नयाँ सरकार चुन्नका लागि आज बिहीबार मतदाताहरू मतदान गर्दैछन् । आज विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय
छुट्याएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार देशैभर एक करोड ८९ लाख तीन हजार ६ सय ८९ जना मतदाता छन् । जसमा महिलाको मतदाताको संख्या ९२ लाख ४० हजार १ सय ३१, पुरुष मतदाताको संख्या ९६ लाख ६३ हजार ३ सय ५८ र अन्य मतदाताको संख्या २ सय रहेको छ ।
लुम्बिनी प्रदेशमा कुल मतदाता ३३ लाख ८६ हजार ६८० रहेकामा पुरुष १७ लाख १५ हजार १६३, महिला १६ लाख ७१ हजार ४७९ र ३८ जना अन्य मतदाता छन् । यहाँ एक हजार ६७१ मतदान स्थलमा तीन हजार ९९८ मतदान केन्द्र तोकिएका छन् ।
आयोगका अनुसार, देशभर १० हजार ९ सय ६७ ठाउँमा मतदान स्थल निर्धारण गरेको छ भने, २३ हजार १ सय १२ वटा मतदान केन्द्र तोकिएका छन् ।
बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन् । जसमध्ये १ लाख ७२ हजार २२३ महिला, १ लाख ७८ हजार ३३९ पुरुष र ९ जना अन्य मतदाता रहेका छन् । यसमध्ये १ नं. निर्वाचन क्षेत्रमा एक लाख २४ हजार ७२७, निर्वाचन क्षेत्र नं २ मा एक लाख आठ हजार २९० र निर्वाचन क्षेत्र नं ३ मा एक लाख १७ हजार ३५४ मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तीन निर्वाचन क्षेत्र रहेका बाँकेमा १३९ मतदानस्थल र चार सय मतदान केन्द्र निर्धारण गरिएको छ ।





























