नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको भोलिपल्टै सोमवार यातायात व्यवसायीहरुले भाडा समायोजनको माग गरेका छन् ।
देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन गर्न माग गरेको हो ।
निगमले पेट्रोलमा १५ र डिजल मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गर्दै मूल्य आइतवार मध्यरातीदेखिनै लागू गरेपछि त्यसको प्रभाव यातायातमा पर्ने निश्चित भएका छ ।
महासंघका महासचिव डेकनाथ गौतमले सोमबार विज्ञप्ति जारी गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । उनले पेट्रोलियम पदार्थको प्रत्यक्ष उपभोग गर्ने आम यातायात व्यवसायी र उपभोक्ता वर्गको हितलाई मध्यनजर नगरी साबिकको मूल्यमा एकाएक भारी मूल्यवृद्धि गर्दा देशभर यातायात सेवा सञ्चालन गर्ने यातायात व्यवसायी एवम् यात्रुमा प्रत्यक्ष असर पर्न गएको बताए ।
महासंघले नेपाल आयल निगमभित्रको आन्तरिक चुहावट र पेट्रोलियम पदार्थको खपतलाई नियन्त्रण गरी वैज्ञानिक विधि अपनाई पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था मिलाउन नेपाल सरकार समक्ष माग गरेको छ ।
सार्वजनिक यातायात सञ्चालनमा सवारीसाधनहरू डिजेल÷पेट्रोलको इन्धन प्रयोग गरी सञ्चालन हुने हुँँदा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा प्रत्यक्ष असर सार्वजनिक सवारीसाधन सञ्चालनमा देखिएको महासंघले जनाएको छ ।
महासंघले संघीय रुटको भाडा यातायात व्यवस्था विभागबाट र प्रदेश अन्तर्गतको भाडा सातवटै प्रदेश मन्त्रालयबाट यथाशीघ्र समायोजन गर्नसमेत सरकारसँग माग गरेको छ ।





























