केही समयअघि काठमाडौंस्थित विशेष अदालतमा तीन दिन बिताउने अवसर प्राप्त भयो । ती तीन दिन केवल एउटा पेशागत अनुभव मात्र रहेनन्, बरु हाम्रो न्यायिक संरचना कसरी क्रमशः आधुनिक, व्यवस्थित र सेवामुखी बन्दै गएको छ भन्ने कुरा प्रत्यक्ष अनुभव गर्ने अवसर पनि बने ।
अदालत परिसरभित्र प्रवेश गर्नेबित्तिकै देखिने स्वच्छता, शान्त वातावरण र सुव्यवस्थित संरचनाले नै सकारात्मक अनुभूति दिन्छ । भवनको भित्री संरचना पूर्ण रूपमा व्यवस्थित छ । वातानुकूलित मार्गहरू, स्पष्ट रूपमा देखिने डिजिटल ड्यासबोर्डहरू, र बहस तथा मुद्दाको क्रमबारे जानकारी दिने प्रणालीले अदालतको व्यवस्थापनलाई आधुनिक ढङ्गले सञ्चालन गरिएको स्पष्ट संकेत दिन्छ ।
अधिवक्ताहरूका लागि बहसअघि तयारी गर्न छुट्टै स्थानको व्यवस्था गरिएको छ । त्यहाँ बसेर मुद्दाका कागजातहरू पुनः अध्ययन गर्ने, तर्कहरू व्यवस्थित गर्ने र बहसका लागि मानसिक रूपमा तयार हुने वातावरण सहज रूपमा उपलब्ध छ । इजलासभित्र माइक प्रणाली व्यवस्थित छ, जसले बहसका प्रत्येक शब्द स्पष्ट रूपमा सुनिने बनाउँछ । इजलास र अधिवक्ताबीचको दूरी पनि सन्तुलित राखिएको छ, जसले बहसलाई सहज र प्रभावकारी बनाउँछ ।
न्यायाधीशहरूको अगाडि ठूलो ल्यापटप स्क्रीन राखिएको हुन्छ, जसबाट बहससँग सम्बन्धित विवरणहरू प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिन्छ । बहसका क्रममा न्यायाधीशहरूले बीचमै आवश्यक प्रश्नहरू सोध्ने र बहसलाई गहिराइतर्फ लैजाने शैली पनि निकै प्रभावकारी देखिन्छ । इजलासमा अधिवक्ता र न्यायाधीशबीच माथितर्फ जडान गरिएको ठूलो स्क्रिनमा बहसको दृश्य प्रत्यक्ष देखिन्छ, जसले उपस्थित सबैलाई बहसको प्रवाह स्पष्ट रूपमा बुझ्न मद्दत गर्दछ ।
इजलासको साइडतिर कानुनका पुस्तकहरू र अन्य सन्दर्भ सामग्री व्यवस्थित रूपमा राखिएका छन् । आवश्यक पर्दा तत्काल सन्दर्भ लिन सकिने यस्तो व्यवस्था न्यायिक अभ्यासका लागि उपयोगी देखिन्छ ।
मुद्दाका पक्षहरूका लागि इजलासभित्र छुट्टै बस्ने व्यवस्था गरिएको छ । त्यति मात्र होइन, अदालत परिसरभित्र पनि यस्तो स्थान तयार गरिएको छ जहाँबाट मुद्दाका पक्षहरू तथा सर्वसाधारणले बहसको दृश्य सजिलै प्रत्यक्ष रूपमा सुन्न र हेर्न
सक्छन् । यसले न्याय प्रक्रियालाई पारदर्शी बनाउने दिशामा गरिएको प्रयासलाई झल्काउँछ ।
बस्ने स्थानहरू सफा, सुग्घर र व्यवस्थित छन् । सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरूको उपस्थितिले अनुशासन र सुरक्षित वातावरणको अनुभूति दिन्छ । अदालत परिसरको अगाडि राखिएका फूलका गमलाहरूले वातावरणलाई अझ सकारात्मक र स्वागतयोग्य बनाएका छन् ।
समग्र भवन अत्याधुनिक ढङ्गले निर्माण तथा व्यवस्थापन गरिएको देखिन्छ । कहिलेकाहीँ बहस गरिरहँदा यस्तो अनुभूति हुन्थ्यो—मानौँ म कुनै नयाँ देशको अत्याधुनिक न्यायिक संस्थाभित्र पुगेको छु । अदालतको तल्लो तलामा रहेका कर्मचारीहरूको व्यवहार पनि अत्यन्त सहयोगी र सम्मानजनक देखियो । न्याय खोज्न आउने व्यक्तिप्रति उनीहरूको दृष्टिकोण, व्यवहार र सेवा भावना प्रशंसनीय थियो ।
फैसला वा कुनै आदेशको नक्कल लिनका लागि पनि यहाँ अनावश्यक झन्झट देखिएन । कानुन व्यवसायीहरूले आफ्ना मुद्दासम्बन्धी आदेश, अभियोगपत्र वा अन्य कागजातहरू अदालतको फाँटबाट सजिलै ईमेलमार्फत वा पेनड्राइभमा प्राप्त गर्न सक्ने व्यवस्था रहेछ । यस्तो प्रणालीले अनावश्यक फोटोकोपी, कागज र खर्चलाई कम गर्नुका साथै समयको पनि बचत गरिरहेको देखिन्छ ।
समग्रमा भन्नुपर्दा, काठमाडौंको विशेष अदालतमा बिताएका ती तीन दिन निकै सकारात्मक, उत्साहजनक र प्रेरणादायी अनुभव बने । न्यायिक सेवा केवल कानुनी प्रक्रिया मात्र नभई व्यवस्थापन, प्रविधि र सेवामुखी सोचसँग जोडिँदा कति प्रभावकारी बन्न सक्छ भन्ने कुरा यहाँ स्पष्ट रूपमा अनुभूति गर्न सकिन्छ । बिशेष अदालत बास्तबमा नाम अनुसारको बनेको रहेछ;– “बिशेष“ । (ढकाल अधिवक्ता हुन् ।)
