नेपालमा मौलाएको अराजकता गत भदौं २४ गते चरमोत्कर्षमा पुग्यो । धेरैले यसलाई आन्दोलन भने । कसैले यो त जनसिवद्रोह हो पनि भने् । अनि कतिले यसलाई सत्तापरिवर्तनको नौलो अभ्यास भने । जसले जे जे उपमा दिए पनि त्यो हिंसा नेपालको इतिहासमा कहिल्यै कुनै राजनीतिक पार्टी वा वादले वा कुनै शक्तिले नगरेको दूर्लभ अराजकतापूर्ण घटना नै थियो । हुन त त्यो घटनाले बदलेको सत्ता र त्यसैको बलमा बदलिएको नेपाली राजनीतिको दिशाका कारण त्यो घटना अराजकता थिएन सकारात्मक आन्दोलन थियो भन्ने मत पनि राजधानी र मोफसलका गलियाराहरुमा रहेको पाइन्छ । किन पनि भने नेपालमा बिगत साढे तीन दशकदेखि सत्ता र शक्तिमा हालिमुहाली गर्नेहरुको पत्तासाफ भएबाट भदौ २४ ले पूर्ण सकारात्मक मान्यता पाएको तत्कालका लागि देखिन्छ तर देशको इतिहास कोर्दै गर्दा नेपालको त्यो घटना देशविरुद्धको कनै न कुनै बिभत्स र कालो घटनाको रुपमा नै दर्ज हुने कुरामा किमार्थ पनि ंशंका नगरे हुन्छ ।
देशको दुर्दिन आउन लागेको देखेका राजा श्री ५ महेन्द्रले २०१७ सालमा देश समाल्नै र बचाउनैका लागि चालेको कदम र दल विघटनले नेपाली राजनीतिक इतिहासमा अत्यन्तै औचित्यपूण र अपरिहार्य कदम थियो भन्ने कुरा उनको देहावसनको तीन दशक पछि यो देशले महसुस गर्यो भने आजका मितिमा आइपुग्दा त राजाको त्यो कदमको विरोध गर्नेहरुले समेत विरोध गरेकोमा पछुतो मानेको पाइएको छ । यसकारण पनि भदौ २४ को घटना नेपालको इतिहासमा कालो दिनको रुपमा पक्कै लेखिने नै छ ।
आज अराजकताको बुई चढेर सत्ताको चास्नीमा डुब्दै गरेकाहरुका लागि भदौ २४ निकै ठूलो पर्व र उत्सवको दिन हुनसक्ला । जसरी यो देशमा हत्याहिंसा समाजिक कित्ताकाटको शरुआत गरेको तत्कालिन माओवादीका लागि फागुन १ गते उत्सवको दिन हुने गरेको थियो । अहिले पनि देशका केहि थान भवन त हो जलेको भन्ने जस्तो नितान्त गैरजिम्मेवाराना बयान दिँदैमा इतिहासले त्यो अराजकताको प।राकाष्टालाई स्वर्ण अक्षरले पक्कै लेख्ने छैन ।
तीन दशक देखि मनपरितन्त्र, भागबण्डाको खेलखण्डमा मौजमस्त जमातको घिनलाग्दो ब्यवहारबाट आजित भएको नेपाली जनताले उनीहरुको पार्टी सदस्यता कायमै राखेर मत परिवर्तन गरिदिए र रास्वपा अहिले उठाउनै गाह्रो पर्ने सांसदहरुको संख्या बोकेर सत्तामा पुगेको छ । जनताले यसरी गोबरमा लात हानेरै रास्वपमालाई दिनेछन् भन्ने शायद रवि बालेनहरुले पनि स्वयं पत्याएका थिएनन् होला तर आयो मज्जैले आयो । सबै तिनछक्क परेका छन् । जहाँ उम्मेदवार नै चिन्न परेन घण्टी र बालेनको नामकै भरमा भरमार आयो । एमालेको पत्रकार संगठन छोडेर नागरिक उन्मुक्ति पार्टीबाट चुनाव लडेर २०७९ सालमा हारेका एकजना उम्मेदवार मौकामा चौका हानेर बालेनको नाममा चुनाव जित्दा उनका गाउँकै मान्छेले ‘बालेृनलाई भोट दिएको यो किन आएछ ’ भन्नेजस्ता अभिव्यक्ति दिएकाबाट पनि यो प्रष्ट हुन्छ कि रास्वपा बालेनप्रति जनताले निकै ठूलो दाउ लगाएका छन् भन्ने ।
१८२ सीट जितेर तारे होटलमा आफ्ना विजेता सभासदहरुलाई आवासिय प्रशिक्षणको कार्यक्रम गरेको पार्टीले के खायो के गर्यो भन्ने कुराको कुनै अर्थ रहँदैन तर समापन भाषणमा पार्टीका सभापति रवि लामिछानेले दिएको भाषणले यो कुरा प्रष्ट भएको छ कि रास्वपा यो भाषणभन्दा अगाडी निकै अराजक थियो । यसका कार्यकर्ता र जितेर त्यहाँ पुग्नेहरु कतिपय पनि अराजक थिए भन्ने ।
