प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट सुरेश कुमार चौधरी विजयी भएपछि निवर्तमान सांसद तथा नेकपा (एमाले) नेता सूर्य प्रसाद ढकालले बधाई दिँदै विभिन्न विकासका कामलाई प्राथमिकता दिन सुझाव दिएका छन् ।
निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै ढकालले पहिलो हुने निर्वाचित हुने प्रणालीअनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति विजयी हुने भन्दै जनमतको कदर गर्नु सबैको कर्तव्य भएको बताएका छन् । उनले विजयी उम्मेदवार चौधरीलाई सफल कार्यकालको शुभकामना दिँदै बाँके–१ मा बजेट परेका तर अधुरा रहेका विकास योजनालाई पूरा गर्न पहल गर्न आग्रह गरेका छन् ।
ढकालले आफूले प्राप्त गरेको ११ हजार ९५ मतलाई सम्मान गर्दै मतदाताप्रति आभार व्यक्त गरेका छन् । यस पटकको निर्वाचनमा उनी तेस्रो स्थानमा पुगेका हुन् ।
ढकालले विजयी सांसदलाई बाँके क्षेत्र नम्बर १ का विभिन्न विकास परियोजनालाई अघि बढाउन २७ बुँदे सुझाव दिएका छन् । उनका अनुसार, बाँकी रहेका टोलमा शुद्ध खानेपानी र विद्युत विस्तार, राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजना सम्पन्नका लागि पहल, कुसुमदेखि गङ्गापुरसम्म राप्ती नदी तटबन्धन, हुलाकी राजमार्गका बाँकी काम पूरा गर्ने, बैजापुर औद्योगिक ग्राम सञ्चालन, कुसुममा राप्ती नदीमाथि मोटरेबल पक्की पुल निर्माणलगायत योजनालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
यसैगरी कोहलपुर क्रिकेट मैदान तथा रिङरोड निर्माण, कोहलपुर जैविक पार्क, आधुनिक सिटीहल र बाल अस्पताल, नरैनापुर–राप्ती सोनारी–कोहलपुरका विद्यालयका अधुरा भवन पूरा गर्ने, मदन भण्डारी धार्मिक पर्यटन मार्ग विस्तार, प्रत्येक वडामा खेलमैदान स्तरोन्नति, बागेश्वरी र सिद्धेश्वरी बहुमुखी क्याम्पसको स्तर उन्नति, स्थानीय पार्कहरूको संरक्षण तथा प्रवद्र्धन, डाटासेन्टर सञ्चालन र तीनवटै स्थानीय तहमा अस्पताल निर्माण पूरा गर्नुपर्ने उनले सुझाव दिएका छन् ।
त्यसैगरी हुलाकी राजमार्ग आसपासका भित्री सडकको स्तरोन्नति, अगैया–कचनापुर–कम्दी जोड्ने सडक निर्माण, खरका छाना हटाई टिनको छाना रुपान्तरण कार्यक्रमलाई निरन्तरता दिनुपर्ने ढकालले बताएका छन् ।
ढकालले यसअघि सुरु गरिए पनि बजेट नपरेको योजना अन्तर्गत कोहलपुरमा खेलकुद विश्वविद्यालय स्थापना गर्न समेत पहल गर्न विजयी सांसदलाई आग्रह गरेका छन् । उनले जनताले दिएको जिम्मेवारीअनुसार विकास निर्माणका अधुरा काम पूरा गर्दै क्षेत्रको समग्र विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।






























