काँग्रेसको समीक्षामा ‘बबाल’

फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समीक्षा गर्न मंगलबार बसेको नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ को बैठक स्थगित भएको छ ।

मंगलबार निर्वाचन परिणाम समीक्षाका लागि क्षेत्रीय सभापति पोषण केसीले डोकेको बैठक केहीबेरको छलफल पछि स्थगित भएको हो ।

‘त्यस्तो ठूलो समस्या केही होइन, छलफल चल्दै गर्दा अप्रिय नहोस् भनेर बैठक अर्को दिनलाई सारिएको मात्रै हो’, क्षेत्रीय सभापति केसीले दैनिक नेपालगन्जसँग भने ।

जिल्ला पार्टी सभापति नारायण प्रसाद गौडेल क्षेत्र नं. १ मा उम्मेदवार थिए । जितको सम्भावना रहेको भनिएको उक्त क्षेत्रमा दोब्बर बढी मतले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश कुमार चौधरी विजयी भएपछि काँग्रेसमा घात–अन्तरघात भएको आशंका गरिएको छ । विजयी उम्मेदवार चौधरीले ३२ हजार ९ सय ९२ मत हासिल गर्दा काँग्रेस उम्मेदवार, पार्टी सभापति गौडेलले १५ हजार ३ सय १ मत मात्रै प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी हुन पुगे ।

सभापति गौडेलले निर्वाचन समीक्षामा ‘स्वभाविक गर्मागर्मी’ भएको भन्दै अप्रिय कुनै विवाद, ववाल नभएको दाबी गरे । सम्बद्ध स्रोतका अनुसार, कोहलपुर क्षेत्रबाट अन्तर्घात भएको भन्दै टिकाटिप्पणी गरिएपछि एक जना वरिष्ठ काँग्रेस नेतामाथि दुव्र्यवहार भएको थियो । उक्त घटनालाई लिएर चकाचर्की बढ्दै गएपछि समीक्षा बैठक अनिश्चितकालीका लागि स्थगित गरिएको हो ।

बैठकमा बोल्ने विभिन्न वक्ताहरूले ‘स्थानीय तहका नेतृत्वले सही ढंगबाट कार्य सम्पादन गर्न नसक्दा अप्रिय जनमतको अवस्था सिर्जना भएको’ दाबी गरेका थिए । आरोप–प्रत्यारोप बढ्दै गएपछि तनावको अवस्था सिर्जना हुँदा बैठक स्थगित गर्नुपरेको बैठकमा सहभागी स्रोतको दाबी छ । ‘गौडेल हराउ अभियान नै चलाइएकाले प्रमाण संकलन भैरहेको’ दाबी एक पक्षले राखेको थियो ।

Exit mobile version