प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत बाँकेको प्रत्यक्ष तर्फको मतपरिणाम सार्वजनिक भैसकेको छ । क्षेत्र नं. १ र ३ को समानुपातिक तर्फको मतगणना पनि सम्पन्न भएको छ भने क्षेत्र नं. २ को मतगणना यो समाचार तयार गर्दासम्म जारी छ ।
बाँकेमा पछिल्लो निर्वाचन जस्तै यसपटक पनि ठूलो संख्यामा मत बदर भएको छ ।
बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा खसेको कुल मतको ६.४७ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख, जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाहीले जानकारी दिएका छन् ।
बाँके क्षेत्र नं. १ मा ५.७६ प्रतिशत, बाँके क्षेत्र नं. २ मा ७.९५ प्रतिशत, क्षेत्र नं. ३ मा ५.७७ प्रतिशत मत बदर भएको हो ।
अघिल्लो प्रतिनिधिसभा निर्वाचन २०७९ भन्दा यसपटक बदर मतको प्रतिशत भने थोरै भएपनि कमी आएको छ । २०७९ निर्वाचनमा १५ हजार ३ सय ३५ मत बदर भएको थियो ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं. १ मा ६.०८ प्रतिशत, क्षेत्र नं. २ मा ७.३३ प्रतिशत र क्षेत्र नं. ३ मा ७.०१ प्रतिशत मत बदर भएको थियो ।
मतदाता शिक्षालाई प्रभावकारी बनाइएमा मत बदरको संख्या उल्लेखनीय रूपमा घटाउन सकिने भएपनि साक्षर जिल्लाका रूपमा बाँकेमा १३ हजार ४ सय ४२ मत बदर भएका छन् ।
मतगणनामा बसेका उम्मेदवारका प्रतिनिधिहरूले प्रत्यक्ष तर्फको मतपत्रमा दुई वटा छाप लगाइएको भेटिएको बताएका छन् ।
निर्वाचनमा मतदाताले दिएको मत नियमअनुसार नमिलेमा त्यसलाई बदर मत मानिन्छ ।
मत बदर हुनुका मुख्य कारणमध्ये एउटै पदका लागि एकभन्दा बढी उम्मेदवारको चिन्हमा छाप लगाउनु प्रमुख हो ।
यसैगरी कुनै पनि चिन्हमा छाप नलगाउनु, चिन्हको बाकसभन्दा बाहिर छाप लगाउनु वा दुई चिन्हको बीचमा छाप पर्नु पनि मत बदर हुने कारण हुन् । त्यस्ता मतपत्रहरू गणनाका क्रममा देखिएको गणनामा बसेका उम्मेदवारका प्रतिनिधिले बताएका छन् ।
त्यस्तै, मतपत्रमा नाम, हस्ताक्षर वा अन्य संकेत लेख्नु, मतपत्र च्यातिनु वा बिग्रिनु तथा आधिकारिक छापको सट्टा अन्य चिन्ह प्रयोग गर्नुले पनि मत अमान्य बन्न सक्छ । यस्ता त्रुटिका कारण धेरै मत गणनामा समावेश हुन सक्दैनन् ।
निर्वाचन आयोगले मतदान गर्दा मतदाताले निर्देशन राम्रोसँग बुझेर मात्र छाप लगाउन आग्रह गर्दै आएको
छ ।
मतपत्रमा एउटै उम्मेदवारको चिन्हभित्र स्पष्ट रूपमा छाप लगाउँदा मात्र मत मान्य हुने भएकाले सचेतना आवश्यक रहेको आयोगले बताउँदै आएको थियो ।