हुन त रवि र त्यहाँ जितेर आएका, तिनलाई जिताउन खटिएकाहरुको अराजकता चानचुने पक्कै थिएन । कुनैसमय माओवादीको ज्यादती भन्दा अलि बेसिनै उनीहरुको मुखछोडाई पनि चलेकै हो । यो कुरा सबैले महसुस गरेकै कु्रा हो । पार्टी सभापति हुन कि महामन्त्री देखि सचिवालय सदस्य सबैको हिजोको चरित्रले यो कुरा पस्केको नै हो । आज त्यहि अराजकताको सहाराबाट सभासदसम्मको यात्रामा आएकाहरुलाई अब संयम हुन र अराजकता त्याग्न निर्देशन दिने सभापतिको भाषण पक्कै पनि अर्थपूर्ण मात्रै होइन हिजोको अराजकताको स्वीकारोक्ति पनि हो ।
नेपालको संसदीय निर्वाचनको इतिहासमा २०१५ सालपछि कुनै पार्टीले यत्रो बहुमत ल्याएको हो । रास्वपाले निकै ठूलो जनमत पाएको छ । यो जनमतले अब रास्वपा र उनका कार्यकर्ताहरुलाई पक्कै पनि हिजोको जस्तो अराजक हुने छूट दिँदैन । दिनुपनि हुँदैन, यस अर्थमा रविको निर्देशन थप अर्थपूर्ण हुन जान्छ ।
रास्वपाले इतिहासमा निकै ठूलो अवसर पाएको छ । यो अवसरलाई गुमाउने काम गर्नु हुँदैन । देशका सामु निकै ठूलो चुनौती छ । इतिहासमा सबैभन्दा कमजोर अवस्थामा देश छ अहिले । विश्वमा शक्ति सन्तूलन खलबलिएको अवस्था छ । राष्ट्रसंघ निरिह र मात्रै विज्ञप्ति निकाल्ने संस्था मात्रै भएको छ । शक्ति राष्ट्रहरुले साना कमजोर राष्ट्रहरुको सार्वभौमसत्तामाथि खुलेआम हस्तक्षेप गर्दा पनि बोलिदिने र तिनको सार्वभौमिकता बचाउन सहयोग गर्ने कोहि छैन । संसार फेरि दोस्रो विश्वयुद्ध भन्दा पहिलाको जस्तो मत्स्यन्यायको अवस्थामा पुगेको अनुभूत दुनियाँले गरिरहेको छ । नेपाल उसैपनि त्रिपक्षिय रणनीतिको मैदान जस्तो बनेको अवस्था छ । यो कुनै चानचुने अवस्था होइन । यो देशको लागि निकै कठिन अवस्था पनि हो ।
यहाँ कुनै विदेशीका डक्ट्रीन चल्नदिनु हुँदैन । बडामहाराज पृथ्बीनारायण शाहको स्वदेश डक्ट्रीनको नेपाललाई खाँचो छ । यस्तो अवस्थामा रास्वपाले अत्याधिक सीट सहित सत्तासीन हुनु भनेको यी सबै चुनौतीलाई गैर अराजक शासन, प्रतिशोध र कित्ताकाटको राजनीतिबाट टाढा बसेर सन्तुलित कुटनीति र नेपालले आजसम्म लिँदै आएको छिमेक नीति वा परराष्ट्रनीतिमा थप दरबिलो खम्बा बनेर सन्तुलन कायम राख्दै काम गर्नुपर्नेछ । अराजकताको शैली, भाषण र प्रवृतिले पार्टी चल्थ्यो आजसम्म चल्यो पनि तर अब सत्ता पक्कै त्यसरी चल्ने छैन । दुई दुईपटक अरु पार्टीको बुई चढेर गृहमन्त्री बन्दै सत्ताको चास्नी चाटेका रविलाई यो कुराको हेक्का भएर नै उनले जिम्मेवारपूर्ण भाषण दिए आफ्ना सांसदहरुलाई । र उनका सासदहरुले पनि यो कुरा बुझुन ।
अहिले रास्वपाले आफूलाई यो देशको अब्बल राजनीतिक पार्टी बन्ने, जिम्मेवार जनप्र्रतिनिधी बन्ने, सुशासनयुक्त आफ्नो वाचामा पक्का पार्टी बन्ने र नेपाली जनताको मतलाई जितेको अब मन पनि जित्ने अवसर छ । यो अवसर रास्वपाका हिजो जुनसुकै र जस्तोसुकै अराजक अभिव्यक्ति र प्रवृतिबाट त्यहाँ पुगेका भएपनि अब उनीहरुलाई त्यो छूट पक्कै छैन । अब त देशको लागि काम गर्ने र फेरिपनि भदौ २४ जस्तो अराजकता आउने छैन भन्ने ग्यारेन्टी गर्ने अवसरका लागि रास्वपाका नेता कार्यकर्ता सबैले अराजकता त्याग्नैपर्छ ।
कुनैपनि हालतमा कसैले पनि सत्तासँगको विमति भयो भन्दैमा हत्याहिंसा, अराजकता, अतिवादलाई प्रोत्साहन गरेर, देश जलाएर, आफ्नै सार्वजनिक सम्पत्ति र सम्पदा जलाएर, देशका उद्यमीका प्रतिष्ठान फुँकेर लूटेर देश बनाउने कथा हाल्नु हुँदैन । यदि फेरिपनि यस्तो गल्ती गर्यौं भने भालि फेरि अर्कोले रास्वपाको सत्ता फाल्नैका लागि, पपुलर बन्नैका लागि, कसैको स्वार्थ सिद्ध गराउनैका लागि केहि हजार मान्छे सडकमा उतारेर देश जलाउनेछ । देश यसरी नै जलिरहने छ । यसैले विवेक नगुमाऔं, हत्याहिंसा, आगजनी, लूटपाट, कित्ताकाट जस्ता अराजकता र अतिवादलाई सबैले सबैतिरबाट परास्त गरौं । अवसरका लागि अराजकता होइन, सहृदयता सहित अगाडी बढौं ।
