नेपालगन्जमा ‘कमल संघर्ष’ का गजलको गुञ्जन

नेपालगन्जमा गर्मी बढ्न थालेको संकेत दिने सोमवार साँझ, स्थानीय बिपी चोकस्थित होटलको एउटा हलमा भने युवाहरुको भीडसँगै शब्दहरूको ताप अझ तीव्र थियो ।

नयाँ पुस्ताका गजलकार कमल संघर्ष मञ्चमा उभिँदा श्रोता मौन थिए, तर उनका शेरहरू बिस्तारै हलभरि गुञ्जिन थाले ।

बसाइँसराइको पीडा, राज्यको विडम्बना र समाजका अनेक विरोधाभासलाई उनले गजलमा उतार्दा उपस्थित युवाहरूले बारम्बार ताली बजाउँदै साथ दिए ।

बास नेपालले आयोजना गर्दै आएको ‘इन्सपायरिङ युथ’ को रौनक ३३२ औँ श्रृंखलामा बेग्लै थियो । यसपटक युवाहरुलाई उनैका प्रतिनिधि गजलकार संघर्षले झण्डै सवा घण्टा श्रोता बनाए । ‘वान्स मोर’ भन्दै रमाएका उनीहरूलाई आफ्ना दर्जनौँ गजलमार्फत बाँधे संघर्षले । खस भाषाबाट गजलको उठान गर्दै उनले कर्णाली वारि र पारिबाट नेपालगन्ज झरेका युवाहरूको मनस्थितिलाई शब्दमा उतारे ।

बसाइँसराइपछिको यथार्थलाई चित्रण गर्दै उनले सुनाएको शेरले हलमा विशेष प्रतिक्रिया पायो, शब्दनै त्यस्तै थिए ।

‘तिमी बन्दुक चलाएर पनि निर्दोष

अनि म हत्यारा ढुङ्गा हिर्काएर ?’

देशको समसामयिक राजनीतिक र सामाजिक अवस्थामाथि कटाक्ष गर्ने उनका गजलहरूमा आम नागरिकको पीडा झल्किन्थ्यो । कर्णाली र सुदूरपश्चिमका कठिनाइलाई संकेत गर्दै उनले अर्को शेर सुनाए,

‘सुदूर कर्णालीका लासहरू हुन् स्टेचरमा बोकिने,

हेलिकप्टर त सरकारलाई केक बोकेर हिँड्छ ।’

युवा गजलकार संघर्षका शब्दहरू केवल कविता थिएनन्, समाजको तितो यथार्थ थिए । सञ्चार क्षेत्रभित्र देखिएको विकृतिमाथि संघर्षले व्यङ्ग्य गर्दा हलमा बसेका श्रोताहरू हाँसो र तालीले प्रतिक्रिया जनाइरहेका थिए । सहभागी पत्रकारलाई भने उनका शब्दले गम्भीर बनाएको थियो ।

सुदूरपश्चिमको जोखिमपूर्ण भासु भिरको प्रसङ्ग उठाउँदै उनले भने,

‘गह्रंगो बनाएर छाती भासुको भिर माथि,

अहो यो सपनाको ताँती भासुको भिर माथि ।’

अछाममा रहेर सञ्चारकर्म गरेका संघर्षका कथा कार्यक्रमका सहजकर्ता रविन्द्र बोहराले कोतरेका थिए । त्यसबीच पनि राज्यले विकासको नाममा बनाइरहेका भव्य संरचनामाथि पनि उनले व्यङ्ग्य गर्न छुटाएनन्,

‘देखिएला तिम्रै काठमाडौँ देखिएला,

मेरा अछाम देखिँदैन धरहराबाट ।’

सरकारप्रति जनतामा बढ्दो असन्तुष्टि झल्किने खस भाषाको अर्को शेरले पनि हललाई गम्भीर बनायो,

‘रक्त मात्तिएको बाघ जसो सरकार,

जैका हडामा पनि पसि लाग्न लाग्यो ।’

कार्यक्रमको अन्त्यतिर उनले नेपालगन्जको बहुधार्मिक र बहुसांस्कृतिक परिवेशलाई समेट्दै सहिष्णुताको सन्देश दिने शेर सुनाए, जुन शब्द र भावमै नेपालगन्ज सद्भावको सहर हो भन्ने झल्काउन कमल संघर्षको मिहिनेत बोलिरहेको हुन्थ्यो,

‘उसलाई पनि लाग्छ घण्टीको आवाज आहा !

मेरो झन् मन्दिरबाटै सुनिन्छ नमाज आहा !’

गजल वाचनको बिट मार्दै उनले सुनाएको अन्तिम शेरले पनि हलमा भावनात्मक मौनतामा छर्यो,

‘एउटै आशा हुँदा रहेछ एक्लो मान्छेलाई,

कसले हात हल्लाइ देला जाने बेलामा ।’

कार्यक्रमको सुरुवातमा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए ।

कार्यक्रमकै अवसरमा इन्सपायरिङ युथ कार्यक्रम सफल बनाउन विशेष योगदान दिएका निम्स नेपालगन्जका प्रमुख सुनिल कुमार गुप्तालाई सम्मान गरिएको थियो । सम्मान लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले, बास नेपालका अध्यक्ष शिवकुमार बर्मा लगायतले प्रदान गरेका थिए ।

‘नेपालगन्जको साहित्यिक वातावरणमा उक्त साँझ केवल गजलको प्रस्तुति मात्र थिएन,’ कार्यक्रमको अद्योपान्तमा नियालेका अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले भने, ‘यो नयाँ पुस्ताको आवाज, पीडा र आशाको प्रतिध्वनि पनि हो ।’

Exit mobile version