प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ ।
यस निर्वाचनमा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० सिटका लागि मतदान भएको थियो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपश्चात् गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले तत्कालीन प्रतिनिधिसभा विघटन गरेसँगै यो निर्वाचन गरिएको हो ।
यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा मुलुकभर जनलहर देखिएको छ । रास्वपा काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाह (बालेन)लाई पार्टीको वरिष्ठ नेता र प्रधानमन्त्रीको उम्मेदवार बनाई निर्वाचनमा होमिएको थियो ।
त्यस्तै, संसदीय अभ्यासमा अनुभवी नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दल र अधिकांश शीर्ष नेता भने यस निर्वाचनमा पराजित भएका छन् ।
निर्वाचन आयोगको पछिल्लो गणनाअनुसार रास्वपाको पक्षमा प्रत्यक्ष र समानुपातिकमा झन्डै दुई तिहाइ मत प्रकट भएको देखिन्छ । यो समाचार तयार पार्दासम्म प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले ११९ क्षेत्रमा जित हासिल गरिसकेको छ ।
त्यस्तै, समानुपातिकतर्फ रास्वपाले २२ लाख ३९ हजार ८७० मत प्राप्त गरेको छ ।
यसैगरी, हालसम्म प्रत्यक्षतर्फ कांग्रेसले १७, एमालेले सात, नेकपाले सात र श्रम संस्कृति पार्टी तीन र राप्रपाले एक स्थानमा जित हासिल गरेका छन् ।
शीर्ष नेताहरू को को पराजित भए !
लामो संसदीय अभ्यास रहेको र अघिल्लो प्रतिनिधिसभा सदस्यमा सबैभन्दा ठूलो दल कांग्रेस यस निर्वाचनमा निकै पछि परेको छ । कांग्रेसका सभापति गगनकुमार थापा, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहमन्त्रीहरू फरमुल्लाह मन्सुर, उदयशम्शेर राणा, प्रकाश रसाइली स्नेही पराजित हुनुभएको छ ।
त्यस्तै, वरिष्ठ नेताहरू डा शेखर कोइराला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, एनपी साउँद, महालक्ष्मी उपाध्याय ‘डिना’लगायत नेताहरू पनि पराजित हुनुभएको छ ।
त्यसैगरी, एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरू गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू रघुवीर महासेठ, लेखराज भट्ट, सचिवहरू भानुभक्त ढकाल, शेरधन राई, महेश बस्नेत र डा राजन भट्टराई पराजित हुनुभएको छ ।
त्यस्तै, वरिष्ठ नेताहरू ईश्वर पोखरेल, देवराज घिमिरे, प्रदीपकुमार ज्ञवालीलगायत पनि पराजित हुनुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल विजयी हुनुभयो । उहाँको दलका सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेताहरू नारायणकाजी श्रेष्ठ, भीम रावल, महिन्द्रराय यादव, राजेन्द्रप्रसाद पाण्डे, शक्ति बस्नेतलगायत नेताहरू पनि पराजित हुनुभएको छ ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, वरिष्ठ नेता कमल थापालगायत पराजित हुनुभएको छ । विसं २०४८ देखि निरन्तर आफ्नो वर्चस्व कायम गर्दै आएको पार्टी नेपाल मजदुर किसान पार्टी पनि यस निर्वाचनमा संसदीय यात्राबाट बाहिरिने भएको छ । सो पार्टीका नेता प्रेम सुवाललगायत कुनै पनि उम्मेदवारले निर्वाचनमा सफलता हासिल गर्न सकेनन् ।
