नेपाल–भारत सीमावर्ती क्षेत्रमा नक्कली नेपाली ब्रान्डका चुरोटको तस्करी बढ्दै गएको पाइएको छ । भारतका कारखानामा नेपाली ब्रान्डकै नाम प्रयोग गरेर चुरोट उत्पादन गरी नेपालतर्फ अवैध रूपमा भित्र्याउने काम भइरहेको तथ्य सार्वजनिक भएको हो ।
रुपैडिहास्थित, भारतीय पत्रकार सुरेन्द्र कुमार मधेसियाका अनुसार, पछिल्ला केही महिनादेखि नेपाली ब्रान्डका लोकप्रिय चुरोट—खुकुरी, शिखर र सूर्यका नक्कली उत्पादन भारततर्फ बनाइ नेपालमा तस्करी भइरहेको चर्चा सुनिँदै आएको थियो । ‘यो विषय शनिबार साँझ बाँके प्रहरीले सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा नक्कली चुरोट बरामद गरेपछि पुष्टि भएको हो,’ पत्रकार मधेसियाले दैनिक नेपालगन्जसँग भने ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, भारतका केही कारखानामा नेपाली खुकुरी ब्रान्डको जस्तै देखिने चुरोट ठूलो मात्रामा उत्पादन भइरहेको छ । ती चुरोट तस्करहरूले भारतीय क्षेत्रबाट ल्याई रुपैडिहा क्षेत्रमा भण्डारण (डम्प) गर्ने र त्यसपछि मोटरसाइकलमार्फत नेपालतर्फ ल्याउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार भारतसँग सीमा जोडिएको नेपाली गाउँ टंकपसरी नजिकै प्रहरीले निगरानी बढाएपछि तस्करहरू मोटरसाइकल र चुरोट छोडेर फरार भएका थिए । प्रहरीले त्यहाँबाट नक्कली चुरोट बरामद गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ । ‘नेपाली बजारमै पनि यसखालका नक्कली नेपाली ब्राण्डका भारतीय चुरोट विक्री भइरहेको पाइएको छ,’ बजारमै विक्रेताले दैनिक नेपालगन्जसँग भने, ‘मुल्यमा निकै अन्तर भएकाले यसरी तस्करी मौलाएको हो ।’ भारतीय क्षेत्रमा संगठित धन्धा भइरहेको प्रहरी अनुमान छ ।
सीमावर्ती भारतीय बजारहरू—रुपैडिहा, बाबागञ्ज, चरदा, जमोग, बरवलिया चौराहा, नवाबगञ्ज, नानपारा, मिहींपुरवा, मटेरा र रिसिया—सम्म यस्ता नक्कली नेपाली ब्रान्डका चुरोट खुलेआम बिक्री भइरहेको बताइएको छ । उपभोक्ताहरूले भने आफू नेपाली ब्रान्डकै चुरोट प्रयोग गरिरहेको ठानेर किन्ने गरेका छन् ।
यस प्रकारको अवैध कारोबारले नेपाली ब्रान्डको प्रतिष्ठामा असर पुग्ने मात्र होइन, राजस्वमा समेत ठूलो नोक्सानी हुने सरोकारवालाहरूको भनाइ छ । प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी बढाइएको जनाउँदै नक्कली चुरोट उत्पादन र तस्करीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ ।





























