नेपालगन्जका विद्यालयमा शून्य फोहोर अभियानले बदल्दै बानी र भविष्य

कहिल्यै जताततै फालिने फोहोर अहिले विद्यार्थीहरूको जिम्मेवारीमा वर्गीकृत हुँदै व्यवस्थापन हुन थालेको छ । नेपालगन्ज उपमहानगरपालिका भित्रका विद्यालयहरूमा सञ्चालन गरिएको ‘शून्य फोहोर कार्यक्रम’ ले केवल सरसफाइ मात्रै होइन, विद्यार्थीहरूको सोच र व्यवहारमै परिवर्तन ल्याउन थालेको देखिएको हो ।

बुधबार आयोजित समीक्षा कार्यक्रममा सरोकारवालाहरूले यो अभियानलाई ‘फोहोर व्यवस्थापनभन्दा माथि उठेर व्यवहार परिवर्तनको अभियान’ का रूपमा व्याख्या गरे । ‘कार्यक्रमको प्रभावकारिताले अब यसको दिगोपनामा जोड दिनुपर्ने निष्कर्ष निकालिएको छ,’ द कोकाकोला फाउण्डेसनको आर्थिक सहयोगमा बास नेपाल र स्वच्छ सफा नेपालद्वारा सञ्चालन गरिएको ‘ग्रीन नेपालगन्ज सामुदायिक फोहोर रुपान्तरण परियोजना’ अन्तर्गतको यो कार्यक्रम बारे बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले भने ।

कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापाले विद्यालयलाई परिवर्तनको प्रयोगशाला भन्दै अब सिकाइलाई व्यवहारमा रूपान्तरण गर्ने समय आएको बताए । ‘विद्यार्थीले सिकेको कुरा जीवनमा उतार्न सके मात्रै कार्यक्रम सफल हुन्छ,’ उनले भने ।

उप–महानगरपालिकाकाकै सामाजिक विकास अधिकृत कृष्ण प्रसाद जोशीले पनि बालबालिकामा सानैदेखि सरसफाइ र पुनःप्रयोगको संस्कार विकास हुनु नै दीर्घकालीन उपलब्धि भएको बताए । उनका अनुसार, विद्यालयहरू समाज परिवर्तनका आधारस्तम्भ हुन्, जहाँबाट सुरु भएको सानो अभ्यासले समुदायमा ठूलो प्रभाव पार्न सक्छ ।

विद्यालय स्तरमा आएको परिवर्तन अझ स्पष्ट देखिएको छ । ज्ञान सागर माध्यमिक विद्यालय का प्रधानाध्यापक होमनाथ खड्काका अनुसार, ‘पहिले जताततै फोहोर हुन्थ्यो, अहिले विद्यार्थीहरूले आफैं वर्गीकरण गरेर व्यवस्थापन गर्न थालेका छन् ।’

त्यस्तै जय जनता माध्यमिक विद्यालयकी शिक्षिका शान्ति गौतमले ‘शून्य फोहोर’ अवधारणालाई संस्कृतिका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनले विद्यालय आफैंले यसको नेतृत्व लिनुपर्नेमा जोड दिइन् ।

विद्यार्थीहरू पनि अब परिवर्तनका वाहक बनेका छन् । उनीहरूले प्लास्टिकको प्रयोग घटाउने, फोहोर छुट्याउने, पुनःप्रयोग र पुनर्चक्रण गर्ने अभ्यास विद्यालयदेखि घरसम्म लागू गर्न थालेका छन्। यसले समुदायमा समेत सकारात्मक सन्देश फैलिन थालेको सहभागीहरूको भनाइ छ ।

कार्यक्रम अधिकृत रबिन्द्र बोहराले प्रस्तुत गरेको विवरण अनुसार, परियोजनाले विद्यालयहरूमा संरचनागत सुधार, क्षमता विकास र व्यवहार परिवर्तनमा उल्लेखनीय प्रगति गरेको छ । कार्यक्रमको समापन गर्दै बासका महासचिव कल्पना अधिकारीले ‘शून्य फोहोर’ केवल अभियान नभई जीवनशैली बन्नुपर्नेमा जोड दिइन् ।

Exit mobile version