विहिवार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेख्य अग्रता कायम गरेको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार, शुक्रबार यो समाचार तयार पारिरहँदासम्म गणना भइरहेका १३५ निर्वाचन क्षेत्रमध्ये १०८ स्थानमा रास्वपाका उम्मेदवार अग्रस्थानमा रहेका छन् ।
हालसम्मको नतिजाअनुसार रास्वपाले तीन स्थानमा जित हासिल गरिसकेको छ । नेपाली कांग्रेसले पनि दुई स्थानमा विजय हासिल गरेको छ भने नेकपाले एक स्थानमा जित निकालेको छ ।
पछिल्लो मतपरिणामले यसपटकको निर्वाचनमा रास्वपाले देशभर बलियो उपस्थिति देखाएको संकेत गरेको छ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल थियो भने नेकपा एमाले दोस्रो र नेकपा तेस्रो दलका रूपमा रहेका थिए । रास्वपा भने चौथो स्थानमा थियो । यस पटक पहिलो बन्ने निश्चित देखिएको हो ।
निर्वाचन आयोगका अनुसार, हालसम्म नेपाली कांग्रेस १२ स्थानमा र नेकपा एमाले १० र ७ स्थानमा नेकपा अगाडि छन् । त्यसैगरी श्रम संस्कृति पार्टी ६ स्थानमा अग्रता लिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र उज्यालो नेपाल पार्टी एक–एक स्थानमा अघि रहेका छन् ।
सर्लाही क्षेत्र नम्बर ४ मा पनि रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले मतान्तर बढाइरहेका छन् । उनले ४ हजार ४९६ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २ हजार ५३० मतसहित पछ्याइरहेका छन् भने नेकपा एमालेका अमनिस कुमार यादवले ६४३ मत प्राप्त गरेका छन् ।
चितवन क्षेत्र नम्बर ३ मा रास्वपाकी उम्मेदवार सोविता गौतमले दोब्बरभन्दा बढी मतान्तरसहित अग्रता लिएकी छन् । यो समाचार तयार गरिरहँदा उनले १७ हजार ८५१ मत प्राप्त गरेकी छन् भने दोस्रो स्थानमा रहेकी नेकपाकी उम्मेदवार रेनु दाहालले ८ हजार ३७ मत ल्याएकी छन् । नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले २ हजार १३९ र नेकपा एमालेका शंकर थपलियाले २ हजार ७ मत प्राप्त गरेका छन् ।
गुल्मी क्षेत्र नम्बर २ मा भने प्रतिस्पर्धा निकै कडा बनेको छ । रास्वपाका गोविन्द पन्थी ५ हजार ७२६ मतसहित अग्रस्थानमा छन् भने एमालेका विष्टले ५ हजार ६३१ मत प्राप्त गर्दै मतान्तर घटाएका छन् । दुवै उम्मेदवारबीचको मतान्तर ९५ मात्रै रहेको छ ।
दाङका तीनवटै निर्वाचन क्षेत्रमा पनि रास्वपाका उम्मेदवारहरूले अग्रता कायम गरेका छन् । दाङ–१ मा रास्वपाका देवराज पाठक १० हजार ७४३ मतसहित अगाडि छन् भने कांग्रेसका योगेन्द्र चौधरी ३ हजार २१७ मतसहित दोस्रो स्थानमा छन् । एमालेका रेवतीरमण शर्मा र नेकपाका मेटमणि चौधरी क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
दाङ–२ मा रास्वपाका विपिनकुमार आचार्य ९ हजारभन्दा बढी मतसहित अग्रस्थानमा छन् । उनलाई एमालेका शंकर पोखरेलले पछ्याइरहेका छन् भने कांग्रेसका किरणकिशोर घिमिरे तेस्रो स्थानमा छन् ।
यस्तै दाङ–३ मा पनि रास्वपाका कमल सुवेदी अग्रस्थानमा छन् । उनले २ हजार ७०३ मत प्राप्त गर्दा कांग्रेसका दीपक गिरी १ हजार ५८१ मतसहित दोस्रो स्थानमा छन् ।
यसैबीच प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा पनि रास्वपाले सुरुवाती अग्रता लिएको छ । हालसम्म १९ हजार ७२८ मत गणना हुँदा रास्वपाले ११ हजार ५६२ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले ३ हजार ६६४ मत ल्याउँदै दोस्रो स्थानमा छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी १ हजार ७५२ मतसहित तेस्रो स्थानमा रहेको छ ।
नेकपा एमालेले १ हजार १५२ मत प्राप्त गरेको छ भने श्रम संस्कृति पार्टीले ४४१ र नेकपाले ३९२ मत प्राप्त गरेका छन् ।
देशभर मतगणना कार्य जारी रहेकाले धेरैजसो निर्वाचन क्षेत्रको अन्तिम परिणाम आज आइतवारसम्म आउन सक्ने सम्भावना आयोगको छ ।
