अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालगन्जस्थित मेडिसिटी क्लिनिकले दुई दिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ । शनिवार र आइतबार सञ्चालन गरिएको उक्त शिविरमा ६८ जना महिलाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
महिलाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने तथा आवश्यक स्वास्थ्य जाँच सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको क्लिनिकले जनाएको छ । शिविरमा विभिन्न उमेर समूहका महिलाहरूले सहभागी भई निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका थिए ।
‘शिविरमा स्तन अल्ट्रासाउन्ड, पेटको अल्ट्रासाउन्ड तथा गर्भावस्थामा भ्रुणको वृद्धिसम्बन्धी जाँच निःशुल्क रूपमा उपलब्ध गराइएको थियो,’ मेडिसिटी क्लिनिकका प्रबन्ध निर्देशक डा. नितेश कुमार कानोडियाले दैनिक नेपालगन्जसँग भने ।
डा. कानोडियाका अनुसार, कार्यक्रममा फिटल मेडिसिन विशेषज्ञ डा. ट्विंकल धानुका कानोडिया तथा इन्टरभेन्शनल रेडियोलोजिस्ट डा. रितेश कुमार कानोडियाले स्वास्थ्य परीक्षण र परामर्श सेवा प्रदान गरेका थिए । ‘उहाँहरूको विशेषज्ञ सेवाबाट धेरै महिलाले समयमै स्वास्थ्य जाँच गराउने तथा आवश्यक स्वास्थ्य सल्लाह प्राप्त गर्ने अवसर पाएका थिए,’ प्रबन्ध निर्देशक डा. कानोडियाले भने ।
प्रबन्ध निर्देशक डा. कानोडियाले समुदायमा गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता जनस्वास्थ्य केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै जाने बताए ।
