जल, लैङ्गिक समानता र जलवायु परिवर्तनमा केन्द्रित बहस
आज विश्व जल दिवस । नेपालगन्जमा आज आइतवार ‘लिक्विड हार्मोनी’ को दोस्रो संस्करण आयोजना गरिने भएको छ ।
नेपालमा जल, लैङ्गिक समानता तथा जलवायु परिवर्तनका विषयमा बहस र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘लिक्विड हार्मोनी’ गरिन लागेको कार्यक्रम संयोजक सौगातविक्रम शाहले जानकारी दिए ।
‘कार्यक्रमले विशेष गरी महिला तथा किशोरीहरूलाई केन्द्रमा राख्दै जलसम्बन्धी चुनौतीहरू र समाधानका उपायहरूमा ध्यान केन्द्रित गर्नेछ,’ आयोजक इश्वरी युनाइटेडका प्रवन्ध निर्देशक शाहले भने ।
शाहका अनुसार, कार्यक्रमअन्तर्गत जल अभाव र जलवायु परिवर्तनका कारण महिलाहरूमा पर्ने प्रभाव, महिनावारी स्वच्छता व्यवस्थापन, पानी उपभोक्ता समितिमा महिलाको नेतृत्व तथा लैङ्गिक उत्तरदायी बजेट जस्ता विषयमा गहन छलफल गरिनेछ ।
त्यस्तै, जलवायु परिवर्तनले पानीका स्रोतहरूमा पार्ने प्रभाव, भू–जल व्यवस्थापन, वन विनाश, जलाधार संरक्षण तथा समुदायको सहभागितामार्फत समाधानका उपायहरूबारे बहस हुने शाहले बताए ।
‘बहसमा विषयगत विज्ञ, जनप्रतिनिधि, पत्रकार, विद्यार्थीलगायतको सहभागिता हुनेछ,’ शाहले कार्यक्रमको समापन सत्रमा विभिन्न सरोकारवालाहरूबाट प्राप्त सुझावहरूको प्रस्तुतिकरण, संस्थागत प्रतिबद्धता र दीर्घकालीन कार्यान्वयनमा जोड दिइने जानकारी दिदै दैनिक नेपालन्जसंग भने ।
यस कार्यक्रमको अर्को आकर्षणको रूपमा संगीत र कलामार्फत सचेतना फैलाउने पहल पनि समावेश गरिएको छ । नेपालगन्ज उप–महानगरपालिका र कोहलपुर नगरपालिकासँगको सहकार्यमा गरिएको कार्यक्रममा सह–आयोजकका रुपमा सोसियो इकोनोमिक एण्ड एजुकेशनल डेभलपमेन्ट सोसाइटी (सिड्स) र दैनिक नेपालगन्ज मिडिया साझेदारका रुपमा साझदारी गरिरहेको छ ।
विषय विज्ञ, डा. गंगादत्त नेपाल, रमेश गौतम, नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्ट, खजुराका उप–प्रमुख मन्जु मल्ल लगायतका वक्ताहरुले बहसमा सक्रिय सहभागिता जनाउने शाहले जानकारी दिए ।
आयोजकका अनुसार, संगीतले महिलाहरूले भोगिरहेका जल अभाव, सरसफाइ चुनौती र जलवायु जोखिमका विषयलाई भावनात्मक रूपमा प्रस्तुत गरी नीति निर्माण तहसम्म प्रभाव पार्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
कार्यक्रमले जल र लैङ्गिक समानताको विषयमा नीति संवादलाई सशक्त बनाउँदै दिगो समाधानतर्फ योगदान गर्ने विश्वास गरिएको छ । गतवर्ष विश्व जल दिवसका अवसरमा ‘लिक्विड हार्मोनी’ को पहिलो संस्करण आयोजना गरिएको थियो ।




























