपाइने उल्लेख छ ।
बैठकले मतदान केन्द्रमा शान्तिसुरक्षा कायम राख्न सुरक्षाकर्मी परिचालन गरिने, मतदान अधिकृतको निर्देशन पालना गर्न सबै पक्षलाई आग्रह गर्ने तथा मतदानका क्रममा विवाद उत्पन्न भएमा तत्काल छलफल र समन्वयबाट समाधान गर्ने निर्णय गरेको छ ।
निर्वाचन अधिकृतले सबै मतदातालाई तोकिएको समयभित्र उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबैको सक्रिय सहयोग आवश्यक रहेको बताउनुभएको छ । 