कमरुद्दिन राईले नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुख निर्वाचित गरेर जनताले दिएको जिम्मेवारी पुरा नगरि बिचैमा पदबाट राजीनामा दिए । उप–प्रमुखको कार्यकाल छँदै उनले बाँके निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट मनोनयन दर्ता गराएका थिए ।
गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम नतिजामा राईले छैठौ स्थान प्राप्त गर्दै ९०८ मत प्राप्त गरे । तीन वर्षअघिमात्रै १७ हजार ९५० मत ल्याएर नेपालगन्ज उप–महानगरपालिकाको पदभार सम्हालेका उनले जिम्मेवारी पुरा नगरेकै कारण लज्जास्पद हार व्यहोरेको उनी निकट दलकै कार्यकर्ता टिप्पणी गर्छन । ‘ व्यक्तिगत लालच र महत्वाकांक्षाले दिएको राजिनामाको जवाफ जनमतबाटै फर्कियो,’ ति कार्यकर्ताको टिप्पणी छ ।
पार्टी केन्द्रीय सचिवसमेत रहेका राईको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले १ हजार ७९९ समानुपातिक मत पाउँदा उनले भने ९०८ मत प्राप्त गरेकाले पनि कार्यकर्ताको टिप्पणी सहि देखिन्छ । उनले पार्टीकै मत पनि पाउन नसकेको स्पष्ट छ ।
राईले पदबाट राजिनामा दिएपछि नेपालगन्ज उप–महानगरपालिका उप–प्रमुख विहीन छ । उनको राजिनामाले न्यायिक समिति, आर्थिक समितिजस्ता महत्वपूर्ण कार्यभार प्रभावित हुने अवस्था छ । छ महिनाभन्दा बढी पद खाली हुने अवस्थामा निर्वाचन आयोगले उप–निर्वाचन गर्न सक्ने व्यवस्था छ ।





























