नेपालगन्जको धम्बोझीमा अत्याधुनिक ‘एप्पल स्टोर’ सञ्चालनमा आएको छ ।
कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा प्रालिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको प्रविधिमैत्री ग्राहकलाई लक्षित गर्दै ‘एप्पल स्टोर’ सञ्चालनमा ल्याएको हो ।
करिब एक करोड रुपियाँको लगानीमा स्थापना गरिएको स्टोरको प्रवन्ध निर्देशक ऋषि कंडेलकी ११ वर्षीया छोरी प्रियल कंडेलले बिहीबार शुभसाइतमा उद्घाटन गरिन् । ‘बुटवलदेखि पश्चिम क्षेत्रकै यो पहिलो एप्पल स्टोर हो,’ प्रबन्ध निर्देशक कँडेलले आइफोन बुकिङ गर्ने ११ जना ग्राहकलाई एप्पल एयरपोडमा ४० देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको जानकारी दिंदै भने ।
एप्पलले उत्पादन गरेका सबै सिरिजका आइफोन, आइप्याड, म्याकबुक, एप्पल वाच र एयरपोड्सहरु बिक्रीमा राखिएको यो स्टोरमा अनलाइन बुकिङ, किस्ताबन्दी र निःशुल्क होम डेलिभरीको सुविधा दिइएको सञ्चालक प्रकाश कँडेलको भनाइ छ ।
‘एप्पलका गुणस्तरीय उत्पादनका लागि भारत र काठमाडौं जानुपर्ने बाध्यता हटेको छ,’ दक्ष प्राविधिकबाट भरपर्दो मर्मतसम्भारको सुविधा समेत उपलब्ध हुने व्यवस्था गरिएको जानकारी दिंदै कंडेलले भने ।
अबको एक हप्तासम्म पुराना सेट लिएर आउने एक हजार जना ग्राहकलाई निःशुल्क स्क्रिन गार्डको सुविधा दिइने स्टोरले जनाएको छ । ‘ग्राहकहरुको सुविधा र विश्वासलाई मध्यनजर गर्दै पश्चिम नेपालको डिजिटल बजारमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ,’ प्रवन्ध निर्देशक कंडेलले भने ।





























