सन्तकुटीमा निःशुल्क स्वास्थ्य शिविर
समाजप्रति जिम्मेवारी र विद्यालयप्रतिको आत्मीयता देखाउँदै जनता माध्यमिक विद्यालय सन्तकुटी पूर्व विद्यार्थी समाजले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । समाजका अध्यक्ष झविलाल शर्माका अनुसार, शिविर जनता माध्यमिक विद्यालय सन्तकुटी परिसरमा सञ्चालन गरिएको हो ।
पूर्व विद्यार्थी समाजका सल्लाहकार तथा स्वास्थ्य शिविर संयोजक डा. प्रचण्ड गौतमको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायले उत्साहपूर्वक स्वास्थ्य सेवा लिएका थिए । कार्यक्रममा बोल्दै डा. गौतमले आफूले अध्ययन गरेको विद्यालयमै स्वास्थ्य सेवा प्रदान गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए । उनले यस्तो सामाजिक अभियान अन्य विद्यालयहरूमा समेत विस्तार गर्न सकारात्मक रहेको उल्लेख गरे ।
कार्यक्रममा समाजका सल्लाहकार सचिव ई. विवेक लामिछानेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको उद्देश्य समाजका सहसचिव टंकनाथ दाहालले प्रस्तुत गरेका थिए ।
समाजका अध्यक्ष झविलाल शर्माले पूर्व विद्यार्थीहरू समाज र विद्यालयप्रति उत्तरदायी हुनुपर्छ भन्ने सन्देश दिन तथा स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताए ।
स्वास्थ्य शिविरमा आँखा, कान, छाला रोग तथा सामान्य स्वास्थ्य परीक्षणसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो। शिविरमा डा. ए.के. झा, डा. सल्मान शेष र डा. कपिल शाही लगायत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले सेवा प्रदान गरेको थियो ।
अध्यक्ष शर्माका अनुसार, कार्यक्रमका क्रममा खजुरा गाउँपालिकाको सहयोगमा रगत तथा युरिन परीक्षणसमेत निःशुल्क गरिएको थियो । शिविरबाट विद्यार्थी र अभिभावकसहित ४०८ जनाले स्वास्थ्य सेवा लिएको आयोजकले जनाएको छ ।
यसै अवसरमा पूर्व विद्यार्थी समाजका आजीवन सदस्य रामप्रसाद न्यौपानेले विद्यालयका लागि बस खरिद अभियानमा २५ हजार ५०० रुपैयाँ नगद सहयोग प्रदान गरेका थिए ।
स्वास्थ्य शिविरका लागि आवश्यक औषधि र परीक्षण सामग्री विभिन्न पूर्व विद्यार्थी कार्यरत संस्थाहरूबाट निःशुल्क उपलब्ध गराइएको थियो । यस अभियानमा बी.एन. कम्युनिटी इयर केयर केन्द्र का प्रवन्ध निर्देशक रामबहादुर बोहोरा, लोमस फार्मास्युटिकल्स का ओमनारायण शर्मा लगायत विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक महेन्द्र खत्री सहित पूर्व विद्यार्थी, स्वास्थ्यकर्मी तथा स्थानीयवासीको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाएको सहभागीहरूले बताएका छन् ।
‘स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउने यस्ता पहलले स्वास्थ्य सचेतना फैलाउनुका साथै समुदायमा सहयोग र एकताको भावना पनि बलियो बनाउने विश्वास गरिएको छ,’ अध्यक्ष शर्माले दैनिक नेपालगन्जसँग भने ।





























