पत्रकार ठाकुरसिंह थारुको संसदयात्रा तय

नेपालगन्जमा रहेर पत्रकारितामा सक्रिय ठाकुरसिहं थारु बर्दियाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका छन् । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्षसमेत रहिसकेका उनी लामो समय कान्तिपुर प्रकाशनमा रहेर काम गरे भने अहिले वकालतसँगै आफ्नै सञ्चार गृह चलाउछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार थारू अत्यधिक मतभारसहित विजयी भएका हुन् । उनले ४९ हजार छ सय ३१ मत प्राप्त गरेका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शालिकराम अधिकारीले १४ हजार छ सय ४३ मत ल्याउँदा थारू ३४ हजार नौ सय ८८ मतान्तरले विजयी भए । प्रतिनिधिसभा निर्वाचन २०७९ मा एमालेकै लक्ष्मण ज्ञवाली दोस्रो भएका थिए । र, नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार थारु २४ हजार ९९४ मत सहित तेस्रो भएका थिए ।

नेपाली काँग्रेसका उम्मेदवार, निवर्तमान प्रतिनिधि सभा सदस्य तथा पूर्व सिँचाइमन्त्री सञ्जय गौतमले भने १२ हजार सात सय २२ मत प्राप्त गरे । गौतमले तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई पराजय गरेर चर्चा कमाएका थिए ।

नेकपाका उम्मेदवार, थारू आयोगको अध्यक्ष र संविधानसभा सदस्य समेत भएका विष्णु थारूले नौ हजार दुई सय ८५ मत प्राप्त गरे ।

बर्दिया क्षेत्र नं १ मा रहेका कुल मतदाता एक लाख ६८ हजार ३४ मध्ये एक लाख दुई हजार चार सय ८९ जनाले मतदान गरेका थिए । जसमध्ये पाँच हजार आठ सय ८० मत बदर भएको मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले जानकारी दिए ।

विजयी घोषणा पश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी सहिदको सम्झनामा गुलरियाको राधाकृष्ण चोकमा शोकसभा आयोजना गरेको छ । जहाँ नवनिर्वाचित सांसद थारुले ‘जनताका आधारभूत आवश्यकताका विषयलाई आफुले सम्बोधनका लागि प्राथमिकतामा राखेको’ बताए ।

बर्दिया २ मा श्रीधर पोखरेल

दैनिक नेपालगन्ज

बर्दियाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा भारी मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोखरेल विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार, उनले २९ हजार ६७८ मतले विजय हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार किशोर सिंह राठौरले २० हजार ४०२ मत र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुरेश पन्थले १९ हजार १८० मत ल्याएका छन् ।

नेकपा एमालेकी उम्मेदवार बिमला वि.क.ले १० हजार ७७२ मत प्राप्त गरिन् ।

सो क्षेत्रमा ९४ हजार तीन सय ६३ मत खसेकोको आयोगले जनाएको छ ।

Exit mobile version