सुमन मल्लले भने, ‘प्रतिबद्धतामा दृढ’

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) का उम्मेदवार सुमन मल्ल निकटतम प्रतिद्वन्द्वी बनेका छन् ।

१९ हजार ६१५ मत प्राप्त गरेका मल्लले निर्वाचन परिणाम सार्वजनिक भएपछि वक्तव्य जारी गर्दै बाँके क्षेत्र नम्बर ३ का सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले मतदाताले देखाएको माया, विश्वास र साथलाई आफ्नो लागि ठूलो प्रेरणा भएको बताएका छन् ।

‘चुनावमा परिणाम फरक आयो, तर जनताको सेवा गर्ने मेरो प्रतिबद्धता उस्तै दृढ छ,’ मल्लले भनेका छन् ।

यसअघिको २०७९ सालको निर्वाचनमा भने एमालेले यस क्षेत्रबाट २४ हजार ३०५ मत प्राप्त गरेको थियो । त्यतिबेला एमालेका उम्मेदवार किस्मतकुमार कक्षपति नेपाली कांग्रेसका उम्मेदवार किशोरसिंह राठौर सँग कडा प्रतिस्पर्धामा रहेका थिए ।

यस ऐतिहासिक प्रतिस्पर्धामा विजयी भएका खगेन्द्र सुनारलाई उनले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

मल्लले बाँके क्षेत्र नम्बर ३ को समृद्धि र विकास नै सबैको साझा लक्ष्य भएको उल्लेख गर्दै आगामी दिनमा पनि जनतासँगै रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘म सदैव यहाँहरूकै साथमा, यहाँहरूकै सेवामा रहनेछु,’ उनले भनेका छन् ।
क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनार विजयी भएका छन् । सुनारले यो जीतका लागि २९ हजार ५५१ मत प्राप्त गरे ।

Exit mobile version