नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

बाँके निर्वाचन क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य मो. इस्तियाक राईले निर्वाचन परिणामपछि मतदातासँग घरदैलोमै पुगेर संवाद शुरु गरेका छन् ।

जनतासँग प्रत्यक्ष भेटघाट गर्दै धन्यवाद ज्ञापन कार्यक्रम सञ्चालन गरिरहेका उनले बिहीबार डुडुवा गाउँपालिकाका विभिन्न बस्तीमा आयोजित कार्यक्रममा सहभागी भएका हुन् । त्यसक्रममा उनले मतदातासँग भेटघाट गर्दै आगामी कार्ययोजना र प्राथमिकताबारे जानकारी गराएका छन् ।

एमाले नेता शकील खानका अनुसार, डुडुवा गाउँपालिका–२ को जाफरपुर्वा, डुडुवा–१ का पाझा, चौफेरी, बाबा गाउँ, कैरातीपुर्वा, दासपुर्वा र कोल्हीमा कार्यक्रम आयोजना भएको थियो । त्यस्तै डुडुवा–३ का रमपुर्वा, बनकटवा, बन्कट्टी, हलबलडोली, बरगदबाबा र मोल्बीपुर्वामा पनि जनतासँग भेटघाट गरिएको थियो । डुडुवा–४ का उचेमसहा, नियामतपुर्वा, खाले मसहा र मिलन चोकमा समेत कार्यक्रम सम्पन्न भएको आयोजक नेकपा एमालेले जनाएको छ ।

कार्यक्रमका क्रममा सांसद राईले मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै जनताको विश्वास कायम राख्नु नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । देशभर आफ्नो पार्टीको स्थिति अपेक्षाकृत कमजोर देखिए पनि स्थानीय जनताको विश्वासका कारण आफू विजयी हुन सकेको उनले बताए ।

पूर्वमन्त्री राईले विगतमा दुई कार्यकाल सांसद र तीन पटक सरकारमा सहभागी हुँदा यस क्षेत्रका लागि गरेको कामकै मूल्याङ्कन स्वरूप मतदाताले समर्थन गरेको बताए । ‘यहाँका जनताको विश्वास र मायाले नै यो जित सम्भव भएको हो,’ उनले भने, ‘म पाँच वर्षका लागि जनताको प्रतिनिधि भएको छु, त्यसैले प्रतिबद्धतापत्र र जनचाहनाअनुसार काम गर्ने अठोट दोहो¥याउँछु ।’

सांसद राईले आफ्नो पार्टी सरकारमा नरहे पनि संसदमार्फत विकासका मुद्दा उठाएर काम गर्न सकिने बताए । संसद् नीति–नियम निर्माण गर्ने प्रमुख थलो भएकाले नीति निर्माणमा सक्रिय भूमिका खेल्दै विकासका योजनालाई अघि बढाउने उनको भनाइ थियो ।

आगामी प्राथमिकताबारे बोल्दै उनले भेरी अस्पतालमा दीर्घरोगीका लागि विशेषज्ञसहितको छुट्टै युनिट स्थापना गर्ने, जमुनाहा–हिल्सा सडक योजनालाई कार्यान्वयनमा लैजान पहल गर्ने, कम्तीमा पाँच विद्यालय र पाँच स्वास्थ्य संस्थालाई नमुना बनाउने, नीतिगत सुधार ल्याउने, व्यावसायिक सुरक्षा मजबुत बनाउने तथा महेन्द्र बहुमुखी क्याम्पसको भवन र शैक्षिक कार्यक्रम सुधार गर्ने योजना रहेको बताए ।

सांसद राईले आफ्नो राजनीति विभाजन होइन, एकता र सहकार्यमा आधारित रहेको उल्लेख गर्दै भने, ‘म जनताको शासक होइन, सेवक बन्न चाहन्छु । जाति, धर्म र समुदायलाई फुटाउने होइन, जोड्ने काम नै मेरो राजनीति हो ।’

Exit mobile version