तीनसय ५० जना उम्मेदवारको मत शुन्य
फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका ठुलो संख्याका उम्मेदवारको धरौटी (जमानत) जफत भएको छ ।
बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको छ । यो संख्या देशभरमा दुई हजार ८ सय ९० छ । ‘तीमध्ये ३ सय ५० जना उम्मेदवारको त मत नै आएको छैन,’ आयोगका अनुसार, ‘अर्थात् उनीहरुको मत गणनामा शून्य देखिन्छ ।’
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार यस पटक देशभर दुई हजार ८ सय ९० जना उम्मेदवारले आवश्यक मत सङ्ख्या पु¥याउन नसक्दा धरौटी रकम गुमाएका हुन् ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले निर्वाचनमा भाग लिन चाहने उम्मेदवारले कानुनबमोजिम निश्चित धरौटी रकम राख्नुपर्ने व्यवस्था रहेको जानकारी दिए । उनका अनुसार, सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने कानुनी प्रावधान छ ।
आयोगका अनुसार, निर्वाचनमा प्रतिस्पर्धा गरेकामध्ये जम्मा ५ सय १६ जना उम्मेदवारले मात्र आफ्नो जमानत जोगाउन सफल भएका छन् । जमानत जोगाएका उम्मेदवारले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ९० दिनभित्र धरौटी रकम फिर्ताका लागि निवेदन दिनुपर्ने प्रक्रिया रहेको आयोगले जनाएको छ ।
