प्रतिशोधमा हत्या, छिमेकी पक्राउ

सामान्य विवादको घटना गम्भीर अपराधमा पुग्दा बाँकेको बैजनाथ गाउँपालिका–५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको ज्यान गएको छ । उनको हत्या गरेको अभियोगमा छिमेकी पक्राउ परेका छन् ।

‘घटनाबारे गम्भीर अनुसन्धान गरिरहेका छौं,’ पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५५ वर्षीय सिताराम थारू रहेको जानकारी दिंदै इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक चक्र डम्बर पालले उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको बताए । वादविवादको क्रमममा सितारामले धारिलो हतियार हँसिया प्रहार गर्दा भगवनीको घटनास्थलमै मृत्यु भएको खबर घटनास्थल पुगेको प्रहरीले प्राप्त गरेको थियो । सितारामले भगवनीको गर्धनमा सांघातिक प्रहार गर्दानै उनको ज्यान गएको प्रहरीले जनाएको छ । भगवनीका श्रीमान र छोराछोरी काम गएको मौका छोपेर घरमा आगजनी गर्नुका साथ सांघातिक आक्रमण गरिएको पाइएको प्रहरीले जनाएको छ ।

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो ।

‘अघिल्लो दिन मसुरो खेतीको स्वामित्वलाई लिएर भएको झैभगडानै यो हत्याजस्तो गम्भीर अपराधसम्म पुगेको देखिन्छ,’ अनुसन्धानमा खटिएका एक अधिकृतले दैनिक नेपालगन्जसँग भने, ‘भगवनीको घर जलाएको भन्ने खबरमा घटनास्थल पुगेको प्रहरीले त्यहीँ पुगेपछि हत्यासमेत भएको सूचना पाएको हो ।’

आरोपीका हात जलेको अवस्थामा पक्राउ परेकाले घटनाका सबैपक्षमा प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी प्रमुख पालले जानकारी दिएका छन् ।

Exit mobile version