मौज्दात लिएको प्रशासनले अनुगमनसँगै पेट्रोल पम्पलाई निगरानीमा राखेको हो
स्थानीय प्रशासनले बाँकेका पेट्रोल पम्पको कारोबारलाई निरन्तर निगरानी शुरु गरेको छ । त्यसका लागि शनिवार जिल्ला प्रशासन नेतृत्वको टोलीले अनुगमन गरि पेट्रोलियम पदार्थ भण्डारणको अवस्था बुझेको हो ।
‘इन्भेन्टरी रेकर्ड शुरु गरिएको छ,’ बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्रीले शनिवार ३४ वटा पेट्रोल पम्पमा अनुगमन गरिएको जानकारी दिंदै दैनिक नेपालगन्जसँग भने, ‘जिल्लाका सबै पेट्रोल पम्पमा इन्भेन्टरी मनिटरिङ र रेकर्ड किपिङ सिष्टम शुरु गरिएको छ ।’
पेट्रोलियम व्यवसायमा भएको स्टकको अवस्थालाई निरन्तर ट्रयाक गर्ने र निगरानी गर्ने प्रक्रियालाई अगाडी बढाउनु अघि शनिवार प्रहरी प्रशासन, नेपाल आयल निगमका प्रतिनिधिसहितको टोलीले जिल्लाका ४१ मध्ये ३४ वटा पम्पमा अनुगमन गरेको हो । ‘बाँकीमा पनि निरन्तर अनुगमन हुन्छ,’ सहायक प्रजिअ खत्रीले भने ।
अनुगमनका क्रममा हरेक पम्पलाई उनीहरुसँग कति इन्धन छ, कति बिक्री भयो, र कति थप्नुपर्नेछ भन्ने तथ्य लिइएको टोलीका सदस्यले बताए । ‘स्टकको अवस्था थाहा पाउने र डिमान्ड एण्ड सप्लाईको अवस्था बुझ्ने गरि इन्भेन्टरी मनिटरिङ र रेकर्ड किपिङ सिष्टम बनाइएको हो,’ खत्रीले भने ।
मध्यपूर्वको युद्धका कारण पेट्रोलियम पदार्थ तथा ग्यासको विश्वव्यापी असर परेपछि अनावश्यक भण्डारण हुने आशंकामा अनुगमन गर्न थालिएको हो । नेपाल आयल निगमले नेपालमा नियमित रूपमा पेट्रोलियम पदार्थ आपूर्ति गरी विक्री–वितरणको व्यवस्था मिलाइरहेको शनिवारनै विज्ञप्ति जारी गरि उल्लेख गरेको छ ।
निगमको पाँच बुँदे निर्देशन
नेपाल आयल निगमले खाना पकाउने(एलपी) ग्यासको अनावश्यक भण्डारण नगर्न विक्रेताहरूसँग आग्रह गरेको छ । शनिबार एक प्रेस विज्ञप्तिमार्फत निगमले पाँच बुँदे निर्देशन जारी गरेको हो ।
निगमले अहिलेको परिस्थितिमा आपूर्ति तथा वितरण प्रणाली व्यवस्थित बनाएर उपभोक्ताको मागबमोजिम ग्यास पाउन सक्ने व्यवस्था गर्न आधा सिलिन्डरको व्यवस्था गरेको जनाएको छ । यस्तै अर्को व्यवस्था नभएसम्म उद्योगहरूले सिलिन्डरमा ७.१ केजी ग्यास ९५५ रुपैयाँमा बजारीकरण गर्ने व्यवस्था मिलाइएको भनेको छ ।
यस्तै निगमले मुलुकभरिका ग्यास उद्योगीलाई आफ्ना विक्रेताको विक्री गर्ने मात्रा, ठेगाना र सम्पर्क नम्बरसहित हरेक दिन बिहान १० बजे भित्र सार्वजनिक गरी निगमलाई जानकारी गराउन अनुरोध गरेको छ । सो जानकारी उपभोक्तालाई समेत दिन निगमले निर्देशन दिएको छ ।
अहिलेलाई घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर ग्यास विक्री वितरण गर्न भनेको छ ।
‘आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न पुनः अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।





























